Thursday, October 10, 2024

बडा दशैंमा नेवार समुदायकाे कालाे टीकाकाे कुराे ।


नेवार समुदायले बडा दशैंलाई पृथक ढंगले माेहनि नखः (चाड)काे रूपमा मनाउँछन् । याे चाडमा कालाे टीकाकाे विशेष महत्त्व छ । ताेरीकाे तेल राखिएको पालामा दियाे बालेर माटाेकाे सलि (माटाेकाे प्याला) घाेप्ट्याएर कालाे टीका अर्थात माेहनि सिन्हः तयार गरिन्छ । असत्यमाथि सत्यले विजय प्राप्त गरेकाे प्रतीक स्वरूप माेहनि सिन्हः अनिवार्य लगाउँछन् । विशेषगरी ढुकुटीमा तन्त्र साधना गरेर माेहनि सिन्हः तयार गरिन्थ्याे भन्नेछ । अाजकाल भने तन्त्र साधनाकाे सवाल विश्वासमा निर्भर रहने कुराे भयाे । त्यसाे भएर पनि अाम जनताकाे प्रत्येक घरमा हुने गाेप्य काेठा (ढुकुटी)मा मात्र माेहनि सिन्हः तयार गर्नुपर्छ भन्ने रहेन । 

टीकाकाे अाध्यात्मिक मान्यता:

मानव शरिरमा ७ वटा चक्र हुन्छन् । मानव शरिरकाे सबसे उच्च भाग अर्थात टुप्पी उम्रिने ठाउँमा अवस्थित सहस्रार चक्रदेखि ज्ञान चक्र, विशुद्ध चक्र, अनाहत चक्र, मणिपुर चक्र, स्वाधिस्ठान चक्र र मूलाधार चक्र यिनका उदाहरण हुन् । त्यसमध्ये ज्ञान चक्रलाई छाेपिने गरि टीका चलाउनुपर्ने मान्यता रहेकाे छ । दुई अाँखाबीचकाे भाग अर्थात निधारमा ज्ञान चक्र रहेकाे आध्यात्मिक मान्यता छ । त्यसाेभएर ज्ञान चक्र छाेपिने गरि टीका लगाउँछन् । कुतत्व, नकारात्मक ऊर्जा तथा खराव शक्ति ती ७ वटा चक्रमार्फत शरिरभित्र प्रवेश गर्नसक्ने भएर ती सम्पूर्ण चक्र अवस्थित भागलाई छाेप्नुपर्ने मान्यता रहेकाे छ । त्यसैले अनुहारकाे भागमा रहेकाे निधार छाेप्नकाे लागि टीका लगाउने परम्परा सुरू भएको विश्वास गरिन्छ ।

नेवार समुदायमा शिशुलाई घरबाट बाहिर लाने बखत अामाकाे पाईतालाकाे धुलाे निकालेर टीका लगाउने परम्परा छ । यसकाे अर्थ पनि नकारात्मक वायु, ऊर्जा, शक्तिले शिशुलाई प्रभावित नगराेस् भन्ने मान्यता हाे । शरिरमा रहेका ७ वटा चक्र मध्ये अधिकांस लुगा र टाेपीले छाेपिए पनि ज्ञान चक्र रहेकाे भाग खुल्ला रहने (अनुहारमा भएकोले) भएर साे भागलाई छाेप्न टीका लगाउने परम्पराकाे सुरूअात भएकाे हाे । अझ त्यसमाथि बालबालिकालाई निधारमा कालाे टीका लगाइदिनाले भूतप्रेत, पिशाचकाे प्रभाव नरहने विश्वास गरिन्छ । सम्भवतः ज्ञान चक्र छाेपिने गरि लगाउने कालाे टीका माेहनि सिन्हःकै निरन्तरता हाे ।

ऐतिहासिक विषय:

उहिले तीन शहरमा युद्ध चलिरहने भएकोले लाय्‌कू (दरबार)बाट उर्दी जारी भएसँगै अाम जनता युद्धमा हाेमिनुपर्ने प्रावधान थियाे (युद्धकाे लागि उद्याेगी, व्यवसायी, किसानहरू दाेस्राे प्राथमिकता पर्ने र श्रेष्ठ, जाेशी, प्रधान, मास्के लगायतकाे क्षेत्री समुदाय अनिवार्य जानुपर्नु थियाे) । त्यसाे भएर पनि प्रत्येक जनताकाे घरमा गाेप्य काेठा (ढुकुटी) हुन्थ्याे । साे काेठामा अनिवार्य रूपमा खड्ग, ढाल र अन्य हातहतियार हुन्थ्याे (अहिले त्याे अनिवार्य रहेन) । हातहतियारलाई पूजा गर्ने, वार्षिक रूपमा तयारी अवस्थाकाे रूजु गर्ने, तन्त्र साधना गर्ने र युद्धमा सामरिक दृष्टिले अाफ्नाे पल्लाभारी गरिरहन साेही बमाेजिमकाे गाेप्य तयारी रहन्थ्याे । त्याे तयारी ढुकुटीमा रहेकाे हुन्थ्याे । त्यहिभएर ढुकुटीमा जाेकाेहीलाई प्रवेश निषेध गरेकाे हुन्छ । एक त गाेप्य काेठा, त्यसमाथि तन्त्र साधना गरेर हातहतियार भण्डारण गरिएकाे ठाउँ भएकाेले यसकाे विशेषता नितान्त पृथक देखिन्छ । अझ विजयकाे प्रतीक स्वरूप लगाइदिने माेहनि सिन्हः (कालाे टीका) माेहनि चाडमा अनिवार्य लगाउनुपर्ने भएकोले कुनै न कुनै काेणले यिनिहरूकाे सम्बन्ध रहेकाे हुनुपर्छ ।

माेहनि सिन्हः लगाउने तरिका:

माेहनि चाडमा विशेष प्राथमिकता दिएर निधारमा माेहनि सिन्हःसँगै महिलाले शिरमा र पुरूषले दाहिने कानकाे चेपमा जमरा सिउरनुपर्ने मान्यता छ । हर्षउल्लासका साथ माेहनि सिन्हः अनिवार्य लगाएर मनाउने चाड भएरै माेहनि नखः हुनपुगेको कतिपयले तर्क गरेका छन् । भलै याे विषयमा थप अनुसन्धान आवश्यक छ ।

राताे टीकालाई समृद्धिकाे प्रतीक मानिन्छ । नेवार समुदायमध्ये कतिपयले निधारमा लगाउने भ्वइसिन्हः भन्दा ठीक माथिल्तिर माेहनि सिन्हः लगाउँछन् । कतिपयकाे सवालमा राताे टीकामाथि माेहनि सिन्हः लगाएको देखिन्छ । परिवारकाे जेष्ठ सदस्यबाट टीका थाप्ने यी दुईथरी चलन आआफ्नै मान्यतामा निर्भर छ । विशेषगरी चार वर्णमा विभाजित नेवार समुदायभित्र ब्राम्हण र क्षेत्री समूहले राताे टीका र बाँकी वैश्य र शुद्र समूहले भ्वइसिन्हः लगाउने प्रचलन देखिन्छ । बडा दशैंमा मान्यजनबाट कनिष्ठलाई टीका लगाइदिँदा दक्षिणा भने दिनुपर्दैन । 

चामललाई दहि र अबिरमा माेलेर तयार गरिने राताे टीका बडा दशैंमा निधारभर लगाउने परम्परा छ । दशैंकाे दसाैंदिन अर्थात विजया दसमीदेखि ठूलावडाकाे घरघरमै पुगेर टीका थाप्ने र दक्षिणा लिने चलन खसअार्य तथा सीमित जनजातिहरूकाे रहेपनि आदिवासी नेवारहरूकाे थिएन । तर अहिलेभने मान्यजनबाट टीकासँगै दक्षिणा थाप्ने नयाँ चलनले व्यापकता पाएकाे छ । (याे मेराे निजी विचार मात्र हाे ।)









No comments:

Post a Comment

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...