Artical

गणतन्त्रमा राष्ट्रपति सवारी आतंक

Bidhya Devi Bhandari, President of Nepal (PC: Facebook)

बिहान घरबाट अफिस निस्किने म । आज पनि सदा झैं करिव ७ः३० बजे चिया खाएर निस्केँ । नयाँ थिमि चोकको माइक्रो बस चढेर काठमाडौंको सिंहदरबार हुँदै शहिदगेट पुग्थें । त्यहाँबाट लाजिम्पाट हुँदै बुढानिलकण्ठ रुटमा चल्ने सवारी चढ्नु पर्ने मेरो दैनिकी । तर अचानक आज भद्रकाली नपुग्दै सिंहदरबारबाट माइक्रो बसलाई ट्राफिक प्रहरीले पुतली सडक फर्काइदिए । अरु बेला घडीको मसिनो सुइले सातलाई छोए पनि लामो सुइ यताउती हुन्थ्यो होला । आज सायद त्यस्तो नभएर ठिक्क साँढेसात बजेको हुनुपर्छ । त्यसैले पनि माइक्रो बसलाई अर्कै गन्तव्य हुत्याइदिएसँगै मेरो तनाव शुरु भयो ।
राष्ट्रपतिको सवारी, लाजिम्पाटमा

आज श्रीपञ्चमी भएर राष्ट्राध्यक्षको हैसियतले बसन्तपुरमा बसन्त श्रवण गर्नुपर्ने कार्यक्रम तय भएको रहेछ । वर्षेनी हुने निर्धारित कार्यक्रम त हो, तर म जस्तै अन्य सर्वसाधारण नागरिकसँग प्रत्यक्ष सम्बन्धित नहुने भएर उहाँको बसन्त श्रवणको समय थाहा नहुँदो हो वा भनौं चासो नदिँदो हो । त्यहि भएर पनि नियमित दैनिकीसँगै दौडिरहने म जस्तालाई अचानकको तालिका हेरफेरले तनावको स्थिति बनाइदिन्छ । एक त भीआईपी र भीभीआईपीहरुको तालिका सार्वजनिक गरिँदैन र धेरैलाई जानकारी पनि हुन्न । यस्तै भइदियो आज पनि ।
राष्ट्रपतिको सवारीले गर्दा सुनसान बनेको लाजिम्पाट

पुतलीसडक मोडिएको केहि समय पश्चात प्रहरीले जानकारी दिएपछि मैले पनि थाहा पाएँ कि नियमित रुटको गाडीलाई अन्तै फर्काइदिएको रहस्य । पुतली सडक मोडिएसँगै मसँगै यात्रा गरिरेका यात्रुले चालकलाई दबाब दिँदै सोध्दै थिए “किन गाडी मोडियो ?” म आरएनएसी जानुपर्ने अन्तै गएर कहाँ हुन्छ । चालक लगायत अधिकांश यात्रु अनभिज्ञ थिए गाडीको गन्तव्य फर्काइएको सम्बन्धमा । दुई चार पटकको प्रश्न पश्चात माइक्रो बस चालकलाई समेत रन्को चढ्यो क्यार तुरुन्त उत्तर फर्काइहाले “जा उतै बस्ने ट्राफिकलाई सोध । मलाई के थाहा ? मैले त जे भन्यो उस्तै गरेँ ।” चालकको प्रतिक्रिया समेत केहि हद सम्म सभ्य बोलीलाई चुनौती दिने खालको थियो । जो दिक्दारी पश्चातको स्वभाविक मानव गुण हो जस्तो मैले अनुभूति गरेँ । यात्रुको सामुहिक कचकच स्वरसँगै उनले यात्रुको इच्छा बमोजिम भनेकै ठाउँमा बस रोकेर ओरार्नतिर लागे । एक त माइक्रो बस रोकिएसँगै ठाउँ ठाउँमा जाम भएको थियो भने अर्कोतिर निर्धारित समयभित्र आ–आफ्नो गन्तव्य पुग्नुपर्ने यात्रुलाई तनाव । सोही तनाव बहन गर्ने मध्येमा म पनि परेँ ।
राष्ट्रपतिको सवारीले गर्दा रत्नपार्कमा देखिएको सवारी जाम

म लाजिम्पाटस्थित ईमेज च्यानल टेलिभिजनमा बिहान १०ः०० बजे अनएअर हुन कुनै पनि हालतमा ९ः०० बजे भित्र हाजिर गरिसक्नुपर्ने थिएँ । बुलेटिन न्यूज तयार गरेर मेकअप पश्चात टेलिभिजनमा देखिन कम्तीमा एक घण्टाको समय मैले व्यतित गर्नुपर्छ । तर मेरो घडीको सुईले रत्नपार्क मै हुँदा ८ः५५ देखाइसकेको थियो । रत्नपार्कको पुरानो बस स्टपबाट हिंडेर लाजिम्पाट पुग्न ४५ मिनेट लाग्ने मेरो अनुभव छ । सो विकल्प मेरो अनुकूल थिएन । मनमनै आत्ति सकेको थिएँ किनभने सार्वजनिक सवारी साधनलाई बिहानै देखि नै राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको हवाला दिंदै सन्चालनमा रोकेको थियो । मसँग निर्धारित समयमा अफिस पुग्ने अन्य महानुभाव र टेलिभिजनमा अनएअर हुने मेरो विकल्प कम हुँदै थियो । तर पनि धैर्य गर्दै ५ रुटको टेम्पो चढ्न दौडिएँ । दैनिक रुपमा बिहान ८ः१५ बजे आरएनएसीबाट लाजिम्पाट भएर गुड्ने टेम्पो चढ्ने म, आज ९ः०० बजिसक्दा पनि टेम्पोको खोजिमा भौतारिँदै थिएँ । भाग्यबस कम समयमा मैले टेम्पो भेटाइहालेँ त्यो पनि २ जना मात्र यात्रु बोकेर गुडेको । राष्ट्रपति भण्डारीको बसन्त श्रवणले सर्वसाधारणलाई नियमित दैनिकीबाट बन्चित गराउनमा दिएको हैरानी र आतंकको मार टेम्पोमा यात्रा गर्ने तिनै यात्रुले समेत खेपेका रहेछन् । के पथ्र्यो र शुरु भयो उनीहरुको उस्तै भुन्भुन् “राष्ट्रपति मेकअप लगाउँदै होला नि, सर्वसाधारणलाई दुःख दिएर । हस्पिटल जानुपर्ने हामीलाई ढिला गराएर उनीहरु भने सौखिनसाथ सवारी रे ।” यस्तो पनि हुन्छ ? हैट् । राष्ट्रपति भए उनीहरु नै होउन् हामी सर्वसाधारणलाई किन दुःख ? म बाहेक दुई जना अन्य टेम्पोमा यात्रा गरिरहेका उनीहरु गफिंदै थिए । मलाई उनीहरुको गफले केहि छिन त हाँसो पनि लाग्यो ।
टेम्पो पाएकोमा मनमनै खुसी थिए कि अब ढुक्कसाथ अफिस पुग्छु, दशै बजे टिभीमा समाचार दिन तयार हुन्छ । तर माहौल त्यस्तो भइदिएन र क्षणभर मै त्यो खुसी तनावमा परिनत भयो जब टेम्पोलाई फेरि लैनचौरबाट ट्राफिक प्रहरीले नक्साल फर्काइदिए । योसँगै मलाई लागेको थियो कि आजको सेड्युल गयो, म आज न्यूज पनि बनाउन पाउँदिन र टेलिभिजनमा बिहान १०ः०० बजे अनएअर पनि हुन पाउँदिन । यसको जवाफ कसरी व्यवस्थापनमा दिने भनी अलमलमा परिसकेको थिएँ ।
राष्ट्रपतिको सवारीले गर्दा रत्नपार्कमा देखिएको सवारी जाम

नियमित कार्य भन्दा फरक भएकोले मनमनै अर्को सोच बनाइसकेको थिएँ कि अफिसमा फोन गरी मलाई रिसिभ गर्न अनुरोध गर्ने । तर वास्तविकता त्यस्तो पनि थिएन कि प्रेसको गाडीलाई राष्ट्रपति जस्तो भीभीआईपीको सवारीमा चलाउन दिने । त्यस्तै आजै बिहान नेपाल टेलिकमले मोबाइल डायल गर्न नमिल्ने गरी एकतर्फी गराइसकेको एस.एम.एसमार्फत सुझाएको याद आयो । मोबाइलमा पैसा सकिएको भएर त्यस्तो मेसेज आएको हो । फोन गरेर मलाई अफिसबाट रिसिभ गराउने विकल्प र भीभीआईपीको सवारीमा प्रेसलाई समेत छुट नदिने चलनले त्यो बाटो पनि बन्द हुँदै थियो । गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी शितल निवासबाट लाजिम्पाटै हुँदै बसन्तपुर जाने हो । सार्वजनिक सवारी तथा निजी गाडीलाई अन्तै मोडेको, प्रेसलाई पनि छुट नभएको र मोबाइलमा पैसा सकिएर एकतर्फी भएकोसँगै मेरो समय मै अफिस पुग्ने सम्भावना टर्दै थियो । मनमनै पुनः सोच आयो कि दौडिएर भए पनि अफिस पुग्ने कि । त्यो सोचसँगै नक्साल भगवतीतिर फर्काइएको टेम्पोबाट हट्पट् झरेर चैनचौरको मूख्य सडकमा आएँ । सडक करिव सुनसान बनाइ सकेको थियो । सडकको दुबै छेउ वरपर सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत अन्य सर्वसाधारण लामबद्ध भएर उभिएको देखेँ । म केहि पर सम्म लम्किसकेको थिएँ । अकस्मात मेरो मनमा लिफ्ट लिएर जाने सोच आयो । म आफैले पनि इन्धन अभावको समयमा केहि हद सम्म मेरो निजी गाडी र स्कूटरबाट त्यस्तै अन्यौल भएर बाटो छेउमा उभिएकालाई लिफ्ट दिएको सम्झना छ । इन्धन भए सम्म मैले यस्तै काम गरेको थिएँ दशैं र तिहारको हाराहारीमा । सोही सम्झनालाई ताजा बनाएर मैले पाटलिसकेको सडकमा गुडिरहेका मोटरसाइकलमा लिफ्ट मागेँ । पहिलो मोटरसाइकलले पन्छिन खोज्यो, दोस्रोले उनको गन्तव्य नजिक भएको बहाना बनायो । खैर उनीहरुको आफ्नै बाध्यता होला । तर पनि म चनाखो भएर लिफ्ट लिने प्रयास तथा बाटोमा ठूल्ठूला पाइला बनाएर लम्किरहनेलाई निरन्तरता दिइरहेँ । अन्ततः एउटा रातो कलरको पल्सर मोटरसाइकललाई मैले रोकेँ र लिफ्ट लिएर अफिसको गेट सम्म पुगेँ । अफिस पुग्दा म खासै ढिला भइनसकेको रहेछु । धन्न म र राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी आतंक । यो घटना गएको वर्ष मैले अनुभूति गरेको हो ।
राष्ट्रपतिको सवारी, लाजिम्पाटमा



यो त प्रतिनिधि उदाहरण भयो, यस्ता थुप्रै समस्या छन् हामीमाझ । यस वर्ष पनि यस्तै रवैया देखेर लखेको छु । एक त गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपतिको सवारी अफिस आवरमा हुने अर्कोतर्फ सर्वसाधारणलाई सवारी सम्बन्धि जानकारी नदिने । यी दुइटै सर्वसाधारण नागरिकलाई दुःख दिने मेसो बनेकोे छ । बसन्त श्रवण परम्परा हो, यसलाई जोगाउनु सबै नेपालीको दायित्व पनि हो । तर भीभीआईपीको सवारीको नाउँमा आम नागरिकलाई दुःख दिनु र आतंकको माहौल बनाउनु कदापि सह्य छैन । सवारीलाई अफिसको अफ आवर पनि गर्न सकिन्थ्यो वा लामो अवधि सम्म सवारी नरोक्ने पनि उपाय हुनसक्छ । राणाकाल, शाही शासनकाल, पञ्चायती समयमा जस्तो रवैया, लोकतान्त्रिक गणतन्त्रमा हट्नुपर्ने चाहना आम नागरिकको हो । तर खै कहिले हट्ने त्यो रवैया ? आम नागरिकको प्रश्न छ ।

No comments:

Post a Comment

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...