Friday, October 24, 2025

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन


यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार किजापूजा गरिरहँदा भक्तपुरमा ५ गते बुधबार किजापूजा सम्पन्न गरे । साधारणतयाः नेपाल मण्डलको मुख्य भूमि उपत्यकाका तीन शहरका ज्योतिषी र दैवज्ञहरुको मत बाझिंदा (एकरुपता नहुँदा) सर्वसाधारण नागरिक तिथि बमोजिम संस्कृति मनाउन अलमलमा परेका छन् । नेपालका अधिकांस संस्कृति चन्द्रमान गणना हुने तिथिमा आधारित छन् । त्यस मध्ये खस समुदायले मनाउने हरितालिका तिज र ऋषिपञ्चमी, मधेशी समुदाय अन्तर्गत मैथिल भाषीहरुको प्राथमिकतामा पर्ने छठ पर्व र विवाह पञ्चमी, समग्र नेपालीहरुले मनाउने बडा दशैं, तिहार तथा अन्य मुख्यमुख्य चाडपर्व समेत तिथि बमोजिम मनाउँछन् । वैष्णव र शाक्त धर्म अंगाल्ने समुदायले श्रीस्वस्थानी ब्रतकथा समेत तिथि बमोजिम वाचन गर्दछन् । तिथिसँगै चाड र पर्व जोडिएको विषय गहन छ । त्यसो भएर पनि चाडपर्व मनाउनेमा एकैदिन दुईखाले तिथि सार्वजनिक हुनु जायज होइन । बिहान एउटा र मन्ध्यान्ह पश्चात् अर्कै तिथि हुँदा परम्परागत चाड मनाउनेमा समस्या देखिएको हो । त्यस्तै, लहरै मनाउनुपर्ने चाडको बीचमा तिथि टुट हुँदा पनि अलमल भएको देखिन्छ । साधारणतयाः भक्तपुरका स्थानिय बासिन्दाले ख्वप तलेजुका ज्योतिषी र दैवज्ञहरुले सार्वजनिक गर्ने तिथि बमोजिम चाड मनाउने चलन छ । ललितपुरमा क्वाःबहाः र काठमाडौंमा जनबहाःले सार्वजनिक गर्ने तिथिलाई आधार बनाएर चाड र पर्व मनाउँछन् । त्यसैले, यी तीन शहरका तीनवटै सरोकारवाला निकायले तिनैथरी तिथि सार्वजनिक गरे बमोजिम यो वर्ष तिहारको लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्नेमा सर्वसाधारण अलमलमा परेका हुन् । भक्तपुर नगरपालिकाको संयोजनमा स्थानिय ज्योतिषी र दैवज्ञहरु सम्मिलितको बैठकले यो वर्ष कात्तिक ३, ४ र ५ गते लहरै लक्ष्मीपूजा, म्हपूजा र किजापूजा गर्न अनुरोध गरे बमोजिम भक्तपुरका अधिकांस सर्वसाधारणले सोही बमोजिम स्वन्ति नखः मनाए । त्यस्तै ललितपुरबासीले कात्तिक ३ गते लक्ष्मीपूजा, ४ गते सुलं, ५ गते म्हपूजा र ६ गते किजापूजा गरे । यता काठमाडौंबासीले भने ४, ५ र ६ गते लहरै स्वन्ति मनाए । अझ अचम्मित तुल्याउने विषय के छ भने, नेपाल संवत् नयाँ वर्षलाई स्वागत गर्नको लागि आयोजना गर्ने न्हूदँया भिंतुना सांस्कृतिक ¥याली समेत दुई दिन छुट्टाछुट्टै दिन मनाए । नयाँ वर्षको स्वागत सूर्योदयसँगै एउटै समयमा हुनेपर्ने होला । तर भक्तपुरमा नेपाल संवत् नयाँ वर्षलाई यो वर्ष कात्तिक ४ गते स्वागत गरिरहँदा भक्तपुर बाहेक देशभर कात्तिक ५ गते नयाँ वर्षको स्वागतार्थ कार्यक्रम सम्पन्न भयो । त्यस्तै साँझ नयाँ वर्षलाई स्वागत गर्दै म्हपूजा गरे । तिथिसँग प्रत्यक्ष सम्बन्धित हाम्रो संस्कृतिमा यी तिनवटा निकायको आआफ्नै तरिकाले तिथि सम्बन्धिको अडान लिंदा समस्या भएको हो । परम्परागत मान्यतामा आधारित चाडपर्व मनाउने बखत तिथिमा थपघट नगरी बीचमा हुने टुटलाई समेत पन्छाएर र तिथि परिवर्तन हुने समय मध्यरातमा राखेर (अगाडि वा पछाडि समायोजन गरेर) वैज्ञानियक ढंगले हिसाब गर्नु जाजय छ । यसो भनिरहँदा हुने वा नहुने सम्बन्धित पक्षलाई अझ बढी ज्ञात होला । यसरी तिथिमा एकरुपता ल्याउने सके अहिलेको तिथिसँग जोडिएका हाम्रा परम्परागत मान्यतामा आधारित चाडपर्व मनाउने विषयमा देखिएको अलमलको समस्या समाधान हुने देखिन्छ । उसो त भाइटिका र किजापूजामा तात्विक भिन्नता नरहेपनि प्राथमिकीरणको दृष्टिले केही अन्तर छ । भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाउँछन् । राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गर्ने शुभसाइत कुरेर टिका लगाउँदा आयु, ऐश्वर्य र समृद्धिको कामना गर्दछन् । तर नेवार समुदायले साइत भन्दा पनि तिथिलाई आधार बनाउँछन् । सप्तरंगी टिका लगाउँदैनन् बरु दहि, ताय्, रातो अबिरमा चामल मिसाएको रातो टिका लगाउँछन् । मण्डला बनाएर किजापूजा गर्ने सन्दर्भमा देवता आह्वान गर्दै पन्चतत्वले बनेको शरिरसँग सगुन लिएर पूजा गर्दछन् । त्यसो भएर पनि साइत भन्दा तिथि प्राथमिकतामा पर्दछ । बिहान सूद्र्योदयसँगै जुन तिथि हुन्छ दिनभर सोही तिथिलाई आधार बनाएर चाड मनाउँदा यो समस्या हल हुने देखिन्छ । तर पछिल्लो समय यसमै समस्या छ । पहिला यस्ताखाले समस्या कम थियो । तर अहिले प्रत्येक वर्ष तिथि समस्याको कारणले पारिवारिक र टोलछिमेकमा बेमेलको अवस्था सिर्जना भएको देखिन्छ । झन् सामाजिक सञ्जालमा त आरोप प्रत्यारोप नै भएका छन् । सापारु, चथाः, म्हपूजा, किजापूजा, गुंपुन्हि, गथांमुगः, सिथिनखः लगायत आमसर्वसाधारण नागरिकका जीवनसँग प्रत्यक्ष सम्बन्धित यस्ताखाले चाडपर्व मनाउनेमा तिथिकै थपघटका कारण देखाएर अलमल भएको देखिन्छ । निर्दलीय शाहवंश र जहानीया राणा शासनकालमा दबाएको भएपनि नेपालमा बहुदलीय प्रजातन्त्र र गणतन्त्र बहालीसँगै नेपाल संवत् पुनर्जिवित हुने प्रयासमा छ । पुनः मौलिक आकार लिएर सम्पूर्ण समुदायको सर्वमान्य संवत् हुने तरखर गरिरहेको नेपाल संवत्लाई व्यवहारिक छैन भन्ने प्रमाणित गर्न संवत् विरोधीहरुले तिथिमा राजनीति गरिरहेका छन् । एक त तीन शहरमा वैचारिक एकता देखिंदैन त्यसमाथि सरकारी मान्यता प्राप्त राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यस्ता सांस्कृतिक विचलनलाई दुरुत्साहन गर्ने आधारमा देखिएको अलमल समाधान गर्नेमा कन्जुस्याइँ गरिरहेको छ । खगोल विज्ञानसँग सम्बन्धित यस्ता हिसाब सरोकारवालासँग आवश्यक सहकार्य, साहुती र विमर्श गरेर मिलाउनु अत्यावश्यक छ । विवादरहीत एकैखाले पात्रो प्रकाशन हुँदा न तिथिमा अलमल हुन्छ न त चाडपर्व मनाउनेमा । आमसर्वसाधारण नागरिकले आधार लिने भनेको सम्बन्धित पक्ष र पात्रो नै हो । त्यसैमा अलमल भएपछि सांस्कृतिक रूपमा विचलन आउने स्वभाविक छ । सभ्य समाजको विम्वको रुपमा रहेको संस्कृतिलाई नै प्रभावित गर्ने यस्ता नियोजित षड्यन्त्र नेपाल संवत्मार्फत भइरहेको दुर्भाग्यपूर्ण छ । (उल्लेखित विषय मेरो व्यक्तिगत विचार हो ।)


No comments:

Post a Comment

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...