Friday, December 17, 2021

मातृभाषामा पुनर्जागरणको संकेत प्रस्ट देख्दैछु

म सम्झिन्छु नागरिक अगुवा डा. महेशमान श्रेष्ठले केही वर्ष अघि एउटा समारोहमा भन्नुभएको थियो “नेपालभाषा बिरामी भएर आईसियूमा पुगेको छ । समयमै उपचार नगर्ने हो भने मृततुल्य हुनेछ ।” ठ्याक्कै सोही वक्तव्यलाई सम्झिरहँदा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री माननीय राजेन्द्र प्रसाद श्रेष्ठ तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आईसियूमा पुगिसकेको नेपालभाषालाई उपचार गराउने डाक्टरको रुपमा आफुलाई उभ्याएको अनुभूति भइरहेको छ । माननीय श्रेष्ठले संघीय संसद्‌मा मातृभाषा सम्बन्धिकाे विधेयक संशोधन प्रस्तावमार्फत संविधान संशोधन  गराएर तथा शाक्यले स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्याभूत गरेको अधिकार प्रयोग गरी काठमाडौं महानगरभित्रका सम्पूर्ण विद्यालयमा मातृभाषाको अध्यापन सुरु गरिनु, सोही सिको गरी कीर्तिपुर नगरपालिकाले पनि थाल्नु, ललितपुर महानगरपालिका तथा क्रमशः अन्य स्थानिय तहले पनि नेपालभाषा अध्यापनको तयारी थाल्नु, विभिन्न कलेजहरुमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढ्नु तथा दसकौंदेखि बन्द रहेका साहित्यिक संस्थाहरु पुनर्गठन गरिनुले त्यसलाई प्रमाणित गरेको भान हुन्छ । 

केहि समय अघि प्राविधिक कारण देखाएर नेपालभाषाको अध्यापन बन्द गरिएको रत्न राज्यलक्ष्मी क्याम्पसमा पुनः सुचारु भएको छ । स्नातक तथा स्नातकोत्तर तहमा नेपालभाषाको अध्यापन मात्र सुरु गरिएको होइन बरु ४० वर्ष अघि स्थापना गरी २०६१ सालमा बन्द भएको सकुन्दा साहित्य पाला (नेपालभाषाको साहित्यिक संस्था) पुनर्गठन गरिएको छ । क्याम्पसमा नेपालभाषा सम्बन्धिको गतिविधि गर्दै आएको नेवाः विद्यार्थी युनियनलाई सलाम छ । विशेषगरी टोखाका प्रशान्त डंगोल, कीर्तिपुरका रिदेन महर्जन, काठमाडौंका ईन्द्रमान महर्जन तथा उनीहरुको समूहप्रति आभारी छु । साठी सालतिर रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयको स्नातक तह अध्ययन गर्ने मेरा सहकर्मी साथीहरु तथा प्राध्यापकहरु क्रमशः डा. चन्द्रमान बज्राचार्य, जनक नेवाः, पुष्प चित्रकार सरलाई स्मरण गर्दैछु । उहिले सुषुप्त अवस्थामा रहेको सुकुन्दा साहित्य पालालाई जेनतेन मेरै नेतृत्वमा करिव एक वर्ष सक्रिय बनाएको याद गर्दैछु । ०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहँदा साहित्यिक पालालाई निरन्तरता दिन नसक्नु हाम्रो कमजोरी रह्यो । त्यसो भएपनि पुनः सुकुन्दा साहित्य पाला पुनर्गठन गरिएको भन्ने खबरले मनलाई एक किसिमको आनन्दित तुल्याएको छ । 

नेपालभाषा पुनर्जागरण अभियानका नायक राजेन्द्र प्रसाद श्रेष्ठ, विद्यासुन्दर शाक्य, नेवाः बस्ती नेवाः स्कूल अभियानका दीपक तुलाधर, ०४६ साल यता भक्तपुरमै सबसे पहिले माध्यमिक स्तरमा नेपालभाषा अध्यापन गराउन पहल गर्ने विद्यादेवी चित्रकार तथा प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सुपात्रहरुमा मेरो नमन । मातृभाषामा पुनर्जागरणको संकेत प्रस्ट देख्दैछु ।

No comments:

Post a Comment

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...