लेखकको नजरमा मध्यपुरको सञ्चार इतिहास र सञ्चारकर्मी
-KK Manandhar
आम चासो भएको नयाँ सुचना जसले समाजलाई सकारात्मक परिवर्तन गर्ने ल्याकत राखेको हुन्छ, त्यहि वास्तविक रुपमा समाचार हो । दृष्टिकोणपिच्छे समाचारलाई व्याख्या गर्नेहरु पनि छन् । कोही एन.ई.डब्यू.एस (न्यूज) लाई नर्थ, ईस्ट, वेस्ट र साउथबाट आएका सुचना नै समाचार हो भन्न रुचाउँछन् । विकीपेडियाले कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो भनेको छ । सञ्चार सम्बन्धिका अध्येता डेसिन म्याक्वेलले पैसा लिएर निश्चित चीजबस्तुलाई प्रचार गर्नु समाचारको मुख्य काम हो, भनेका छन् । त्यसमा काम गर्ने व्यक्तिलाई सञ्चारकर्मीको रुपमा प्रस्तुत गरिन्थ्यो । भलै अहिले व्यक्तिको पेशा बनेको छ । सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिको लागि आचारसंहिता निर्माण भएको छ । धेरै देशका सञ्चार आचारसंहिताले सञ्चार माध्यममा काम गरेर पैसा लिएपनि समाचार लेखेर स्रोतबाट प्रत्यक्ष रुपमा पैसा लिन नपाउने व्यवस्था गरेको छ । सुचनाको स्रोतबाटै पैसा लिएर व्यक्तिले समाचार बनाउँदा पूर्वाग्रही हुने भएर पनि सञ्चार क्षेत्रमा आचारसंहिताको महत्त्व बढेको हो । नियोजित रुपमा प्रोपागान्डा गरेर आजकल पैसामा बिक्ने समाचारहरु पनि प्रकासन÷प्रशारण भएका उदाहरण छन् । त्यस्ता समाचार र समाचार लेख्ने व्यक्तिलाई राम्रो दृष्टिले हेरिँदैन । आचारसंहिता मात्र त्यस्तो एउटा व्यवस्था हो जसले सञ्चार क्षेत्रमा हुने गलत कामलाई नियन्त्रण गर्न सक्छ ।
सुचना र समाचारको महत्त्व यति धेरै हुन्छ कि यसैको भरमा मानव जीवनलाई निर्धारण गर्नेदेखि देश, राष्ट्रियता, धर्म, स्वाधिनता लगायत थुप्रै अवयव आधारित हुन्छन् । डाक्टरले गम्भीर प्रकृतिका रोगीलाई उपचार र औषधिको सुचना नदिँदा कस्तो प्रभाव पर्ला ? कूटनीतिज्ञ र इन्टलिजेन्स व्यूरोले राजनीतिज्ञलाई छिमेकी देशको सम्भाव्य रणनीति र परराष्ट्रनीतिको सुचना नदिँदा कस्तो होला ? ठ्याक्कै त्यस्तै धेरै विषयमा सुचना र समाचारको भूमिका महत्त्वपूर्ण हुन्छ । देशमा राजनीतिक परिवर्तन, विकास निर्माण, स्थायित्वको लागि पनि सुचना र समाचारको महत्त्व उत्तिकै हुन्छ । त्यसैलेपनि समाचारलाई निश्चित शब्दावली वा वाक्यमा अथ्र्याउन कठिन छ । वृहत् अर्थ लागेजस्तै यसका प्रकार पनि धेरै छन् । उच्च शिक्षाको पाठ्यपुस्तक बमोजिम छापा र विद्युतीय गरी दुई किसिमका समाचार हुन्छन् । एउटा पत्रिकामा लेख्ने शैली, जसमा समाचारको सुरुको लाइन लिड (आमुख) बाट प्रारम्भ हुन्छ । उल्टो पिरामिड आकारमा प्राथमिकता निर्धारण गरी समाचारका विषयहरु उल्लेख गरिन्छन् । अर्को भनेको विद्युतीय शैलीका समाचार जसमा एकै सासले प्रत्येक वाक्य पढि सक्नुपर्ने र पहिलो वाक्यलाई दोस्रो वाक्यले पुष्टि गरी लेख्नुपर्ने उल्लेख छ । त्यस्तै विधागत समाचारको सन्दर्भ बेग्लै भयो । लेखनको शैली र विधालाई थाँती राख्ने हो भने उद्देश्य, अनुसन्धान, जानकारी, शिक्षा, सचेतना, सुसूचित गर्ने सन्दर्भमा थुप्रै प्रकारका समाचारहरु हुन्छन् । सोही बमोजिमको समाचार तयार गर्ने काम पत्रकारिता पनि । सरकारी पहुँचको रेडियो नेपाललाई अपवाद मान्ने हो भने उहिले छापा माध्यमबाट गरिने पत्रकारिता मात्र अस्तित्वमा थियो । त्यस्तो सशक्त माध्यम, सोही क्षेत्रमा काम गर्ने सञ्चारकर्मी वा स्वतन्त्र लेखकको रुपमा उदाएका मध्यपुरलाई कर्मभूमि बनाएका र मध्यपुरले जन्माएका पत्रकारहरुको पृष्ठभूमि यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
मध्यपुरमा साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु भएको देखिन्छ । तत्कालीन अवस्थामा उद्देश्यपरक पत्रकारिताको रुपमा साहित्यमार्फत राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज बुलन्द गर्न पत्रिकाको सुरुवात गरेको देखिन्छ । त्यो बखतको पत्रकारिता आम चासोको विषय जो समाज परिवर्तनको लागि साहित्यमार्फत गरिएको सुचना प्रवाह थियो । राजनीतिक अभीष्ट पूरा गर्ने मुल ध्येयले भाषिक, सांस्कृतिक चेतना जागृत गर्नको लागि स्थानिय नेपालभाषामा पत्रिकाहरु प्रकाशित भएका थिए । त्यसपश्चात् व्यावसायिक पत्रकारितासँगै मुलधारको भाषाबाट समेत पत्रिका सुरु भएको देखिन्छ ।
नेपालभाषाको पत्रकारिता
२०१९ (नेपाल संवत् १०८४)मा बोडेबाट “मूस्वां” नामक पहिलो पाण्डुलिपिको साहित्यिक पत्रिका प्रकाशन भएको थियो । श्यामसुन्दर थाले सम्पादन गरेको सोही पत्रिका आजको मितिसम्म भेटिएको मध्यपुरको सबसे पुरानो पत्रिका हो । नेपालभाषामा मूस्वांको अर्थ एकथरीको विशेष फूल वा मुख्य फूल भन्ने हुन्छ । त्यसपछि २०२१ वैशाखमा नेपालभाषाकै साहित्यिक पत्रिका “सगं” प्रकाशन भएको थियो । जनकवि दुर्गालाल श्रेष्ठले सम्पादन गरेको पत्रिका नै मध्यपुर थिमिको पहिलो छापा माध्यमबाट प्रकाशित भएको पत्रिकाको रुपमा उदाएको हो । यही पत्रिकालाई २०२४ सालमा विद्यालयस्तरको कक्षा ६ को पाठ्यपुस्तकको रुपमा समेत प्रयोग गरियो ।
विक्रम संवत् १९८२ मा भारतको तत्कालीन राजधानी कलकत्ताबाट ललितपुर निवासी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले नेपालभाषाको पत्रिका प्रकाशन गरेको इतिहास छ । तत्कालीन नेपालमा राजनीतिक र प्राविधिक हिसाबले सम्भव नभएर “बुद्ध धर्म व नेपालभाषा” नामक पत्रिकालाई भारतबाट प्रकाशित गरिएको हो ।
त्यस्तै फत्तेबहादुर सिंहको सम्पादन रहेको “नेपालभाषा पत्रिका” नामक दैनिक नेपालभाषाको पहिलो पत्रिका २०१२ देखि प्रकाशित हुनथाल्यो । त्यसपश्चात् २०१० मा काठमाडौंको च्वसापासाबाट साप्ताहिक पत्रिका “पासा” प्रकाशित भएको देखिन्छ । पत्रिका प्रकाशन गर्नु तीन वर्षअघि अर्थात २००७ मा भारतको कलकत्तामा प्रेमबहादुर कंसाकार तथा मदन लोचन सिंहहरु मिलेर जनताको राजनीतिक चेतना जागृत गर्ने उद्देश्यले संस्था गठन गरेको बताइन्छ । त्यसपश्चात् नेपालमा प्रजातन्त्र बहाली भएसँगै संस्थालाई काठमाडौंमा ल्याएर पत्रिका प्रकाशन थालेको देखिन्छ । २०४० सालमा कृष्णसुन्दर मल्ल (मल्ल के. सुन्दर) सम्पादक रहेको “इनाप” नामक पत्रिका अस्तित्वमा आयो । इनाप पत्रिकाले तत्कालिन युवाहरुलाई पत्रकारिता गर्न प्रोत्साहित गरी भाषा सम्बन्धीको चेतना जगाउने काम समेत ग¥यो । त्यसपछि २०४५ सालमा नेपालकै पहिलो सन्ध्याकालीन दैनिक पत्रिकाको रुपमा विश्वभूमि प्रकाशन हुनथाल्यो ।
सुरुमा नेपाली भाषा भएपनि त्यसलाई पछि नेपालभाषाको पत्रिका बनाइएको थियो । सुशीलवीर सिंह कंसाकार प्रकाशक र अशोक श्रेष्ठ सम्पादक रहेको विश्वभूमि दैनिक त्यो बखतको चर्चित पत्रिकाको रुपमा थियो । नेपालमा भएको २०४६ को बहुदलीय प्रजातान्त्रिक आन्दोलन ताका नयाँ नयाँ सुचना सम्प्रेषण गर्ने भएर पनि उहिलेको विश्वभूमिले चर्चा बटुलेको थियो । लगत्तै पाँच वर्षपछि अशोक श्रेष्ठले विश्वभूमि पत्रिकालाई छोडेर “न्हूगु विश्वभूमि” पत्रिका प्रकाशन गर्न थाले । अहिलेपनि पाँच वटा दैनिक, १२ वटा साप्ताहिक र एउटा पाक्षिक पत्रिका प्रकाशन हुँदै आएको छ । त्यसमध्ये नेपालभाषाको पहिलो रङ्गीन साप्ताहिक पत्रिकाको रुपमा “लहना वाःपौ” २०७१ देखि प्रकाशन हुन थाल्यो । पत्रिकामा सम्पादकको रुपमा कृष्णकाजी मानन्धर (केके मानन्धर) लाई नियुक्ती दिएर शिला सायमि अध्यक्ष रहेको तयेजु प्रकाशनले पत्रिका प्रकाशन गरेको हो । त्यसरी नै मकवानपुरबाट हेटौंडा वाःपौ, नेपालभाषा टाइम्स, लायकू, पेजथ्री, अप्सरा, देशय् मरु झ्याः, नेवाः जः लगायतका पत्रिका प्रकाशन हुँदै आएको छ । उल्लेखित पत्रिका मध्ये सन्ध्या टाइम्स दैनिकलाई नाम परिवर्तन गरी सोही समुहले नेपालभाषा टाइम्स पत्रिका प्रकाशन गर्दै आएको छ ।
व्यावसायिक पत्रकारितामा मध्यपुरका अग्रज पत्रकार अशोक गलु श्रेष्ठ
मध्यपुर थिमिमा जन्मिएका अशोक गलु श्रेष्ठको नाउँ व्यावसायिक पत्रकारको रुपमा सबसे अग्रपङ्क्तिमा आउँछ । साहित्यिक पत्रिकामार्फत उद्देश्यपरक पत्रकारिता हुँदैआएकोमा उहाँले नयाँ आयाम थपेर व्यावसायिक पत्रकारिता सुरुवात गरेको देखिन्छ । यहि आधारले पनि मध्यपुरको पत्रकारिता क्षेत्रको इतिहासमा उहाँको योगदान स्मरणीय छ ।
निर्दलीय पञ्चायती व्यवस्थामा पत्रिका दर्ता बन्द थियो । आमजनतामा राजनीतिक चेतना जागृह हुने भयले तत्कालीन पञ्चायती सरकारको विरुद्ध बोल्न पाइँदैनथ्यो । “एक भाषा एक नीति” अवलम्बन गरेको सरकारले खस नेपाली भाषा बाहेक अन्य सम्पूर्ण भाषालाई दमन गरेको त्यो जर्जर अवस्थामा समेत उहाँलगायतको समुहले नेपालभाषाकै माध्यमबाट पत्रिका प्रकाशन गरेको इतिहास छ । नयाँ पत्रिका दर्ता गर्न नपाइने त्यो बखत अर्थात २०४५ सालमा सरकारलाई चुनौती दिँदै नेपालभाषामा नेपालकै सबसे पहिलो सन्ध्याकालीन पत्रिकाको सुरुवात उहाँले गरेका थिए ।
अशोक गलु श्रेष्ठले तत्कालीन बखत सुशीलवीर सिंह कंसाकारलाई प्रकाशक बनाएर विश्वभूमि नामको दैनिक पत्रिका चलाएको देखिन्छ । नेपालभाषामै पत्रिका प्रकाशन गर्ने उहाँको तीव्र इच्छाको कारणले तत्कालीन सरकारको प्रशासनिक कठिनाइ झेल्नु परेको बताइन्छ । सुचना विभागमा स्वयं जाँदा पत्रिका खरिद तथा भाषा परिवर्तनको लागि निवेदनै दर्ता गर्न नमानेका उहिलेका कर्मचारीलाई हुलाकमार्फत निवेदन दर्ता गरेर बाध्य बनाएका थिए । उहाँको विवेकले प्रशासनिक संयन्त्रलाई समेत मात दिएर पत्रिका प्रकाशन गर्न सफल भएको नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका संस्थापक सदस्य चन्द्रकृष्ण (गोपाल) श्रेष्ठले सम्झिए । फरक मत अभिव्यक्त गर्ने स्वीकृति नभएको निर्दलीइ पञ्चायती व्यवस्थालाई चुनौती दिँदै दर्ता नखुलाइएको अवस्थामा नेपालभाषामै पत्रिका प्रकाशन गर्न उहाँले देखाउनु भएको कुशलता सम्पूर्ण पत्रकारहरुको लागि प्रेरणा हुनसक्छ ।
मध्यपुर सञ्चार समाज र बाबुकाजी साःछेँ श्रेष्ठ
बाबुकाजी साःछेँ श्रेष्ठ मध्यपुरको लागि नयाँ अनुहार होइन । सामाजिक, राजनीतिक र पत्रकारिता क्षेत्रमा योगदान दिएका उनै श्रेष्ठले २०६८ चैत २९ गते मध्यपुरका सम्पूर्ण सञ्चारकर्मीहरुलाई समेटेर पेशागत संस्थाको स्थापना गरे । यो संस्थाले मध्यपुरमा जन्मेर फरक ठाउँमा पत्रकारिता गरेका र मोफसलमा जन्मेर मध्यपुरलाई पत्रकारिताको कर्मथलो बनाएका सञ्चारकर्मीहरुको लागि काम गर्दै आएको छ । राजधानी काठमाडौंसँग जोडिएको भएर पनि ओझेलमा परेको मध्यपुरको शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सम्पदा तथा अन्य विषयहरु प्रचार गर्ने क्षेत्रमा समाजले विशेष भूमिका खेल्दै आएको छ । सोही चीजबस्तुलाई मनन गरी उहाँको नेतृत्वमा मध्यपुर सञ्चार समाज गठन गरिएको हो ।
| Addressing Babukaji Sachhen Shrestha for Madhyapur Sanchar Samaj. |
बाबुकाजी साःछेँ श्रेष्ठको प्रेस र सञ्चारकर्म २०४० सालदेखि सुरु भएको हो । सुरुमा “द कम्नर प्रेस”का कम्पोजरको रुपमा काम थालेका उहाँले पछि विभिन्न पत्रिकाको लागि ब्लक बनाउन थाले । क्रमशः आफ्नो क्षमता विस्तार गरी डेढ वर्ष पश्चात् पत्रिकाको पेज सेटिङ बनाउन थाले । गोपालदास श्रेष्ठ सम्पादक/प्रकाशक रहेको ४ पेजको दैनिक पत्रिकालाई सबसे पहिले उहाँले पेज सेटिङ गरेका हुन् । लगत्तै उहाँले ४२ सालतिर पाटन मंगलबजारमा अवस्थित श्रीप्रेसमा काम थाले । त्यहाँ पनि गर्जन, मूल्यांकन तथा अरु फुटकर पत्रिकाको लागि पेज सेटिङ गरे । मध्यपुरमा जन्मेका बाबुकाजी साःछेँ श्रेष्ठको सुरुवाती सञ्चार कर्मथलो पाटन भएपनि पछि उहाँले काठमाडौंमा काम थाले । त्यहाँ पनि इन्द्रेणी वार्षिक पत्रिकादेखि थुप्रै पत्रिकाको लागि पेज सेटिङ तथा अन्य फुटकर लेखहरु लेख्न थाले । उहाँले प्रेसमा काम थालेसँगै नेपालभाषा तथा नेपाली भाषाका चर्चित साहित्यिक पत्रिकाहरु सगं, नौलो कोशेली, नेस्टार, सितु, ग्वहालि, थि लगायतका पत्रिकामा आवद्ध भएर काम गरेको अनुभव बटुलेका छन् ।
कालान्तरमा २०५९/६० तिर आफ्नै प्रकाशनमा ई. राजेन्द्र तूबन्जा श्रेष्ठको सम्पादनमा थेम्मृङ पत्रिकाको सुरुवात गरे । सुरुमा प्रचलित नेपाल लिपि तथा नेपालीभाषाबाट प्रकाशन थालेको थेम्मृङलाई पछि देवनागरिक लिपि बनाइएको छ । अहिले भने उहाँ सो पत्रिकामा प्रकाशक÷सम्पादक छन् । पत्रिकामा निर्देशक कृष्णकाजी मानन्धर, सहसम्पादक सागर गुरागाइँ, सहनिर्देशक चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ तथा समाचारदाताहरुमा क्रमशः सुमन श्रेष्ठ र हरिबहादुर श्रेष्ठ छन् ।
त्यसपश्चात् २०६४ मा मध्यपुरकै पहिलो दैनिक पत्रिकाको रुपमा प्रकाशित भएको सन्ध्यादृष्टिमा पनि उहाँले काम थाले । सात वर्षसम्म निरन्तर चलेको पत्रिकालाई मध्यपुरका युवाहरुको समुह शुभेच्छा पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको थियो । सो पत्रिकाको लागि सुरुमा ई. राजेन्द्र तूबन्जा सम्पादक रहेपनि पछि ईश्वरलाल श्रेष्ठले सम्पादनको काम थालेका थिए ।
विद्युतीय सञ्चार माध्यममा मध्यपुरका बसन्त नकर्मी
उहिले सिंहदरबारभित्रैबाट १०० मेगाहर्जमा विभिन्न एफ.एम च्यानलहरु प्रशारण हुन्थे । सोही बखत अर्थात २०५५ तिर मध्यपुरका बसन्त नकर्मीले उत्पादन गरेको रेडियो कार्यक्रम सुनिन्थ्यो । अग्रज सञ्चारकर्मी नकर्मीले अहिले भने साहित्यिक क्षेत्रमा आफुलाई उभ्याएका छन् । क्लासिक एफ. एम १०० मेगाहर्जमा उहाँले २०५७ सम्म “हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति” नामको रेडियो कार्यक्रम चलाउँथे ।
| Photo archive of Radio Nepal. |
मध्यपुरबाट प्रकाशन/प्रशारण भएका सञ्चार माध्यमहरुः
| Name list of Media from Madhyapur. |
| Interaction during investigation journalism training organized by Madhyapur Sanchar Samaj. |
| Welcoming new members by formal president of MSS, Hari Bahadur Shrestha. |
| Picnic program of MSS in Bajrayogini, Sankharapur Municipality. |
No comments:
Post a Comment