म, संचार अनि राष्ट्रवाद
कुरो ०७३ सालको हो । साथीभाइ तथा परिवारसँग सिक्किम पुग्ने मौका जुरेको थियो । साउथ सिक्किममा अवस्थित खगेन्द्र प्रधान श्रेष्ठाचार्यको घरमा बसेको त्यो क्षण, सायदै बिर्सिन्छु । नाम्थाङको तुरुङ भन्ने गाउँका उनी, नेवार संस्कृति, भाषा, लिपि देखि संस्कार संरक्षण, सम्बद्र्धनका बेजोड अभियन्ता हुन् । राजधानी ग्यान्तोकमा इन्द्रजात्रा शुरु गर्नेे देखि नेपालभाषा, लिपि र संस्कारलाई प्रवद्र्धनमा अतूलनीय योगदान दिनुभएका उनै थिए । इन्स्टिच्यूट अफ नेवार कल्चर एण्ड ल्याङ्वेज नाउँको अभियानलाई मोफसलमा स्थापित गराउने उनै प्रधानसँगको त्यो क्षणिक वार्तालाप मेरो लागि स्मरणीय छ ।
नेपाल बाहिरको नेपाल अर्थात सिक्किम बसाइ सर्ने बखत उहाँको पूर्खाले मेची नदि टरेसँगै सम्पूर्ण पहिचान उतै बगाएको भनेका थिए, मसँगैको वार्तालापमा । झट्ट सुन्दा एउटै वाक्य लाग्न सक्छ तर “नदिमा बगाएको त्यो पहिचान”को अर्थ त्यति हलुङ्गो चाहिँ पक्का पनि होइन । सुक्ष्म अध्ययनको दौरान यसले गहकिलो र दीर्घ प्रभावी अर्थ दिनसक्छ । त्यहि पहिचान बगाएकै कारण प्रधानको परिवारमा नेवाः भाषाको अस्तित्व क्षीण भएको छ र सोही सुसुप्त पहिचान जगाउन अभियन्ता भएर लाग्नुपरेको छ । धन्न उहाँको साहस तथा अभियानमा साथ दिने अन्य नेपाली मूलका भारतीय ती दाजुभाइको । म सलाम ठोक्छु प्रधानको अभियानलाई र पहिचान जगाउने इच्छाशक्तिलाई ।
धेरै मातृभाषीहरुको साझा समस्या यीनै हुन्, पछिल्लो समय । थातथलो छोडेसँगै नयाँ परिवेशमा रम्दै जाँदा मौलिकतासँगको त्यो साइनो विलीन हुँदै जानु र नवीनतम अवयव स्वीकार गर्नुपर्ने बाध्यता । भूगोलसँगको आत्मियताले देशभक्ती जगाउँछ नै, त्यो स्वभाविक पनि हो । मातृभूमिप्रतिको लगाव, देशभक्ती र पहिचानसँगको साइनो राष्ट्रवादलाई सन्तुलित गर्नु मोफसलमा बस्नेको लागि सहज भने छैन । मानवीय बुझाईमा भूमिप्रतिको त्यो कित्ताकाटले निर्धारित गरेको मोफसल र त्यहाँ सर्नेको लागि कालान्तरमा आइलाग्ने देशभक्ती र राष्ट्रवादको खडेरी चुनौतीपूर्ण छ । अझ त्यो भन्दा नि प्रधान चुनौती, मातृभूमि मै राष्ट्रवाद हराउनु हो ।
नयाँ परिवेशमा व्यक्ति नौलो हुँदै समयान्तरमा घुलन हुनु, व्यवहारिक वास्तविकता हुनसक्ला । परिवेशले छोड्ने छाप र बाध्यतालाई स्वीकार गरिँदा मौलिकता गुमेकोप्रति चिन्ता हुनु अर्को यथार्थ हुनसक्छ । तर बाध्यताको बावजुद मानवको जीवनमा राष्ट्रवाद र देशप्रेमले जरो गाडेकै हुन्छ । अन्ततः कुनै न कुनै रुपमा त्यो प्रस्फुटन भइरहन्छ । दैनिकी होस् या अभियान र आन्दोलन, चेतअचेत रुपमा आउनुलाई नकार्न सकिन्न । तर चेत अवस्था मै राष्ट्रवादलाई उपेक्षा गरिनु चाहिँ, महाभूल भन्नु पर्छ, घमण्ड र दमननीति पनि । कतिपय अवस्थामा शासक बर्गबाट यस्ता नीति अबलम्बन गरिएका उदाहरण हामीसामु नजीर छ । तत्कालीन पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय पश्चात सन् १७६९ सालमा लादेको शासन व्यवस्था होस् वा चन्द्र शम्सेर राणाको पालामा नेपालभाषा, लिपि, संवत् तथा समुदायप्रतिको कुदृष्टि यसका उदाहरण हुन् । त्यस्तालाई दमन भन्न सकियो भने अन्य अवस्थामा परिस्थिति दोषी हुनसक्छ । अन्जासबस गरिएको गल्ती क्षम्य हुनसक्छ, जानाजान गरिएको उपेक्षा भने अक्षम्य अपराध हो । बस् हामी मध्ये कतिले यी दुई मध्ये एकलाई ग्रहण गरेका छौं ।
भाषासँग संस्कार र संस्कृति पनि अन्तरसम्बन्धित हुने सन्दर्भ शताब्दी पुरुष सत्यमोहन जोशीले धेरै ठाउँमा औंल्याउनु भएको मैले सुनेको छु । जाती र समुदाय विशेषको पहिचानलाई पतन गराउनमा भाषाविहीनताले प्रमूख भूमिका निर्वाह गर्ने उहाँको तर्क हो । हुन पनि यसका ज्वलन्त उदाहरण हामीसामु छर्लङ्ग छ । संस्कृति र कलाकार राष्ट्रका गहना र तिनका आधाररुपी भाषालाई नियोजित दमन गरिँदा राष्ट्रवाद खल्बलिने स्वतः भयो । यसरी भनिरहँदा राष्ट्रवाद नै कहिँ कतै भाषा, लिपि, संस्कृति वा सभ्यताको पर्याय हो कि भन्ने लाग्नसक्छ । तर व्याख्या गर्नेहरुले आ–आफ्ना तर्क र तथ्यपरक प्रमाण पेश गरेका छन् । यसलाई फरक ढंगले बुझाएका छन्, नेपालको सवाल । तत्कालिन श्री ५ महेन्द्र शाहलाई पनि राष्ट्रवादी राजाको रुपमा स्वीकार गरिएको पाइयो । त्यस्तै, एक मात्र नेवाः प्रधानमन्त्री मरिचमान सिंह तथा पछिल्लो समयमा नेकपा एमालेया अध्यक्ष खड्ग प्रसाद शर्मा ओली पनि राष्ट्रवादी शासकका रुपमा प्रस्तुत भए । जब कि महेन्द्र शाहले देशमा “एक भाषा, एक नीति”लाई अबलम्बन गरेका थिए । खस नेपाली भाषालाई राष्ट्रियकरण गर्दै माध्यम भाषाको रुपमा चलाएर अन्य अस्तित्वमा रहेका भाषालाई दमन गरेका थिए । ती पनि राष्ट्रवादी कहलाइए । त्यस्तै छिमेकी देश भारतको हेपाहा प्रवृत्तिलाई चुनौती दिएर खड्ग प्रसाद शर्मा ओली तथा मरिचमान सिंहले राष्ट्रवादी प्रधानमन्त्रीको छाप छोडे । दुई ठूल्ठूला महाराष्ट्रहरु चीन र भारतसँगको सुमधुर र सन्तुलित सम्बन्ध बनाउनुपर्ने वास्तविकतालाई भुलेर चुनौती स्वीकार गर्नेहरु पनि राष्ट्रवादीको रुपमा चित्रित भए । यस अर्थमा नागरिकलाई आत्मनिर्भर चरित्रको आवश्यकता विषयमा सचेत त गराए तर अघोषित नाकाबन्दीको पिरलो सहन बाध्य पनि तुल्याए ।
लेखक प्रदीप गिरीका अनुसार देशभर बोलिने सम्पूर्ण भाषा तथा संस्कृति मान्ने जाती र समुदायलाई एकसुत्रिय मालामा उनेर अघि बढ्ने काम असली राष्ट्रवाद हो । कालखण्डमा शासकहरुले आ–आफ्नै व्याख्या प्रचार गरेपनि ती भन्दा पृथक सम्पूर्ण नागरिकले अपनत्व गर्नसक्ने र समान अधिकारसहितको अवसर नै राष्ट्रवाद हो भनेका छन् । केहि हद सम्म उहाँको तर्क स्वीकारयोग्य छ । खैर, राष्ट्रवाद र राष्ट्रवादीको व्याख्या फरक हुनसक्ला । नेपाल जस्तो बहुभाषी, बहुसांस्कृतिक मुलुकमा सम्पूर्ण जातजाती, भाषाभाषी अट्ने राष्ट्र नै असली राष्ट्रवाद भएकोमा धेरैको दाबी छ । निश्चित भाषा विशेषलाई प्राथमिकतामा राख्ने र अन्य समुदायका भाषालाई उपेक्षा गर्नुले द्वन्द्वलाई बढावा दिन्छ । द्वन्द्वले पक्कै पनि राष्ट्रवादलाई पुष्टि गर्ने सक्दैन ।
देशप्रेम तराजुमा तौलिन कथिन भएसरी राष्ट्रवादको मापण पनि गाह्रो छ । ईकाइ गतिविधि हुन सक्ला तर परिणाम अनुरुपको मापणलाई तौलिन गाह्रै भएपनि प्रयास भने निरन्तर छ । अमूर्त सम्पदामा देखिएको विचलन र भाषिक समस्यालाई उत्थान गर्नेमा संचार क्षेत्रले ठुलै योगदान दिन सक्छ । यस अघि भएका अध्ययनले पनि यहि पुष्ट्याउँछ । घरघरमा कार्टुनचित्र हेरेर बच्चाहरुले सिकेका हिन्दी भाषा किन नहोस् वा भारतीय सिरियलबाट गृहिणीले सिकेका भाषाका उदाहरण, संचार क्षेत्रको उपलब्धि हो । त्यसरी नै सामाजिक सञ्जाल, सर्चइन्जिन, यूट्यूब, रेडियो, टेलिभिजनमार्फत भाषा र अन्य राष्ट्रवादी भावना जगाउन सकिन्छ । संस्कृति प्रचार गर्ने देखि संस्कार र मूर्त सम्पदाको विषयमा विस्तृत बुझाउन सकिन्छ । संस्कृतिले गुटबन्दी हटाएर एउटै मालामा उनेसरी ती गतिविधि प्रचार गर्नेमा संचार क्षेत्रले भूमिका खेल्न सक्छ । जसले अपनत्वको महसूस गराउँदै राष्ट्रवाद जगाउँछ ।
आशा छ, मेरो संचार क्षेत्रको समर्पनबाट मैले पनि राष्ट्रवाद जगाउने अभियानमा इँटा थप्न सकुँ, राष्ट्रियता र राष्ट्रवादी भावना जगाउन सकुँ । मातृभाषाप्रतिको लगाब र आवद्धताले यसमा टेवा पुग्ने अपेक्षा छ । खस नेपाली भाषामा नसक्ने होइन, गरेको पनि छु । तर प्राथमिकता भने मातृभाषा नै परेको छ । सोही अनुरुपको पेशालाई मर्यादित बनाउँदै पूर्ण व्यावसायिकउन्मुख गर्ने मेरो इच्छा कछुवा गतिमा हिँडे पनि लक्ष्य भने अवश्य पहिल्याउने छ । संचार क्षेत्रमा खर्चेको मेरो लगानी पूर्ण व्यावसायिक पत्रकारिता मात्र होइन बरु नेपालभाषा प्रबद्र्धन देखि मातृभाषी पत्रकारितालाई स्थापित गराउनु हो । अझ संचार क्षेत्रमार्फत मेरो राष्ट्रवाद जगाउनु हो ।
No comments:
Post a Comment