Friday, June 3, 2022

थिमिकाे पद्मपाणी लाेकेश्वर


२० जेठ, केके मानन्धर 

मध्यपुर थिमिस्थित पद्मपाणी लाेकेश्वरकाे जात्रा सिथि नखःमा हुन्छ । नेपाल संवत्‌ तिथि बमोजिम तछलाथ्व षष्ठी अर्थात सिथि नखःकाे साँझ हरेक वर्ष थिमिकाे गार्चादेखि मरू टाेलसम्म बाजागाजासहित जात्रा हुन्छ । अरूभन्दा पृथक देखिने याे जात्रालाई स्थानिय भाषामा 'लाेकेश्वरलाई माइतबाट फर्काइएको' भन्ने चलन छ । यसअघि प्रतिपदाकाे दिन महास्नान गराउने परम्परा छ । 

तत्कालीन नेपाल मण्डलका विभिन्न ठाउँमा विराजमान भएका करूणामयलाई फरक नाउँबाट पुज्ने चलन छ । साेही बमाेजिम काभ्रेको नालामा विराजमान भएकालाई सृष्टिकान्त लोकेश्वर, ललितपुरको बुंगमतीमा अवस्थित रक्तार्यावलोकितेश्वर वा रातो मच्छिन्द्रनाथ, काठमाडौंकाे जनबहालमा विराजमान भएकालाई आर्यावलोकितेश्वर वा अमोघपास लोकेश्वर वा सेतो मच्छिन्द्रनाथ, काठमाडौं दक्षिण भेग चाेभारका आदिनाथ वा आनन्दादी लोकेश्वर हुन् । ती बाहेक दोलखाको मच्छिन्द्रनाथलाई बुगदेउ र थिमिको करूणामयलाई पद्मपाणी लोकेश्वरकाे रूपमा पुज्ने चलन छ ।

दाेलखा र थिमिमा गुरूजु (शाक्य र बज्राचार्य)हरूकाे बसाइँसराइसँगै करूणामय स्थापना गराइएको बताइन्छ । नेपाल संवत् ६८५ मा थिमिमा पद्मपाणी लाेकेश्वर स्थापना गरिएको अभिलेख छ । पद्म कूलमा जन्मिएकाे हुनाले थिमिकाे करूणामयलाई पद्मपाणी लाेकेश्वरकाे नाम दिइएको हाे । सिथि नखःमा करूणामयकाे विशेष जात्रा हुनेभएकोले पद्मपाणी लोकेश्वरलाई सिथि द्यः अर्थात सिथि देवताकाे रूपमा पुज्छन् । 

जीवन निर्वाहकाे लागि न्यूनतम आवश्यकीय बस्तु पानी र अन्न उपलब्ध गराइदिने देवताकाे रूपमा पद्मपाणी लाेकेश्वरलाई लिइन्छ । थिमिकाे पद्मपाणी र ललितपुरका गुरुजु सता श्री पद्मपाणी लोकेश्वर अर्थात राताे मच्छिन्द्रनाथकाे स्वरूप एउटै हाे । त्यसाेभएर पनि थिमिकाे पद्मपाणीलाई ललितपुरकाे राताे मच्छिन्द्रनाथलाई जस्तै कर्म र संस्कार गराइन्छ । तत्कालीन भक्तपुरमा फैलिएको महामारीलाई शान्तिस्वस्ति गरिदिने ललितपुरका गुरूजु (शाक्य र बज्राचार्य)हरूलाई गंगा महारानीले थिमिमा स्थापित गराएको लाेकश्रुती छ । उहिले राताे मच्छिन्द्रनाथलाई नेपाल मण्डलमा ल्याएका भक्तपुरका राजा नरेन्द्रदेवले अाफ्ना छाेराहरू क्रमशः रत्नदेवलाई ललितपुर, पद्मदेवलाई काठमाडौं र भक्तपुर बलदेवलाई सुम्पेर अाफु करूणामयकाे पाउमा लीन हुनुभएको बुंगद्यःकाे कथामा उल्लेख छ ।


(उपप्राध्यापक शान्तरत्न गुरूजुकाे सहयाेगमा तयार गरिएकाे लेख ।)

फाेटाे साभार: हाम्रो जात्रा/कृतन जाेशी/सुरेश ख्वाकः श्रेष्ठ/फेसबुक

No comments:

Post a Comment

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...