'स्याटरडे प्लेन एअर' अभियानको जीवन्त मध्यपुर
संयोग भन्नुपर्छ सन् २०१८ साललाई कि त्यहिँदेखि पुनः कलाकारिता पुनर्जागृत हुँदैछ । काठमाडौंस्थित आर्ट काउन्सिलमा भेट भएका पुराना कलाकार साथीहरुले सुस्ताएको कलालाई ब्युुँताउने योजना बुने र उनी पनि सामेल भए । बस् केहि चाहियो, केहि दिनमै बसन्तपुर पुगेर ‘स्याटरडे प्लेन एअर’ शुरु भयो । फुर्सद मिलाएर प्रत्येक शनिबार चित्र कोर्न जाने सहमति बन्यो । खुल्ला ठाउँ पुगेर चित्र कोर्ने कामलाई फ्रान्सेली भाषामा प्लेन एअर भनिँदो रहेछ । त्यो २०१८ सेप्टेम्बर १ तारिख अहिले भइरहेको अभियानको कोशेढुंगा साबित हुँदैछ । त्यहाँदेखि शुरु भएको अभियान देशैभर फैलिँदो छ ।
‘समकालीन कलाकार साथीहरु दिपेन्द्र बनेपाली, दिवेश प्रधान तथा अन्य साथीहरुसँग त्यो दिन चित्र कोर्दै गर्दा विदेशीले खरिद गर्न देखाएको आत्तुरताले हामी अझ हौसियौँ । शुरुमा त हामीलाई काममा भाँजो हाल्न आइपुगेको भन्ठानेका थियौँ । तर हिमाल चढेर फर्केका विदेशीहरुले दिपेन्द्रको चित्र पाँच हजारमा बुकिङ गरे ।’ श्रेष्ठले उत्साही भएर विगत सुनाए ।
हुन पनि खुल्ला ठाउँमा चित्र कोरेर शुरु गरिएको अभियानमा अहिले देशभरका कम्तीमा तीन सय सदस्य छन् । स्वस्फूर्त शुरु भएको चित्र कोर्ने काम उपत्यका मात्रमा सीमित छैन । काभ्रेको भोटेकोशी गाउँपालिकामा वैशाख महिनामा सम्पन्न भएको थियो । त्यस्तै रसुवाको बेत्रावती नगरपालिकामा कात्तिक २२ र २३ गते हुँदैछ । यसअघि पाटन, भक्तपुर दरबार क्षेत्र तथा अन्य ठाउँमा पनि सम्पदा, जीवनशैली, प्रकृतिलाई क्यानभासमा उतारेका छन् । भक्तपुरको दरबार स्क्वायरमा बनाइएका ३० वटा उत्कृष्ट चित्रलाई अहिले अष्ट्रेलियामा प्रदर्शनीमा राखिएका छन् ।
निश्चित ठाउँमा स्वस्फूर्त सहभागी हुन चाहने कलाकारले सामाजिक सञ्जाल फेसबुकमा भएको स्याटरडे प्लेन एअर पेज र च्याट ग्रूपमा खबर गर्न सक्छन् । निश्चित ठाउँलाई क्यानभासमा उतार्न सोही अनुकूलको समय र नाउँ जुराएर योजना बुन्ने गरेको छ । काभ्रेको लागि जुराएको अभियानको नाउँ ‘सभ्यताको सौन्दर्य’ हो ।
जीवन्त मध्यपुर:
मध्यपुरमा पनि दिवेश प्रधानको संयोजन तथा शंखधर एसोसिएसन अफ फाइन आर्टको सहकार्यमा केहि समय यतादेखि ‘जीवन्त मध्यपुर’ अभियान चलाइएको छ । प्रत्येक शनिबार निश्चित ठाउँमा पुगेर सोही ठाउँलाई आकर्षक ढंगले प्रस्तुत गर्ने क्रममा बोडेको महालक्ष्मी, नगदेशको लाछि टोल, सिद्धिकाली, निगु पुखू, चपाचो तथा लाय्कूमा कार्यक्रम सम्पन्न गरेको छ । छैटौँ हप्तामा मध्यपुरको सिवाटोल पुगेको हो । कात्तिक १० गते निगु पुखू क्षेत्रमा चित्रकला प्रदर्शनी गर्न मध्यपुरका विभिन्न ठाउँ पुगेका १८ जना कलाकारहरु छैटौँ हप्ताको ‘जीवन्त मध्यपुर’ अभियान अन्तर्गत सिवाटोल आएका हुन् ।कात्तिक ९ गते बालकुमारी प्रांगणमा मध्यपुर सिरिज सकाएर भोलिपल्ट निगु पुखूमा करिव ६० वटा चित्रलाई प्रदर्शनीमा राखिने स्थानिय संयोजक प्रकाश मानन्धरले जनाए । मूर्त र अमूर्त सम्पदालाई क्यानभासमा उतारेर छनोट पश्चात् आयोजना गरिने चित्रकला प्रदर्शनीमा मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने भएको छ । नगरका विभिन्न ठाउँका क्यानभास चित्रलाई परिचयसहितको पुस्तिका प्रकाशन गर्नेमा पालिकाले प्रतिबद्धना जनाएको संयोजक मानन्धरले जनाए । संघ सरकारको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पुग्ने भएर स्याटरडे प्लेन एअर अभियानलाई स्थानिय सरकारले सहकार्य गरेको बताइएको छ ।
मध्यपुर क्षेत्रका पाँच जना कलाकार मिलेर गठन गरेको संस्थाले यसअघि किपा एक, किपा दुई र किपा तीन नाउँ दिएर ०६५, ६६ र ७५ सालमा चित्रकला प्रदर्शनी गरेका थिए । मध्यपुरका सीमित कलाकारहरुको सहभागितामा मात्र प्रदर्शनी थालिएकोमा अहिले अभियानमा सहभागी भएर सहकार्य गर्न पाउँदा उनी पनि दंगै देखिन्छन् । शंखधर एशाेसिएसन अफ फाइन आर्टका पाँचै जना कलाकार जीवन्त मध्यपुर सफल बनाउन लागि परेका छन् । यसमा मध्यपुर आर्ट एशोसिएसनका कलाकारहरु पनि सहभागी छन् । ती मध्ये बिस्केट जात्रामा जिब्रो छेडएका जुजुभाइ बासँ श्रेष्ठ, विभिन्न स्कूलमा पुगेर चित्रकला सिकाउने हरि प्रजापतिदेखि प्रविण श्रेष्ठ, सुन्दर श्रेष्ठ, विक्रम प्रजापति र कान्छाकाजी भासिमा पनि छन् ।
जीवन्त मध्यपुर नाउँ दिएर शुरु गरिएको छैटौँ हप्ताको अभियानमा ललितकला प्रज्ञा प्रतिष्ठानका बुद्धि गुरुङ, पुरातत्व विभागका अधिकृतदेखि विभिन्न संचारगृहमा आबद्ध संचारकर्मीहरुलाई निम्त्याइएको थियो । सात वटा पाटी, मध्यपुर क्षेत्रकै सबभन्दा पुरानो महादेवको मन्दिरदेखि गणेश मन्दिर, चैत्य, आर्यावलोकितेश्वरको मूर्ति अवस्थित टोलमा कलाकारले फरक पृष्ठभूमिलाई आआफ्नो सिर्जनामा समेतेका छन् । बिहान आठै बजे शुरु भएको अभियान साँझ सम्म चलेको थियो । सोही अवधिमा डेढ दर्जन कलाकारहरुले कम्तीमा २० वटा चित्रलाई क्यानभासमा उतारे ।
पृष्ठभूमिः
मानवीय आत्माको अभिव्यक्तिलाई कलाको रुपमा बुझ्न सकिन्छ । समयानुकूल यसको प्रयोग र प्रस्तुती भने फरक हुन सक्छ । यिनै परिस्थितिबाट रंगहरू जन्मिने गर्दछ । कलाकारले व्यक्ति, परिवेश, भोगाई तथा अन्य अभिव्यक्तिको आधारमा प्रस्तुत गरिने कलाको विकसित रुप चित्रकला हो । व्यक्तिका सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई कलामा उतार्ने गरिन्छ । त्यस्ता फरकपनको स्वरूप चित्रकलाको माध्यमबाट प्रस्फुटित हुने गर्दछ ।इतिहासः
उत्तर अफ्रिकी देश मिश्रले पश्चिम एशिया र भूमध्य सागर जोड्छ । मानव सभ्यता शुरु भएको नाइल नदी आसपासको क्षेत्रमा बसोबास गर्ने मानिसले चित्रकलालाई विकास गरेको हो । बेलायतको लन्डनस्थित संग्रहालयमा सुरक्षित राखिएको तीन हजार वर्ष पुरानो चित्रले यसलाई पुष्टि गर्दछ । चीन, भारत तथा नेपालसँग पनि चित्रकलाको इतिहास जोडिन्छ । यस्तै खालका चित्रकला भारत तथा नेपालमा थुप्रै छन् । रामायणदेखि महाभारतकालीन चित्रकलाले नेपाल र भारतमा पनि धेरै पहिलेबाट चित्रकला विकास भएको थाहा हुन्छ । भारतको अयोध्या, गोकुलधाम, आग्रा तथा नेपालको जनकपुरमा भेटिने जलरङ र भित्तेचित्र पौराणिक चित्रकलाको बलियो आधार हो । त्यसमा पनि मध्यकालमा काठमाडौं, भक्तपुर तथा ललितपुरका दरबारभित्र बनाइएका भित्तेचित्रले चित्रकलाको स्वर्णयुगलाई जनाउ दिन्छ ।नेपालमा चित्रकलाको विकासक्रमः
कलाकार तथा वरिष्ठ समीक्षक मदन चित्रकारका अनुसार गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरेपछि नेपाली चित्रकला परम्परामा परिवर्तन देखिएको हो । प्राचीन समयमा नेपाली चित्रकला परम्परागत धर्ममा आधारित थियो । चित्रकलालाई पारिवारिक पेशाको रुपमा नेवार समुदायको चित्रकार परिवारले धानेको थियो । नेपाली कला र सामाजिक विकासको स्वर्णयुग मानिने लिच्छवी तथा मल्लकालीन समयमा थुप्रै कलाकार्य भएका थिए । विशेष गरी वास्तुकलाको विकास, योसँगै भित्तेचित्रको पनि निर्माण भएको पाइन्छ । तथापि चित्रकारिताको आयु वास्तुकलाको जति लामो नहुने हुँदा र त्यो समय पछिका विभिन्न प्राकृतिक दुर्घटनाले गर्दा थुप्रै चित्र नष्ट भए । विभिन्न धार्मिक ग्रन्थहरूमा पनि चित्र निर्माण भए पनि तिनीहरू लामो समय नटिकेको उहाँको भनाई छ ।सन् १८१४ देखि १८१६ सम्मको नेपाल–अंग्रेज युद्धपछि नेपाल र अंग्रेजबीच सुगौलीसन्धि भयो । अंग्रेजले नेपाल प्रतिनिधिको रूपमा सन् १८२० मा ब्रायन एच हड्सनलाई नेपाल पठाए । त्यतिबेला नेपालमा भीमसेन थापा प्रधानमन्त्री थिए । हड्सनले नेपाल बसाइका क्रममा नेपालको बौद्ध वास्तुकलाको विषयमा अध्ययन, खोज र अनुसन्धान गरेका थिए । अध्ययनका क्रममा राजमान चित्रकारलाई वास्तुकलाको स्केच तयार गराउँथे र चित्रकारिताका नयाँ–नयाँ तरिका पनि सिकाउँथे । योसँगै नेपाली चित्रकलामा परिवर्तन देखाप¥यो । त्यसपछि भाजुमान चित्रकारको युरोप भ्रमण, चन्द्रमानसिङ मास्के र तेजबहादुर चित्रकारको कलकत्तामा चित्रकारिता अध्ययनसँगै नेपालीकलामा नौलो आयामको सुरुवात भयो ।
यसै सन्दर्भमा वरिष्ठ कलाकार तथा ललितकला प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर भन्छन्, ‘जंगबहादुर राणाले कलाकारलाई युरोप भ्रमणमा लगेसँगै कलाकारलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थाल्यो । चन्द्रमान सिङ मास्के र तेजबहादुर चित्रकारले चित्रकलाका शैलीमा नयाँ शैली भित्र्याए । कला गतिविधिमा राणाहरूको प्रत्यक्ष सम्बन्ध स्थापित हुन थाल्यो । सामान्य जनताका विषयले पनि कलाकृतिमा प्रवेश पाउन थाले । २००७ सालको परिवर्तनका लागि कलाकारले जनताका अपेक्षाका कला रचना गर्न थाले । नवीन भावसहितका रचनाले प्रश्रय पाउन थाले ।
नेपालमा ११औँ शताब्दीतिर धार्मिक तथा तान्त्रिक विधाको प्रचलनमा केही ग्रन्थहरू तयार भएका छन् । ती ग्रन्थका बीचबीचमा देवदेवीका चित्र बनाइएको पाइन्छ । सन् १०१५ को प्रज्ञा पारमिता ग्रन्थचित्र नेपालको पुरानो ताडपत्रको ग्रन्थचित्र मानिएको छ । त्यस्तै, नेपाली चित्रकलामा अमिताभको सन् १३६८ मा बनेको पौभा चित्र पनि महत्वपूर्ण प्राचीनचित्रको रूपमा स्थापित भएको छ । १९ औँ शताब्दीमा जन्मपत्रिका चित्र तथा केही सामाजिक चित्रहरू बनेका थिए । २० औँ शताब्दीमा नेपाली कलामा नयाँ मोड देखियो । त्यस समय पश्चिमी शैली र प्रवृत्तिको शुरुवात भयो । त्यस बेलादेखि पश्चिमी यथार्थवादी अथवा वस्तुगत शैलीको सुरुवात राणा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत र फ्रान्स भ्रमण गरेपछि भयो । प्रधानमन्त्री जंगबहादुर राणासँगै त्यस समयका प्रख्यात कलाकार भाजुमान चित्रकार पनि गएका थिए । भाजुमान चित्रकारको त्यस यात्राले नेपाली समसामयिक चित्रकला क्षेत्रमा नौलो मोड दियो ।
More Photographs:
(चित्रकला सम्बन्धी ज्ञातासँगको कुराकानी, विकिपीडिया तथा इन्टरनेटमा भेटिएका सामग्रीको अध्ययन पश्चात् तयार गरिएको लेख । केके मानन्धर । कात्तिक २ गते, ०७६ ।)











No comments:
Post a Comment