कार्यक्रम माघ ५ गते शनिबारको लागि तय भएको थियो । भाषा र रैथाने माटोको सुगन्ध मन पराउने भेषराजसँगको यसअघिका दुईतीन पटकको भेटवार्ताले स्याङ्जा यात्रा निर्धारण भएको थियो । बौद्ध अध्येता तुलसीकाजी दाजुले उहाँसँगको परिचय जोड्नु र हामी युवाहरुको समुदाय मोहले समग्र कार्यक्रमको खाका कोरेको थियो । त्यसो भएर हामी कार्यक्रमको एकदिन अघि नै स्याङ्जा हिंड्यौं । ललितपुर ग्वार्को निबासी गजेन्द्र प्रसाद दाजुको निजी कार बिहान सबेरै घर छेउ आइपुग्दा म पनि व्याग बोकेर तम्तयार भइसकेको थिएँ । बिहान ६ बजे सुरु भएको हाम्रो यात्रामा चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँका राजेन्द्र दाजु र काठमाडौं निवासी किरण कुमार दाजुहरुको सहयात्रा भएको थियो । हाम्रो ४ जनाको टोली यताबाट हिंड्दै गर्दा कार्यक्रम संयोजक स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. १ सालडाँडाका स्थायी बासिन्दा (हाल भक्तपुरको कमलविनायक बस्दै आउनुभएका) भेषराज मानन्धरसँग विषयविज्ञ सम्मिलितको ५ जनाको टोली भक्तपुरदेखि उतै आउँदै थियो । उहाँको टोलीमा बौद्ध अध्येता बसन्त महर्जन, ध्यान सम्बन्धिका प्रशिक्षक स्वहितवीर सिंह कंसाकार तथा भक्तपुर च्याम्हसिंह निवासी रत्न प्रजापति सम्मिलित थियो । हरिनास मानन्धर सांस्कृतिक संरक्षण समितिले स्याङ्जाको गृहकोटमा तय गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्न पोखरादेखि शिक्षासेवी सुन्दर मानन्धर पनि उतै आउनुभएको थियो ।
मुग्लिनदेखि पोखरा जाँदा दमौली नाघेपछि भेटिने दुलेगौंडा चोकबाट करिव डेढ घण्टा जिपको यात्रा पार गरेपछि स्याङ्जा जिल्ला प्रवेश गर्छौं । हुन त भिमान चोकदेखि कालोपत्रे बाटो भएर पनि स्याङ्जाको गृहकोट हुँदै क्याक्मी जान सकिने रहेछ । चार जनाको हाम्रो टोली निजी गाडीलाई दुगेगौंडा चोकस्थित अरिदेव नेवाः पुचःको सामुदायिक हल परिसरमा छोडेर भक्तपुरदेखि आएको ५ जनाको टोलीमा मिसिएर कच्ची बाटोहुँदै लोकल रुटमा चल्ने जिपमार्फत सालडाँडातर्फ लाग्यौं ।
स्याङ्जालीको आतित्थ्यः
चुष्ट देखिएको कार्यक्रम संयोजकको व्यवस्थापनसँगै पक्की पुल बनिनसकेको जारकाटे खोला तरेर जिपले पहाड र कन्दरा छिचोल्दै हामीलाई सालडाँडा पु¥याएको थियो । यात्राको क्रममा नयाँ ठाउँको नवीन अनुभूति संगाल्दै हामी पनि जिप चालकसँग गफिंदै थियौं । त्यहिंदेखि स्याङ्जाको अभूतपूर्व आतित्थ्यको महसुस हुँदैथियो । संयोगले जिप चालक भेषराजकै मामा पर्ने गाउँले रहेछ । पहाड चढ्दै गर्दा देउरालीमा एक हुल महिलाहरु जङ्गलमा काठदाउराको भारी बोक्दै जिप गुडेको बाटोतर्फ लम्किंदै थियो । चालक दाजुले जिप रोके लगत्तै महिलाहरु हत्त न पत्त ‘म छटमा बस्छु’ भन्दै जिपको हुडमा झुन्डिन थाल्नुभयो ।
सोही क्रममा एउटी अर्धबैंसे महिलाले जनजाति लवजमा ‘सालडाँडा जानकै लागि हिंडेको ढन्न जिप भेटियो । भाट पकाउन ढिला भइसक्यो भन्दै थिइन् ।’ झट्ट हेर्दा मगरको भेषभुषमा सजिएकी ती महिला मानन्धर रहिछिन् । गाउँमा हामी नयाँ अनुहारका भएर हुनसक्छ उहाँ लगायतको हुडमा चढ्ने महिलाहरुको टोलीले हामीलाई सांकेतिक सत्कार गरेको भान भयो ।
जब सालडाँडा गाउँ प्रवेश ग¥यौं । तब देउरालीका दुईतल्ले लहरै बनेका गाउँका हरेक घरले स्वागत गरेको अनुभूति भयो । अझ त्यहाँको मनोरम वातावरणको स्वाद बेग्लै थियो । त्यसमाथि भेषु आइपुग्यौ भन्दै आमा हतारिएर हाम्रो टोलीसँग परिचय गर्दै नमस्कारको सत्कार बर्साउन थाल्नुभयो । गाडी चालक दाजुले गाउँले चलनचल्तीमा भेषे र आमाले मायालु शब्दमा भेषु भन्ने हाम्रौ टोलीका संयोजक भेषराजले स्याङ्जा यात्राको पहिलो दिनको विश्राम उहाँकै घरमा मिलाउनुभयो ।
त्यहि ठाउँ हो, जहाँ जिवनमै पहिलोपल्ट फापरको रोटी चाख्ने मौका मिल्यो । हुन त शहर बजारमा नपाउने होइन वा टोलीका अन्य सदस्यलाई नयाँ नहुन सक्छ, तर मेरो लागि त्यो फापरको रोटी, भर्खरै दुहुदैं गरेको भैंसीको शुद्ध बाक्लो दूध तथा गाउँकै मिठोमसिनोले जिब्रो रसाएको थियो । सोही साँझ झोला आआफ्नो कोठामा राखिसकेर मोबाइलको लाइट बाल्दै गाउँ चाहर्नतिर लाग्यौं । भोज प्रकाश माध्यमिक विद्यायलदेखि कमल रानाको निजी निवासमा नयाँ पुस्तालाई इतिहास बुझाउन खोलिएको संग्रहालयसम्म हिंडाइको बखत ठाउँठाउँमा गरिएको सत्कार स्मरणीय छ ।
सालडाँडा पुगेको भोलिपल्ट गृहकोटमा कार्यक्रम तय थियो । गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरलाई प्रमुख अतिथि बनाइएको कार्यक्रमलाई केही वर्ष अघि स्थापना भएको हरिनास मानन्धर संस्कृति संरक्षण समाजले आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी हुन, गृहकोट पुगेको हाम्रो टोलीलाई त र ट नछुट्टिने भाषा बोल्ने तर नेवार भाषा नजानेकी, लुङगी लगाएर टाउकामा कपडाले बेरिकी आमैले देखाउनुभएको सत्कार र खानापिनको व्यवस्थापन प्रशंसनीय छ । कार्यक्रम पश्चात् क्याक्मीमा केन्द्रीय मानन्धर संघका पूर्व सभापति देवकुमार मानन्धर, समाजका सदस्य जीवनारायण तथा अवकास प्राप्त लाहुरेले उहाँहरुको घरमा गरेको सत्कार अविष्मरणीय रह्यो ।
हरिनासको कुरोः
विक्रम संवत् २०६८ मा हरिनास गाउँपालिकाको जनसंख्या १७ हजार ३ सय ४३ थियो । त्यस्तै, २०७८ को तथ्याङ्कले सोही ठाउँको जनसंख्या १६ हजार ३ सय मात्र देखाउँछ । यही तथ्याङ्कलाई आधार मान्ने हो भने दसवर्ष पश्चात् हरिनासमा एक हजार भन्दा बढी जनसंख्या घटेको देखाउँछ । जम्मा ८७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हरिनासमा जनसंख्या घट्नुको कारण अनुसन्धानयोग्य छ ।
सन् २०१७ मा नेपाल सरकारले देशैभरका गाउँ विकास समिति र नगरपालिकालाई राज्य पुनर्संरचना गरेर ७४४ वटा पालिका बनाएको थियो । ती मध्ये मग्याम चिसापानी, चित्रे भञ्ज्याङ, चिनेबास, क्याक्मी र किचनास जोडेर हरिनास गाउँपालिका बनाइएको छ । गण्डकी प्रदेशमा अवस्थित हरिनास स्याङ्जाको महत्त्वपूर्ण पालिका हो ।
हरिनास गाउँपालिकामा भाषिक समूहः
मगर, ब्राम्हण, नेवार, कामी, क्षेत्री, भुजेल, गुरुङ, सार्की, दमाई, ठकुरीहरुको जातीय समूह बसोबास गर्ने हरिनास गाउँपालिकामा ५९.६६ प्रतिशत नेपाली भाषा बोल्छन् । भाषिक रुपमा नेवारहरु तेस्रो ठूलो समूह र मगरहरु पहिलो हो । तर पालिकाभित्र न नेवारले नेपालभाषा बोल्छन् न त सालडाँडाको छेकम टोलमा सघन बसोबास गर्ने मगरले मगर भाषा नै बोल्छन् । हरिनासको अन्य ठाउँमा भने मगर भाषा बोल्नेहरुको बाहुल्य देखिन्छ । सरसर्ती हेर्दा स्याङ्जामा ठूलो भाषिक समूहमा मातृभाषाको खडेरी देखिन्छ । पालिकामा मगर र गुरुङको बाहुल्य भएकोले हुनसक्छ तेस्रो ठूलो भाषिक समूह नेवार पनि ती समुदायको भेषभुषाबाट प्रेरित देखिन्छ ।
हरिनासमा सम्पन्न भएको कार्यक्रमले दिएको सन्देशः
स्याङ्जाको हरिनास गाउँपालिकामा २०८१ माघ ५ गते शनिबार सम्पन्न भएको ’हाम्रो पहिचान, मौलिक संस्कृति र भाषाको पुनरूत्थान’ कार्यशाला गोष्ठीले स्याङ्जामा हराएको मातृभाषा, संस्कृति, मौलिक जीवनशैली तथा सम्पदा पुनर्जागरण गर्नुपर्ने सन्देश दिएको छ । हरिनास मानन्धर सांस्कृतिक संरक्षण समाजका कार्यबाहक अध्यक्ष अर्जुन बहादुर मानन्धरको सभाध्यक्षता, गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरको प्रमुख आतिथ्य र भेषराज मानन्धरको संयोजनमा गृहकोटमा सम्पन्न भएको कार्यक्रममा बौद्ध धर्मका अध्येता बसन्त महर्जन, ध्यान सम्बन्धिका प्रशिक्षक स्वहितवीर सिंह कंसाकार, पोखरा निवासी शिक्षासेवी सुन्दर मानन्धर तथा सञ्चारकर्मीको हैसियतमा म लगायतको हाम्राे समूहले फरक विषयमा कार्यपत्र प्रस्तुत ग¥यौं । स्थानिय स्याङ्जालीले घण्टौंसम्म संयमित भएर सुनेको कार्यक्रम, हरिनासमा हराएको अमूर्त सम्पदा संरक्षण हुनुपर्नेमा बुलन्द भएको आवाज र तत्पश्चात् केन्द्रीय मानन्धर संघले काठमाडौं महानगरपालिकासँग सहकार्य गरी तयार गरेको मातृभाषा पुनरुत्थान, बाजा प्रशिक्षण, मौलिक जीवनशैली र संस्कृतिको साक्षात्कारले हरिनासमा हराएको अमूर्त सम्पदा संरक्षण गर्नेमा कोशेढुङ्जा साबित गर्ने आधार तयार भएको छ । अरु सबै तपसिल ।









