Friday, October 24, 2025

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन


यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार किजापूजा गरिरहँदा भक्तपुरमा ५ गते बुधबार किजापूजा सम्पन्न गरे । साधारणतयाः नेपाल मण्डलको मुख्य भूमि उपत्यकाका तीन शहरका ज्योतिषी र दैवज्ञहरुको मत बाझिंदा (एकरुपता नहुँदा) सर्वसाधारण नागरिक तिथि बमोजिम संस्कृति मनाउन अलमलमा परेका छन् । नेपालका अधिकांस संस्कृति चन्द्रमान गणना हुने तिथिमा आधारित छन् । त्यस मध्ये खस समुदायले मनाउने हरितालिका तिज र ऋषिपञ्चमी, मधेशी समुदाय अन्तर्गत मैथिल भाषीहरुको प्राथमिकतामा पर्ने छठ पर्व र विवाह पञ्चमी, समग्र नेपालीहरुले मनाउने बडा दशैं, तिहार तथा अन्य मुख्यमुख्य चाडपर्व समेत तिथि बमोजिम मनाउँछन् । वैष्णव र शाक्त धर्म अंगाल्ने समुदायले श्रीस्वस्थानी ब्रतकथा समेत तिथि बमोजिम वाचन गर्दछन् । तिथिसँगै चाड र पर्व जोडिएको विषय गहन छ । त्यसो भएर पनि चाडपर्व मनाउनेमा एकैदिन दुईखाले तिथि सार्वजनिक हुनु जायज होइन । बिहान एउटा र मन्ध्यान्ह पश्चात् अर्कै तिथि हुँदा परम्परागत चाड मनाउनेमा समस्या देखिएको हो । त्यस्तै, लहरै मनाउनुपर्ने चाडको बीचमा तिथि टुट हुँदा पनि अलमल भएको देखिन्छ । साधारणतयाः भक्तपुरका स्थानिय बासिन्दाले ख्वप तलेजुका ज्योतिषी र दैवज्ञहरुले सार्वजनिक गर्ने तिथि बमोजिम चाड मनाउने चलन छ । ललितपुरमा क्वाःबहाः र काठमाडौंमा जनबहाःले सार्वजनिक गर्ने तिथिलाई आधार बनाएर चाड र पर्व मनाउँछन् । त्यसैले, यी तीन शहरका तीनवटै सरोकारवाला निकायले तिनैथरी तिथि सार्वजनिक गरे बमोजिम यो वर्ष तिहारको लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्नेमा सर्वसाधारण अलमलमा परेका हुन् । भक्तपुर नगरपालिकाको संयोजनमा स्थानिय ज्योतिषी र दैवज्ञहरु सम्मिलितको बैठकले यो वर्ष कात्तिक ३, ४ र ५ गते लहरै लक्ष्मीपूजा, म्हपूजा र किजापूजा गर्न अनुरोध गरे बमोजिम भक्तपुरका अधिकांस सर्वसाधारणले सोही बमोजिम स्वन्ति नखः मनाए । त्यस्तै ललितपुरबासीले कात्तिक ३ गते लक्ष्मीपूजा, ४ गते सुलं, ५ गते म्हपूजा र ६ गते किजापूजा गरे । यता काठमाडौंबासीले भने ४, ५ र ६ गते लहरै स्वन्ति मनाए । अझ अचम्मित तुल्याउने विषय के छ भने, नेपाल संवत् नयाँ वर्षलाई स्वागत गर्नको लागि आयोजना गर्ने न्हूदँया भिंतुना सांस्कृतिक ¥याली समेत दुई दिन छुट्टाछुट्टै दिन मनाए । नयाँ वर्षको स्वागत सूर्योदयसँगै एउटै समयमा हुनेपर्ने होला । तर भक्तपुरमा नेपाल संवत् नयाँ वर्षलाई यो वर्ष कात्तिक ४ गते स्वागत गरिरहँदा भक्तपुर बाहेक देशभर कात्तिक ५ गते नयाँ वर्षको स्वागतार्थ कार्यक्रम सम्पन्न भयो । त्यस्तै साँझ नयाँ वर्षलाई स्वागत गर्दै म्हपूजा गरे । तिथिसँग प्रत्यक्ष सम्बन्धित हाम्रो संस्कृतिमा यी तिनवटा निकायको आआफ्नै तरिकाले तिथि सम्बन्धिको अडान लिंदा समस्या भएको हो । परम्परागत मान्यतामा आधारित चाडपर्व मनाउने बखत तिथिमा थपघट नगरी बीचमा हुने टुटलाई समेत पन्छाएर र तिथि परिवर्तन हुने समय मध्यरातमा राखेर (अगाडि वा पछाडि समायोजन गरेर) वैज्ञानियक ढंगले हिसाब गर्नु जाजय छ । यसो भनिरहँदा हुने वा नहुने सम्बन्धित पक्षलाई अझ बढी ज्ञात होला । यसरी तिथिमा एकरुपता ल्याउने सके अहिलेको तिथिसँग जोडिएका हाम्रा परम्परागत मान्यतामा आधारित चाडपर्व मनाउने विषयमा देखिएको अलमलको समस्या समाधान हुने देखिन्छ । उसो त भाइटिका र किजापूजामा तात्विक भिन्नता नरहेपनि प्राथमिकीरणको दृष्टिले केही अन्तर छ । भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाउँछन् । राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गर्ने शुभसाइत कुरेर टिका लगाउँदा आयु, ऐश्वर्य र समृद्धिको कामना गर्दछन् । तर नेवार समुदायले साइत भन्दा पनि तिथिलाई आधार बनाउँछन् । सप्तरंगी टिका लगाउँदैनन् बरु दहि, ताय्, रातो अबिरमा चामल मिसाएको रातो टिका लगाउँछन् । मण्डला बनाएर किजापूजा गर्ने सन्दर्भमा देवता आह्वान गर्दै पन्चतत्वले बनेको शरिरसँग सगुन लिएर पूजा गर्दछन् । त्यसो भएर पनि साइत भन्दा तिथि प्राथमिकतामा पर्दछ । बिहान सूद्र्योदयसँगै जुन तिथि हुन्छ दिनभर सोही तिथिलाई आधार बनाएर चाड मनाउँदा यो समस्या हल हुने देखिन्छ । तर पछिल्लो समय यसमै समस्या छ । पहिला यस्ताखाले समस्या कम थियो । तर अहिले प्रत्येक वर्ष तिथि समस्याको कारणले पारिवारिक र टोलछिमेकमा बेमेलको अवस्था सिर्जना भएको देखिन्छ । झन् सामाजिक सञ्जालमा त आरोप प्रत्यारोप नै भएका छन् । सापारु, चथाः, म्हपूजा, किजापूजा, गुंपुन्हि, गथांमुगः, सिथिनखः लगायत आमसर्वसाधारण नागरिकका जीवनसँग प्रत्यक्ष सम्बन्धित यस्ताखाले चाडपर्व मनाउनेमा तिथिकै थपघटका कारण देखाएर अलमल भएको देखिन्छ । निर्दलीय शाहवंश र जहानीया राणा शासनकालमा दबाएको भएपनि नेपालमा बहुदलीय प्रजातन्त्र र गणतन्त्र बहालीसँगै नेपाल संवत् पुनर्जिवित हुने प्रयासमा छ । पुनः मौलिक आकार लिएर सम्पूर्ण समुदायको सर्वमान्य संवत् हुने तरखर गरिरहेको नेपाल संवत्लाई व्यवहारिक छैन भन्ने प्रमाणित गर्न संवत् विरोधीहरुले तिथिमा राजनीति गरिरहेका छन् । एक त तीन शहरमा वैचारिक एकता देखिंदैन त्यसमाथि सरकारी मान्यता प्राप्त राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यस्ता सांस्कृतिक विचलनलाई दुरुत्साहन गर्ने आधारमा देखिएको अलमल समाधान गर्नेमा कन्जुस्याइँ गरिरहेको छ । खगोल विज्ञानसँग सम्बन्धित यस्ता हिसाब सरोकारवालासँग आवश्यक सहकार्य, साहुती र विमर्श गरेर मिलाउनु अत्यावश्यक छ । विवादरहीत एकैखाले पात्रो प्रकाशन हुँदा न तिथिमा अलमल हुन्छ न त चाडपर्व मनाउनेमा । आमसर्वसाधारण नागरिकले आधार लिने भनेको सम्बन्धित पक्ष र पात्रो नै हो । त्यसैमा अलमल भएपछि सांस्कृतिक रूपमा विचलन आउने स्वभाविक छ । सभ्य समाजको विम्वको रुपमा रहेको संस्कृतिलाई नै प्रभावित गर्ने यस्ता नियोजित षड्यन्त्र नेपाल संवत्मार्फत भइरहेको दुर्भाग्यपूर्ण छ । (उल्लेखित विषय मेरो व्यक्तिगत विचार हो ।)


Friday, October 10, 2025

टेलिभिजनमा नेपालभाषा समाचार वाचकको रुपमा सबभन्दा बढी सेवा गर्ने केके मानन्धर

केके मानन्धर नेपालभाषा समाचार वाचकको रुपमा सबभन्दा बढी टेलिभिजनमा सेवा गर्ने नेपालकै पहिलो व्यक्ति हुन् । कृष्णकाजी मानन्धरको उपनाम केके मानन्धर हो । विद्युतीय सञ्चार माध्यम टेलिभिजनमा २०६३ देखि आजको दिनसम्म सक्रिय रुपमा लाग्नु भएको छ । नेपालकै पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनबाट नेपालभाषामा समाचार वाचन सुरु गरेका उहाँले २०६४ देखि निरन्तर नेपालभाषाको माध्यमबाट समाचार वाचन गर्नुभएको छ । हाल उहाँ ईमेज च्यानल टेलिभिजनमा आवद्ध हुनुहुन्छ । उहाँले टेलिभिजनमा समाचार वाचन गरेको समय गणना गर्दा १८ वर्ष पूरा भएर १९ वर्ष लागेको छ । २०६० साल व्याचमा रत्न राज्यलक्ष्मी कलेजमा मानविकीतर्फ स्नातक तह नेपालभाषा साहित्य इतिहास तथा नेपाली पत्रकारिता विषयको अध्ययन पश्चात् आंशिक रुपमा पत्रकारिता सुरु गरेका उहाँ २०६३ देखि सक्रिय रुपमा टेलिभिजन पत्रकारितामा छन् । १९ वर्षे सक्रिय पत्रकारिता अवधिमा उहाँले स्नातकोत्तर तह (मास्टर्स ईन् मास कम्युनिकेसन एण्ड जर्नालिज्म) अध्ययन पूरा गरेर केही समय लहना साप्ताहिक पत्रिकामा प्रधान सम्पादकको रुपमा समेत काम गर्नुभएको थियो । उहाँ मध्यपुर थिमिबाट प्रकाशन हुँदै आएको थेम्मृङ मासिक पत्रिकाका निर्देशक हुन् । केके मानन्धरले ८ वर्षसम्म ख्वप कलेजमा मानविकीतर्फ स्नातक तह (बिए) अध्ययनरत विद्यार्थीहरुलाई पत्रकारिता अध्यापन गराउनु भएको छ । उहाँले ३ वर्ष विनायक शिक्षा निकेतन माध्यमिक विद्यालय (भिएस निकेतन)मा पनि प्लसटुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन गराउनुभएको छ । उहाँले आदर्श माध्यमिक विद्यालय लायकू थिमिमा ४ वर्ष कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई नेपालभाषा अध्यापन गराउनुभएको थियो । यसअघि ललितपुरका सुलिन्द्र शाक्यले टेलिभिजन दुनियाँकै सबभन्दा पहिले २०६० सालमा नेपालभाषाको समाचार वाचन गर्नुभएको थियो । मेट्रो च्यानल (अहिलेको ईमेज च्यानल टेलिभिजन) मा शाक्यसँग सुमिका बज्राचार्य र नरेन्द्र मानन्धर हुनुहुन्थ्यो । सम्भवतः धेरै समयावधिको लागि टेलिभिजनमा नेपालभाषाको समाचार वाचन गर्ने दोस्रो व्यक्ति रोजिन शाक्य हुन् । उहाँले २०६५ देखि आजको दिनसम्म अर्थात् १७ वर्ष समाचार वाचन गर्नुभएको छ । मेनस्ट्रीम टेलिभिजनमा नेपालभाषा समाचार वाचन गर्नेहरुमा राजु नापित, श्रीस्ना स्थापित, विराजकाजी राजोपाध्याय, सुमिका बज्राचार्य, विकास माली, सकुन्तला महर्जन, रिचा रंजितकार लगायतका छन् । केबल टेलिभिजनतर्फ सुशील शाही, मिना बज्राचार्य, सागर महर्जन लगायतका छन् । उल्लेखित नामहरुमा केही समाचार वाचकको नाम छुटेको हुनसक्छ । कृपया मलाई उपलब्ध गराउनुहोला । नाम उपलब्ध भए पश्चात् पुनः अद्यावधि गर्नेछु ।

Note: टेलिभिजनमा नेपालभाषा समाचार वाचकको रुपमा सबभन्दा बढी सेवा गर्ने केके मानन्धरको रुपमा मैले दाबी प्रस्तुत गरेको छु । यसमा फरक मत भए पुनर्दाबी प्रस्तुत गर्नुहोला ।

सञ्चारकर्मी केके मानन्धरको थप विवरणः

Experience :

# Related with Image Channel Television till now.

# News Anchor, Reporter and Program Producer/Director in Sagarmatha Television, Nepal's First News Channel. (2064-2070 B.S.)

# Editor in chief at LAHANA WEEKLY Newspaper

# News Anchor for Image Channel Television now (Part time job)

# MC in different formal National Programs

# Published feature news articals in magazine and news papers

# Teaching in Adarsha Higher SS for 9 and 10 (4 years)

# Edited in different magazines/Bulletins

#  Participation in different social activities

# Direction of IFA Film awarded Indigenous Documentary 'Gwaymaru' 

# Direction of Eco-san Water filter Documentary, A Short film (Tikapur, Kailali district)

# Art Direction and Screen play in Nepali Historical Movie "KIRTIPUR the legend of Kirtilakshmy" movie based on War of Kirtipur where Late King of Gorkha, Prithvi Narayan Shah attacked during his Nepal making mission.

# 10 years teaching experience for Computer application (2057-2067 B.S.)

# Instructor for MC, Public Speaking, Leadership Workshop, Journalism

Educational Credentials:

# MAMCJ, Polygon College, Ktm. Masters of Arts in Mass Communication and Journalism     (PU-Board, 2011 batch)

# BA, From Ratna Rajya Laxmi College, Kathmandu (TU) 2063 BS

# IA, From Tribhuvan University, Kathmandu 2060 BS

# SLC from Adarsha Secondary School, Thimi, Board HMG, 2054 BS

 

 













 

 


Monday, September 1, 2025

विरेन्द्रभक्त गजू श्रेष्ठले चौंथो पटक जिब्रो छेडाउँदै



– भदौ २०८२ । केके मानन्धर ।

यो वर्ष आउँदो भदौ २२ गते आइतबार विरेन्द्रभक्त गजू श्रेष्ठले चौंथो पटक जिब्रो छेडने भएका छन् । मध्यपुर थिमि वडा नं. ४ (क्वलाखु) बालकुमारी निवासी श्रेष्ठ ‘येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा’मा जिब्रो छेडाउन तयार भएका हुन् । प्राविधिक कारणले बन्द भएको संस्कृतिलाई दसकौं पश्चात् पुनर्जिवित गराउँदै उहाँले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका थिए । त्यसपछि २०७९ र २०८१ मा पनि जिब्रो छेडाउनुभयो । यो वर्ष थिमिको दिगुटोलस्थित प्रचण्ड भैरव अघिल्तिरको डबलीमा उहाँले जिब्रो छेडाउने मिति र तत् पश्चात् परिक्रमा गरिने रुट समेत सार्वजनिक भएको छ । यो वर्ष जिब्रो छेडाएर भ्ये बोकेर खाली खुट्टा हिंडेरै भक्तपुर नगरको नवदुर्गा र दत्तात्रय दर्शन गर्न जाने निश्चित भएको छ । थिमि नगरदेखि करिव १० किलोमिटरको दूरीलाई दिगुटोलबाट सुरु गरेर बालकुमारी मन्दिर पुगेर सम्पन्न गराउने ढंगले तयारी थालेको बताइएको छ । जिब्रो छेड्ने श्रेष्ठसँगै सयौं दर्शनार्थी हिंड्ने रुट तपसिल रहेको छ । १. दिगुटोल २. बालकुमारी मन्दिर ३. तछुटोल (गांतले) ४. बिष्णुबिर मन्दिर ५. यमाटोल ६. मरुटोल ७. शंखधर चोक थिमि ८. दक्षिण बाराही मन्दिर (क्वाछेँ) सोही रुट भएर शंखधर चोक थिमि ९. ताकुबा हुँदै राधेराधे १०. सल्लाघारी ११. चोङा गणेश १२. सिद्ध पोखरी १३. नःपुखू १४. दरबार स्क्वायर १५. न्यातापौ देगः (तःमारी) १६. सुकुलढोका १७. दत्तात्रय मन्दिर (तचपाः) १८. क्वाठण्डौं १९. नवदुर्गा मन्दिर (द्यःछेँ) २०. साःक्वलान हुँदै न्यातापौ देगः (तःमारी) फिर्ता २१. बंशगोपाल २२. सिद्ध पोखरी २३. चोङा गणेश २४. निकोसेरा २५. नगरपालिका चोक २६. पाटी बिहार २७. गुङ्गः चिवाः २८. भिमसेन चोक २९. गणेश स्कूल हुँदै नगदेश ३०. सिद्दी गणेश मन्दिर ३१. गार्चा चोक ३२. सिद्धिकाली चोक ३३. सिद्धिकाली मन्दिर ३४. भुलांख्यः ३५. चोदे टोल ३६. निगूपुखू ३७. (क्वलाखु) बालकुमारी मन्दिर । 



नेपाल संवत् तिथि बमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौंको संख्यामा उपस्थित भीडभाडकाबीचमा कर्मी नाइकेले करिव १० इन्च लामो सुइरोले विरेन्द्रभक्त गजू श्रेष्ठको जिब्रो छेडाउने छन् । काठमाडौं उपत्यका तथा छेउछाउका जिल्लाहरुमा येँयाः अर्थात् इन्द्रजात्रालाई आआफ्नै ढंगले मनाउने प्रचलन रहेको पाइन्छ । राजधानी काठमाडौंमा जिवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा भइरहँदा भक्तपुर जिल्लाको मध्यपुर थिमि वडा नं. ४ र ५ मा जिब्रो छेड्ने जात्रा हुन्छ । इन्द्रजात्राको उपलक्ष्यमा हुने जिब्रो छेड्ने जात्राको लागि आवश्यक तयारी सुरु भइसकेको छ । भदौ २२ गते हुने जात्राको लागि करिव एक महिना अघिदेखि सुइरो बनाउने कौनायः (नकर्मीका नाइके)को घरमा जिब्रो छेड्ने सुइरो तयार गर्नको लागि निश्चित गर्नजाने परम्परा तथा एक हप्ता अघि द्यःदुसालेगु (देवता आह्वान गर्ने) परम्परा समेत सकिएको छ ।

जात्राको साँझ नगरभित्रका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेर करिव ८ बजे दिगुटोल पुगेका उहाँलाई दुई जना सहायकमार्फत भैरव मन्दिर फर्काएर डबलीमा चढाइन्छ । त्यसपछि शुद्ध तोरीको तेलमा डुबाइ राखिएको फलामको सुइरोले जिब्रो छेडिन्छ ।



नायः पःमां (तत्कालिन थिमि दरबारका प्रमुख प्रशासक)को उपस्थितिमा श्रेष्ठले जिब्रो छेडाएसँगै भ्ये (महादीप)लाई काँघमा बोकेर उहाँ यो वर्ष हिँडेरै भक्तपुर नगरमा अवस्थित नगदुर्गा तथा दत्तात्रय दर्शन गर्नजाने भएका छन् । सो ठाउँमा स्थानिय साःक्वालन टोलका मानन्धर समुदायले श्रेष्ठलाई स्वागत गर्दै तेल थपिदिने विषय पनि टुङिगएको छ । उहाँसँगै सयौंको संख्यामा संस्कृतिप्रेमीहरु भक्तपुर पुग्नेछन् । खाली खुट्टा सेतो जामा लगाएर नगर परिक्रमा गर्ने उहाँसँगै ‘ताकुं भ्येः ख्वाःमस्यूसें भ्वय् नये’ भन्दै स्थानिय युवाहरु पनि सहभागी हुनेछन् । कतिपयले धिमे बाजाको तालमा भुस्याः बजाएर नगर परिक्रमा गर्नेछन् । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार यसअघि बोदे, नगदेश, टिगनी, नीलबाराही, भक्तपुरको चाँगुनारायण तथा काठमाडौंको पशुपतिनाथसम्म पनि परिक्रमा गरेको इतिहास छ । 

ऐतिहासिक पक्षः

काठमाडौंमा कुमारी, भैरव र गणेशको रथ तानेर इन्द्रजात्रा मनाइ रहँदा थिमिमा भने जिब्रो छेडाएर जात्रा मनाइन्छ । प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने परम्परा भएपनि विगत केहि दशक यता आर्थिक तथा प्राविधिक कारणले यो जात्रा बन्द हुने र पुनः सन्चालनमा आउने क्रम जोडिएको छ । विरेन्द्रभक्त गजू श्रेष्ठले जिब्रो छेडाउनु अघि २०५०, २०५७ र २०६३ मा जिब्रो छेडाएको थियो । २०५० देखि ०६३ सम्म तीन पटक कृष्ण नानिचा श्रेष्ठले संस्कृति संरक्षणमा योगदान दिएको देखिन्छ । त्यसपश्चात् अर्थात् २०७४ यता चोदे टोलका बालकराम नानिचा श्रेष्ठले पनि दुई पटक जिब्रो छेडाएका छन् । 

‘यो जात्राको आधिकारिक अभिलेख भेटिएको छैन । तर पनि बालकुमारी मन्दिरमा अवस्थित सुइरोको संख्यालाई हेरेर आंकलन गर्दा करिव साढे तीन सय वर्ष अघिदेखि शुरु भएको अनुमान लगाउन सकिन्छ ।’ स्थानिय पूजा गुठीका प्रदीप जामनः श्रेष्ठले बताए । जिब्रो छेडाउने व्यक्तिलाई नगर परिक्रमा गराए पश्चात् सोही मन्दिरभित्रको थाममा सुइरो चढाउनुपर्ने हुन्छ । अहिले पनि थाममा कम्तीमा ३५५ वटा सुइरोलाई टाँगिएका छन् । कतिपय अवस्थामा एकै वर्ष सात जनाले पनि जिब्रो छेडेको र धेरैवर्ष बन्द हुने क्रमसँगै थिमिमा जिब्रो छेड्ने जात्राको ऐतिहासिक पक्षको यकिन आंकलन भने गर्न सकिएको छैन ।

जबकी यो जात्रासँग किंवदन्ती भने जोडिएको छ । जनश्रुती अनुसार नगरभित्रका भूतप्रेत तथा ख्याकलाई भगाउन शाहसीक व्यक्ति छनोट गरी जिब्रो छेड्ने चलन शुरुआत गरिएको थियो । जिब्रो छेड्ने व्यक्तिसँग यांमता (लामो बाँसमा कपडाले बेरेर तोरीको तेल राखेर बाल्ने आकास दीप) सहभागी गराउने कथन पनि करिव उस्तै छ । नगरस्थित घरको छानो, अँध्यारो ठाउँ तथा कुनाकाप्चामा लुकेर बसेका ख्याकलाई आगोले पोलेर भगाउनको लागि यांमता प्रयोग हुने बताइन्छ ।



तर वैज्ञानिक तर्क भने अलिक फरक हुनसक्छ । तत्कालिन अवस्थामा बिजुली बत्ती विकास भएको थिएन । जात्रालुलाई बाटो देखाउन यांमता सहभागी गराइएको तर्क तुलनात्मक बढी सहि होला ।

जात्रामा श्रेष्ठ समुदायको नायः पःमां, कःमि नायः तथा अन्य पदवीले थिमिको जिब्रो छेड्ने जात्रा मल्लकालीन परम्परासँग सम्बन्धित भएको दर्शाउँछ । जबकि यसको आधिकारीक अभिलेखले यसलाई थप पुष्टि गर्दै जाला अथवा भनौं यसको विषयमा विस्तृत अध्ययन जरुरी छ ।

पूजाविधिः

जिब्रो छेड्ने जात्राको लागि श्रेष्ठ समुदायभित्रको जामनः थरकाले पूजाविधि चलाउनुपर्ने प्रावधान छ । आठ दिन अघि ‘द्यः दुसालेगु’ भन्दै बालकुमारी पीठमा एघार वटा किसली (माटोको प्यालामा चामल, सुपारी र सिक्का राखिएको)सँग बलिपूजा गरी साधना गर्नुपर्ने हुन्छ । त्यस्तै इन्द्रजात्राको दिन पनि सोही पीठमा छ्वय्ला ब्वः गरी भोज आयोजना गर्नुपर्ने हुन्छ ।

भाद्र शुक्ल पूर्णिमाको दिन जामा लगाएर बालकुमारीमा पूजा जानुपर्ने चलन छ । त्यसदिन जिब्रो छेड्ने व्यक्ति मौन ब्रत बसेको हुन्छ । जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि प्रचण्ड भैरवसम्मका फरक पीठ र मन्दिरमा पुगेर दीप प्रज्वलन गरेको हुन्छ ।



पूर्णिमाको राती जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गरेपछि अन्तमा बालकुमारी मन्दिरमा पुगेर कःमि नायःले सुइरो निकाले पश्चात् नित्यनाथ परिसरको माटो जिब्रोमा लगाइदिएको हुन्छ । त्यसलगतै सगुन लिएर भोज खुवाउने चलन छ भने भोलिपल्ट बिहान बालकुमारीमा नातु पूजा भनी देवता पु¥याउन जाने अर्थात विसर्जन पूूजा गर्नुपर्ने प्रावधान छ ।

जिब्रो छेड्ने जात्रासँग बसन्तपुर दरबारको सम्बन्धः

यो जात्राको सम्बन्ध प्रत्यक्ष रुपमा काठमाडौंको बसन्तपुर दरबार र इन्द्रजात्रासँग जोडिएको छ । पूर्णिमाको चार दिन अघि नायः पःमांको नेतृत्वमा बाजागाजासहित हनुमानढोका दरबारबाट राजखड्गलाई थिमि नगरमा भित्र्र्याइन्छ । राजकीय सम्मान दिएर दरबारको राजखड्गलाई थिमि नगरमा प्रवेश गराइनुले थिमिको जिब्रो छेड्ने जात्रा र बसन्तपुर दरबारसँगको सम्बन्धलाई दर्शाउँछ । पूर्णिमाको चार दिन अघि नगर प्रवेश गराइने राजखड्गलाई जिब्रो छेड्ने समयमा दिगुटोलको डबलीमा सहभागी गराइन्छ ।



ऐतिहासिक र समावेशी संस्कृतिः

ऐतिहासिक र समावेशी संस्कृतिको पहिचान बनाएको मध्यपुर थिमिको जिब्रो छेड्ने परम्परालाई जगेर्ना गर्न २०७४ सालमा चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा व्यवस्थापन समिति बनाइएको छ । त्यस्तै चोदे टोलले पनि जात्रा आयोजना गरेको सन्दर्भमा श्यामहरि धनके श्रेष्ठको संयोजनमा ‘येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा व्यवस्थापन समिति’ बनाइएको छ । १५ सदस्यीय समितिले जात्राको लागि आवश्यक पूजा सामग्रीको जोहो गर्नेदेखि आर्थिक प्रबन्ध मिलाउने, स्वयंसेवी परिचालन र जात्रामा सहभागी हुने फरक समुदायसँग समन्वय गर्ने जिम्मेवारी पाएको छ ।

जात्राको लागि आवश्यक पूजाविधि गर्ने र जिब्रो छेड्ने व्यक्ति भने श्रेष्ठ समुदायबाट छनोट गर्नुपर्ने प्रावधान छ । त्यस्तै जात्रामा यांमतालाई सहभागि गराउनेमा मानन्धर समुदायले जिम्मेवारी पाएको हुन्छ । चोदे टोलको (थातु साः) मानन्धर युवा समूह र सिवा टोलको (क्वथुसाः) सिवा साय्मि खलःबाट जात्रामा दुई वटा यांमतालाई सहभागी गराइन्छ । थातुसाःको टोलीले लामो बाँसमा कपडाले बेरेर त्रिशूल आकारमा बनाइएको यांमतालाई जिब्रो छेड्ने व्यक्तिको अघिअघि सहभागी गराउँदा क्वथुसाःको टोली जात्रालुको पछिल्तिर सहभागी हुन्छन् ।



त्यस्तै, पूर्णिमाको चार दिन अघि बसन्तपुर दरबारबाट राज खड्गलाई नगर प्रवेश गराउँदा कपाली समुदायले म्वाय्लि बाजा बजाउनु पर्ने प्रावधान छ । सुइरो बनाउने जिम्मेवारी भने नकर्मी समुदायको हुन्छ । जिब्रो छेड्ने व्यक्तिले बोकेको भ्ये (महादीप)लाई कुटु (प्रजापति) समुदायले लानुपर्ने बताइन्छ ।

जात्रामा नेवारभित्रका श्रेष्ठ, मानन्धर, नकर्मी, कपाली, कुटु, भासिमां (प्रजापति)हरुको सहभागिता, जिम्मेवारी र भूमिकाले थिमिको जिब्रो छेड्ने जात्रा समावेशी चरित्रको रहेको पुष्टयाउँछ । संस्कृतिले समुदायबीचको एकतालाई प्रदर्शन गर्ने भएर पनि यस्ता संस्कृति संरक्षण गर्नु आवश्यक छ । यस्ताखाले संस्कृतिले एक त सांस्कृतिक पहिचान दर्शाउँछ भने अर्कोतर्फ राजनीतिक, आर्थिक तथा अन्य तबरले फरक क्षेत्रका व्यक्तिलाई एकै थलोमा ल्याएर सहकार्य गर्ने÷गराउने अवसर दिलाउँछ ।

Photo courtesy: Social media/facebook

For videos click this youtube link: 


More Photos:





































तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...