Friday, September 13, 2024

ईन्द्रजात्रामा भैरवकाे सन्दर्भ

 

PC: Sunil/12khari

किंवदन्तीलाई पत्याउने हाे भने ईन्द्रजात्रासँग स्वर्गलाेकका महाराज ईन्द्रकाे प्रत्यक्ष सम्बन्ध जाेडिएकाे छ । स्वर्गलाेकबाट मर्त्यलाेकमा पुगेर फूल चाेरेकाे, चाेरलाई समातेर बाँधेकाे, सेताे हात्ती (ऐरावत किसि)सहित फूल चाेरेका ईन्द्रलाई खाेज्न ईन्द्रकी अामा भाैंतारिएकाे, फूल चाेरलाई सजाय दिन बाँधेकै ठाउँमा पाताल लाेकबाट मूपात्र अाएकाे जस्ता सबैसबै सन्दर्भ काठमाडौं र भक्तपुर जिल्लाका विभिन्न ठाउँमा मनाइने ईन्द्रजात्रामा देख्न पाइन्छ । आठदिन मनाइने ईन्द्रजात्राकाे बखत टाेलटाेलमा काठकाे खम्बामा यमद्यः उभ्याइन्छ । यमद्यः नै ईन्द्र महाराज रहेकाे एकथरीकाे बुझाइ छ । नेपाल संवत् तिथि बमाेजिम प्रत्येक वर्ष ञलाथ्व पुन्हि/पूर्णिमामा मनाइने यमद्यः जात्राबाट येँयाः पुन्हि, येन्या पुन्हि, यल पुन्हि, यलचा पुन्हि हुनपुगेको बुझ्न गाह्राे छैन । येँकाे अर्थ काठमाडौं र याःकाे अर्थ जात्रा भएकाे सन्दर्भसँग अगाडिकाे तर्क बाझिन सक्छ । ईन्द्रजात्रालाई काठमाडौं उपत्यकाका तीन शहर, नजिककाे जिल्ला काभ्रे र दाेलखामा पनि मनाउँछन् । अहिले ईन्द्रजात्रा अन्तर्राष्ट्रियकरण भइसकेको छ ।

तर, 

PC: Google

ईन्द्रजात्रामा यमद्यः अर्थात् ईन्द्रकाे मात्र प्रसङ्ग जाेडेर वर्णन गर्दा काठमाडौं उपत्यकाको प्रसिद्ध ईन्द्रजात्राकाे महिमा पूर्ण नहुन सक्छ । किनभने ईन्द्रजात्रामा कुमारी, गणेश, लाखे, देवी तथा भैरवकाे पनि उत्तिकै प्रसङ्ग जाेडिन्छ । रह्याे भैरवकाे कुराे,

११ विभिन्न ठाउँमा एघारै थरीका भैरव अवस्थित छन् । ती मध्ये श्वेत भैरव, बाघभैरव, पचलि भैरव, कालभैरव, अाकाश भैरव, अानन्द भैरव, वटुक भैरव, त्याङ्ग्रा भैरव, ह्यंग्रीव भैरव, अष्ट महाभैरव तथा बाका देय् भैरव । ती मध्ये अधिकांश भैरवकाे स्वरूपमा टाउकाे मात्र रहेकाे छ । अझ भनाैं, ईन्द्रजात्राकाे बखत वंगः (ईन्द्रचाेक) मा प्रदर्शन गरिने अाकाश भैरव, बसन्तपुरकाे हनुमानढोका दरबार अगाडिकाे श्वेत भैरव (जहाँ हाथु हायेकेगु/जाँडलाई घ्याम्पाेसँग पाइपमा जाेडेर खुवाइन्छ) र वंतु टाेलकाे बाका देय् भैरव (बाका देय् आजु)काे विशाल स्वरूपकाे टाउकाे मात्र पाउँछाैं ।

अब,

PC: Google

१) आकाश भैरवलाई नेपाल वायु सेवा निगमले अाफ्नाे विमान कम्पनीकाे लाेगाे नै बनाएकाे छ । कम्पनीको लाेगाे आकाश भैरव बनाएकै कारणले विमानमा बलीपूजा हुन्छ ।

२) ईन्द्रजात्रामा विभिन्न ठाउँमा प्रदर्शन गरिने भैरवलाई कतिले किराँती राजा यलम्बर भनेका छन् । त्यस्तै धेरैले बर्बरिक भनेका छन् ।

३) ईन्द्रजात्राकै बखत भैरवकाे टाउकाे मात्रकाे स्वरूप शंखरापुर (साँखु/सक्व), मध्यपुर, कीर्तिपुर लगायतको ठाउँमा प्रदर्शन गरिन्छ ।

४) आध्यात्मिक दृष्टिले भैरवलाई धेरैले भगवान, थाेरैले दानव (पिचास) र बाँकीले मानवकाे रूपमा बुझ्छन् । कतिले देवादिदेव महादेवकै उग्र रूप भैरव हाे भन्छन् । त्यहि भएर हामी वरपर धूपकाे बास्ना आउँदा देवता भ्रमण गरेकाे र मसान बास्ना आउँदा कि पिचास कि त भैरवकाे भ्रमण भएकाे रूपमा बुझ्छाैं । 

यहाँ, 

स्कन्दपुराणमा उल्लेख भएकाे बर्बरिक र ईन्द्रजात्रामा प्रदर्शन गरिने भैरवकाे किंवदन्ती उस्ताउस्तै देखिन्छ । 

बर्बरिक काे हुन् ?

PC: Google


महाभारतको युद्ध लड्न तयार भएका शाहसिक याेद्धा बर्बरिक हुन् । उनी पाँच पाण्डवका माइला भाइ भिमसेनका नाती एवम् घटोटकचका छोरा थिए । बाल्यकालदेखि नै बलवान एवम् बुद्धिमान बर्बरिकको लालनपालन एवम् शिक्षादिक्षाको अभिभारा उनकी आमा मौरवी (अहिलवती) तथा हजुरआमा हिडिम्बाले गरेको पाइन्छ । हिडिम्बा भिमसेनकी श्रीमती हुन् ।

भैरवकाे टाउकाे मात्र हुनुकाे रहस्य ?

PC: AP

आकाश भैरव स्वयम् किराँती राजा यलम्बर हुन् । यलम्बर र बर्बरिक एउटै भन्नेहरू पनि छन् । पौराणिक कथा अनुसार यलम्बरले पूर्वमा तीस्ता नदी र पश्चिममा त्रिशुलीसम्म फैलिएको देश बनाएको थियो । उनले तान्त्रिक पूजाद्वारा शक्ति प्राप्त गरेको विश्वास गरिन्छ । महाभारतको युद्धमा पराजित हुने पक्षलाई सहयोग गर्न उनी युद्धको मैदानमा हाेमिन गएका थिए । जब भगवान श्रीकृष्णले यो कुरा थाहा पाए, उनले यलम्बरको क्षमता परीक्षण गरे । श्रीकृष्णकाे परीक्षामा उत्तीर्ण भएका यलम्बरले काैरव पक्षलाई साथ दिने सम्भावना भएपछि छल गरेर टाउकाे छेदन गरेकाे उल्लेख छ । साेही टाउकाे आकाशबाट काठमाडौं आइपुगेको मानिन्छ । त्यसैले यलम्बरलाई बर्बरिक वा भैरवकाे रूपमा बुझेकाे हुनाले ईन्द्रजात्राकाे बखत प्रदर्शन गरिने भैरवकाे टाउकाे मात्र हुने गरेकाे छ । आकाश मार्ग भएर काठमाडौं आएकाे भैरव भएकोले आकाश भैरव नाम दिइएको एकथरीकाे भनाइ छ । आकाश भैरवलाई रैथाने ज्यापु समुदायले ईन्द्रजात्रामा प्रदर्शन गर्छन् ।

त्यस्तै,

PC: Facebook


ईन्द्रजात्राकै बखत ईन्द्रचाेक भन्दा अलिक भित्रकाे टाेल वंतुमा मानन्धर समुदायले बाका भैरव प्रदर्शन गर्छन् । उहिले बाका भैरवले तत्कालीन येँ देश (काठमाडौं)को आधा भूभाग जितेका थिए । बछि र बाखा भैरव शब्द अपभ्रंस भएर बाका भैरव हुनपुगेको भनिन्छ । बछिको अर्थ स्थानिय भाषामा आधा भन्ने हुन्छ । यो आधारले उहिले आधा देश जितेका भैरव भएकोले बाका भैरव भनिएको हाे । परम्पराकै आधारमा ईन्द्रजात्राको एकदिन अगाडि बाका भैरव प्रर्दशन गरेर जात्रा सकिएको भोलीपल्ट भित्र्याउने चलन रहेको छ । आकाश भैरव र बाका भैरवलाई दाजुभाइकाे रूपमा उल्लेख गरिएको छ ।

आजु द्यःकाे अर्थ के हाे ?

आकाश भैरवलाई ज्यापु समुदाय (महर्जन र डंगाेल)ले आजु द्यःकाे रूपमा पुज्छन् । बाका भैरवलाई साय्‌मि समुदाय (मानन्धर)ले आजु द्यः मान्छन् । आजुकाे अर्थ नेपालभाषामा बाजेपूर्खा र द्यःकाे अर्थ देवता भन्ने हुन्छ । त्यसाे भएर आकाश भैरव र बाका भैरवलाई बाजेपूर्खा मान्नेहरूले आजकाे दिनसम्म पनि ईन्द्रजात्रामा टाउकाे मात्र स्वरूपकाे भैरव प्रदर्शन गर्ने जिम्मेवारी पाएका छन् ।

(नाेट: कुमारीसँग शाक्य समुदायकाे, दसअवतार नाच र बाजागाजासँग खड्गी समुदायकाे, हलचाेक भैरवसँग पुतुवार, मजिपाः लाखेसँग रंजितकार र अन्य थुप्रै नाचसँग साेही बमाेजिमका समुदायकाे भूमिका रहेकाे छ । समावेशी ढंगले सञ्चालन हुने ईन्द्रजात्राकाे पृथक महत्त्व छ ।)

(लेखक केके मानन्धर, ईमेज च्यानल टेलिभिजनसँग आवद्ध रहेका सञ्चारकर्मी तथा ख्वप कलेजमा पत्रकारिता अध्यापन गराउने उपप्राध्यापक हुन् ।)









तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...