Thursday, October 10, 2024

बडा दशैंमा नेवार समुदायकाे कालाे टीकाकाे कुराे ।


नेवार समुदायले बडा दशैंलाई पृथक ढंगले माेहनि नखः (चाड)काे रूपमा मनाउँछन् । याे चाडमा कालाे टीकाकाे विशेष महत्त्व छ । ताेरीकाे तेल राखिएको पालामा दियाे बालेर माटाेकाे सलि (माटाेकाे प्याला) घाेप्ट्याएर कालाे टीका अर्थात माेहनि सिन्हः तयार गरिन्छ । असत्यमाथि सत्यले विजय प्राप्त गरेकाे प्रतीक स्वरूप माेहनि सिन्हः अनिवार्य लगाउँछन् । विशेषगरी ढुकुटीमा तन्त्र साधना गरेर माेहनि सिन्हः तयार गरिन्थ्याे भन्नेछ । अाजकाल भने तन्त्र साधनाकाे सवाल विश्वासमा निर्भर रहने कुराे भयाे । त्यसाे भएर पनि अाम जनताकाे प्रत्येक घरमा हुने गाेप्य काेठा (ढुकुटी)मा मात्र माेहनि सिन्हः तयार गर्नुपर्छ भन्ने रहेन । 

टीकाकाे अाध्यात्मिक मान्यता:

मानव शरिरमा ७ वटा चक्र हुन्छन् । मानव शरिरकाे सबसे उच्च भाग अर्थात टुप्पी उम्रिने ठाउँमा अवस्थित सहस्रार चक्रदेखि ज्ञान चक्र, विशुद्ध चक्र, अनाहत चक्र, मणिपुर चक्र, स्वाधिस्ठान चक्र र मूलाधार चक्र यिनका उदाहरण हुन् । त्यसमध्ये ज्ञान चक्रलाई छाेपिने गरि टीका चलाउनुपर्ने मान्यता रहेकाे छ । दुई अाँखाबीचकाे भाग अर्थात निधारमा ज्ञान चक्र रहेकाे आध्यात्मिक मान्यता छ । त्यसाेभएर ज्ञान चक्र छाेपिने गरि टीका लगाउँछन् । कुतत्व, नकारात्मक ऊर्जा तथा खराव शक्ति ती ७ वटा चक्रमार्फत शरिरभित्र प्रवेश गर्नसक्ने भएर ती सम्पूर्ण चक्र अवस्थित भागलाई छाेप्नुपर्ने मान्यता रहेकाे छ । त्यसैले अनुहारकाे भागमा रहेकाे निधार छाेप्नकाे लागि टीका लगाउने परम्परा सुरू भएको विश्वास गरिन्छ ।

नेवार समुदायमा शिशुलाई घरबाट बाहिर लाने बखत अामाकाे पाईतालाकाे धुलाे निकालेर टीका लगाउने परम्परा छ । यसकाे अर्थ पनि नकारात्मक वायु, ऊर्जा, शक्तिले शिशुलाई प्रभावित नगराेस् भन्ने मान्यता हाे । शरिरमा रहेका ७ वटा चक्र मध्ये अधिकांस लुगा र टाेपीले छाेपिए पनि ज्ञान चक्र रहेकाे भाग खुल्ला रहने (अनुहारमा भएकोले) भएर साे भागलाई छाेप्न टीका लगाउने परम्पराकाे सुरूअात भएकाे हाे । अझ त्यसमाथि बालबालिकालाई निधारमा कालाे टीका लगाइदिनाले भूतप्रेत, पिशाचकाे प्रभाव नरहने विश्वास गरिन्छ । सम्भवतः ज्ञान चक्र छाेपिने गरि लगाउने कालाे टीका माेहनि सिन्हःकै निरन्तरता हाे ।

ऐतिहासिक विषय:

उहिले तीन शहरमा युद्ध चलिरहने भएकोले लाय्‌कू (दरबार)बाट उर्दी जारी भएसँगै अाम जनता युद्धमा हाेमिनुपर्ने प्रावधान थियाे (युद्धकाे लागि उद्याेगी, व्यवसायी, किसानहरू दाेस्राे प्राथमिकता पर्ने र श्रेष्ठ, जाेशी, प्रधान, मास्के लगायतकाे क्षेत्री समुदाय अनिवार्य जानुपर्नु थियाे) । त्यसाे भएर पनि प्रत्येक जनताकाे घरमा गाेप्य काेठा (ढुकुटी) हुन्थ्याे । साे काेठामा अनिवार्य रूपमा खड्ग, ढाल र अन्य हातहतियार हुन्थ्याे (अहिले त्याे अनिवार्य रहेन) । हातहतियारलाई पूजा गर्ने, वार्षिक रूपमा तयारी अवस्थाकाे रूजु गर्ने, तन्त्र साधना गर्ने र युद्धमा सामरिक दृष्टिले अाफ्नाे पल्लाभारी गरिरहन साेही बमाेजिमकाे गाेप्य तयारी रहन्थ्याे । त्याे तयारी ढुकुटीमा रहेकाे हुन्थ्याे । त्यहिभएर ढुकुटीमा जाेकाेहीलाई प्रवेश निषेध गरेकाे हुन्छ । एक त गाेप्य काेठा, त्यसमाथि तन्त्र साधना गरेर हातहतियार भण्डारण गरिएकाे ठाउँ भएकाेले यसकाे विशेषता नितान्त पृथक देखिन्छ । अझ विजयकाे प्रतीक स्वरूप लगाइदिने माेहनि सिन्हः (कालाे टीका) माेहनि चाडमा अनिवार्य लगाउनुपर्ने भएकोले कुनै न कुनै काेणले यिनिहरूकाे सम्बन्ध रहेकाे हुनुपर्छ ।

माेहनि सिन्हः लगाउने तरिका:

माेहनि चाडमा विशेष प्राथमिकता दिएर निधारमा माेहनि सिन्हःसँगै महिलाले शिरमा र पुरूषले दाहिने कानकाे चेपमा जमरा सिउरनुपर्ने मान्यता छ । हर्षउल्लासका साथ माेहनि सिन्हः अनिवार्य लगाएर मनाउने चाड भएरै माेहनि नखः हुनपुगेको कतिपयले तर्क गरेका छन् । भलै याे विषयमा थप अनुसन्धान आवश्यक छ ।

राताे टीकालाई समृद्धिकाे प्रतीक मानिन्छ । नेवार समुदायमध्ये कतिपयले निधारमा लगाउने भ्वइसिन्हः भन्दा ठीक माथिल्तिर माेहनि सिन्हः लगाउँछन् । कतिपयकाे सवालमा राताे टीकामाथि माेहनि सिन्हः लगाएको देखिन्छ । परिवारकाे जेष्ठ सदस्यबाट टीका थाप्ने यी दुईथरी चलन आआफ्नै मान्यतामा निर्भर छ । विशेषगरी चार वर्णमा विभाजित नेवार समुदायभित्र ब्राम्हण र क्षेत्री समूहले राताे टीका र बाँकी वैश्य र शुद्र समूहले भ्वइसिन्हः लगाउने प्रचलन देखिन्छ । बडा दशैंमा मान्यजनबाट कनिष्ठलाई टीका लगाइदिँदा दक्षिणा भने दिनुपर्दैन । 

चामललाई दहि र अबिरमा माेलेर तयार गरिने राताे टीका बडा दशैंमा निधारभर लगाउने परम्परा छ । दशैंकाे दसाैंदिन अर्थात विजया दसमीदेखि ठूलावडाकाे घरघरमै पुगेर टीका थाप्ने र दक्षिणा लिने चलन खसअार्य तथा सीमित जनजातिहरूकाे रहेपनि आदिवासी नेवारहरूकाे थिएन । तर अहिलेभने मान्यजनबाट टीकासँगै दक्षिणा थाप्ने नयाँ चलनले व्यापकता पाएकाे छ । (याे मेराे निजी विचार मात्र हाे ।)









तिथि विवाद के हो ? उपाय के छ ?


यो वर्ष पनि तिथिमा देखिएको थपघटले बडा दशैं मनाउनेमा सर्वसाधारण नागरिकहरु अलमलमा छन् । सार्वजनिक भएको पात्रोमा १७ गते बिहीबार असोज शुक्ल प्रतिपदा उल्लेख छ । सोही दिनलाई नेपाल सम्वत तिथि बमोजिम कौलाथ्व पारु उल्लेख गरी घटस्थापना गरिएको छ । त्यस्तै, असोज २० र २१ गतेलाई दुईदिन चतुर्थी तिथि उल्लेख गरी २६ गते शनिबार एकैदिन नवमी र दशमी देखाएको छ । यो आधारले नवमी टुट भएकोलाई सुधार गरी शनिबार नै दुईथरी तिथि उल्लेख गरेको देखिन्छ । बिहान नवमी र दिउँसोबाट विजया दशमी सुरु हुने पात्रोमा उल्लेख छ । सोही पात्रो बमोजिम यो वर्ष बडा दशैं मात्र होइन अब तिहार पनि उस्तै हुने देखिन्छ ।

नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने समुदायले बडा दशैंलाई आआफ्नै शैलीमा मनाउँछन् । त्यसमध्ये राजधानी काठमाडौंका रैथाने नेवार समुदायले बडा दशैंलाई मोहनि नखःको रुपमा मनाउँछन् । नेपाल सम्वतको तिथिलाई नै आधार बनाएर परम्परा धान्दै आएका नेवार समुदायबीच यो वर्ष तिथिमा देखिएको थपघटसँगै चोक, चिया पसल र सामाजिक सञ्जालमा तर्कवितर्क भएका छन् । कतिपय अवस्थामा विवाद समेत भएको उदाहरण छ ।
यो वर्ष भक्तपुर, ललितपुर र काभ्रेका नेवारहरु असोज २३ गते बुधबार फूलपाती, २४ बिहीबार महाअष्टमी (कूछिभ्वय्), २५ शुक्रबार स्याक्वत्याक्व (महानवमी) र २६ गते शनिबार चालं (विजया दशमी) मनाउने निष्कर्षमा पुगेका छन् । यता काठमाडौंमा भने २४, २५, २६ र २७ गते अर्थात् माथि उल्लेखित मिति भन्दा एकदिन पछि सोही क्रमिक गतिविधि गरि चाड मनाइरहेका छन् ।
अझ चाड मनाउन सर्कुलर जारी गर्ने निकाय ठाउँपिच्छे भएर पनि सर्वसाधारण नागरिकलाई यो वर्ष झन् अलमल बनाएको छ । चाड मनाउने तिथि र मितिको गणना तथा सार्वजनिकीकरण खगोल विज्ञानका ज्ञाताले गर्नुपर्ने हो । यसको सरासार सम्बन्ध ज्योतिषी र दैवज्ञहरुसँग रहन्छ । तर खगोल विज्ञानको ख समेत थाहा नभएका सर्वसाधारण नागरिक यो अवस्थामा तर्क वितर्क गरिरहेका छन् । कुन तिथिमा कुन चाड मनाउने भन्ने विषयको विवाद, तर्क र वितर्क सर्वसाधारण नागरिकले गर्ने नै होइन । यो त नितान्त प्राविधिक विषय भएकोले ज्योतिषी र दैवज्ञहरु नै घोत्लिनुको विकल्प छैन ।
त्यसो भएर तिथिमितिको दायरा र मापदण्ड बनाउनेदेखि सार्वजनिक गर्ने जिम्मेवारी ज्योतिषी र दैवज्ञको अधिकार क्षेत्रमा आउनुपर्छ । तर पछिल्लो समय अमुक संस्था, गुठी, नगरपालिकादेखि सामुदायिक समूहले समेत कागजको खोस्टोमा लेखेर फलानो मितिमा चाड मनाउनु, ढिस्काना थिति नै हुनुपर्छ जस्तो आसयको सर्कुलर गरेको देखिन्छ । यसरी टोलैपिच्छेका समूहले आआफ्नै तर्क प्रस्तुत गरी चाड मनाउन गरिएको आग्रहले समुदायभित्र झन् विभाजन ल्याएको छ । संस्कृतिलाई समुदाय जोड्ने सेतुको रुपमा व्याख्या गरिन्छ तर तिथिकै कारणले संस्कृति मनाउनेमा विचलन आएसँगै सैद्धान्तिक पक्षलाई समेत चुनौती दिएको छ ।
धेरै पहिलेदेखि काठमाडौंको लागि जनबहाल, स्वयम्भू र विजेश्वरी, ललितपुरको लागि हिरण्यवर्ण महाविहार (क्वाःबहाः), भक्तपुरको लागि तलेजु, काभ्रेको लागि नमोबुद्ध र साँखुको लागि बज्रयोगिनीले समन्वय गरी चाड मनाउने तिथि सार्वजनिक गर्दै आएका छन् । तर बिडम्बना यी निकाय एकअर्कासँग फरक मत राखेर तिथि सार्वजनिक गर्छन् । फरक ठाउँका यी निकायले एकै थरी तिथि सार्वजनिक गर्ने सवालमा अहिलेको सांस्कृतिक विचलन नहुने देखिन्छ । तर त्यसो गरेको देखिएको छैन । यी निकायहरुबीच न समन्वय हुन्छ न त समझदारी नै । आखिरमा हुनुपर्ने यी निकायहरुबीचको विचारमा एकरुपता नै हो । अझ एउटै मत बनाएर नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमार्फत पात्रोमा उल्लेख गर्नुपर्ने हो । तिथिमिति सार्वजनिक गरी चाड मनाउन आह्वान गर्ने सरकारी आधिकारिक निकाय नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति भएकोमा दुई मत नहोला । समितिले सम्बन्धित पक्षसँग समन्वय गरी सुझाव संकलन गरेर चाडपर्व मनाउने सम्बन्धिको समय निर्धारण गरिदिएर पात्रोमा उल्लेख गरिदिंदा अहिलेको समस्या समाधान हुने देखिन्छ । यसमा पनि प्राविधिक जटिलता भने नभएको होइन ।
अब,
कि त माथि उल्लेखित काठमाडौंको जनबहाल, ललितपुरको हिरण्यवर्ण महाबिहार र भक्तपुर तलेजुका ज्योतिषी र दैवज्ञलाई पूर्ण अधिकार दिएर सांस्कृतिक विचलन नहुने सर्तमा तिथि सार्वजनिक गर्नदिनुपर्छ । त्यसो नहुने सवालमा ती निकायका प्रतिनिधिलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यसमितिमा अट्ने वातारण दिनुपर्छ ।
हो,
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमामा माथि उल्लेखित निकायका ज्योतिषी र दैवज्ञ अट्ने वातारण बनाउन समितिको कार्यविधि, नियमावली र विधान संशोधन गर्नुपर्ने हुनसक्छ । सांस्कृतिक विचलन रोक्नको लागि यो उपाय सबसे उत्तम हो । सर्वसाधारण नागरिकलाई त के ? चाड मनाउनको लागि तिथि सार्वजनिक गर्ने जिम्मेवारी पाएको निकायले जुन तिथि भन्यो, पात्रोमा जुन उल्लेख ग¥यो सोही बमोजिम चाड मनाउने त हो ।

(लेखक केके मानन्धर ईमेज च्यानल टेलिभिजनसँग सम्बन्धित सञ्चारकर्मी र ख्वप कलेजमा आम सञ्चार तथा पत्रकारिता अध्यापन गराउने उपप्राध्यापक हुन् ।

Friday, September 13, 2024

ईन्द्रजात्रामा भैरवकाे सन्दर्भ

 

PC: Sunil/12khari

किंवदन्तीलाई पत्याउने हाे भने ईन्द्रजात्रासँग स्वर्गलाेकका महाराज ईन्द्रकाे प्रत्यक्ष सम्बन्ध जाेडिएकाे छ । स्वर्गलाेकबाट मर्त्यलाेकमा पुगेर फूल चाेरेकाे, चाेरलाई समातेर बाँधेकाे, सेताे हात्ती (ऐरावत किसि)सहित फूल चाेरेका ईन्द्रलाई खाेज्न ईन्द्रकी अामा भाैंतारिएकाे, फूल चाेरलाई सजाय दिन बाँधेकै ठाउँमा पाताल लाेकबाट मूपात्र अाएकाे जस्ता सबैसबै सन्दर्भ काठमाडौं र भक्तपुर जिल्लाका विभिन्न ठाउँमा मनाइने ईन्द्रजात्रामा देख्न पाइन्छ । आठदिन मनाइने ईन्द्रजात्राकाे बखत टाेलटाेलमा काठकाे खम्बामा यमद्यः उभ्याइन्छ । यमद्यः नै ईन्द्र महाराज रहेकाे एकथरीकाे बुझाइ छ । नेपाल संवत् तिथि बमाेजिम प्रत्येक वर्ष ञलाथ्व पुन्हि/पूर्णिमामा मनाइने यमद्यः जात्राबाट येँयाः पुन्हि, येन्या पुन्हि, यल पुन्हि, यलचा पुन्हि हुनपुगेको बुझ्न गाह्राे छैन । येँकाे अर्थ काठमाडौं र याःकाे अर्थ जात्रा भएकाे सन्दर्भसँग अगाडिकाे तर्क बाझिन सक्छ । ईन्द्रजात्रालाई काठमाडौं उपत्यकाका तीन शहर, नजिककाे जिल्ला काभ्रे र दाेलखामा पनि मनाउँछन् । अहिले ईन्द्रजात्रा अन्तर्राष्ट्रियकरण भइसकेको छ ।

तर, 

PC: Google

ईन्द्रजात्रामा यमद्यः अर्थात् ईन्द्रकाे मात्र प्रसङ्ग जाेडेर वर्णन गर्दा काठमाडौं उपत्यकाको प्रसिद्ध ईन्द्रजात्राकाे महिमा पूर्ण नहुन सक्छ । किनभने ईन्द्रजात्रामा कुमारी, गणेश, लाखे, देवी तथा भैरवकाे पनि उत्तिकै प्रसङ्ग जाेडिन्छ । रह्याे भैरवकाे कुराे,

११ विभिन्न ठाउँमा एघारै थरीका भैरव अवस्थित छन् । ती मध्ये श्वेत भैरव, बाघभैरव, पचलि भैरव, कालभैरव, अाकाश भैरव, अानन्द भैरव, वटुक भैरव, त्याङ्ग्रा भैरव, ह्यंग्रीव भैरव, अष्ट महाभैरव तथा बाका देय् भैरव । ती मध्ये अधिकांश भैरवकाे स्वरूपमा टाउकाे मात्र रहेकाे छ । अझ भनाैं, ईन्द्रजात्राकाे बखत वंगः (ईन्द्रचाेक) मा प्रदर्शन गरिने अाकाश भैरव, बसन्तपुरकाे हनुमानढोका दरबार अगाडिकाे श्वेत भैरव (जहाँ हाथु हायेकेगु/जाँडलाई घ्याम्पाेसँग पाइपमा जाेडेर खुवाइन्छ) र वंतु टाेलकाे बाका देय् भैरव (बाका देय् आजु)काे विशाल स्वरूपकाे टाउकाे मात्र पाउँछाैं ।

अब,

PC: Google

१) आकाश भैरवलाई नेपाल वायु सेवा निगमले अाफ्नाे विमान कम्पनीकाे लाेगाे नै बनाएकाे छ । कम्पनीको लाेगाे आकाश भैरव बनाएकै कारणले विमानमा बलीपूजा हुन्छ ।

२) ईन्द्रजात्रामा विभिन्न ठाउँमा प्रदर्शन गरिने भैरवलाई कतिले किराँती राजा यलम्बर भनेका छन् । त्यस्तै धेरैले बर्बरिक भनेका छन् ।

३) ईन्द्रजात्राकै बखत भैरवकाे टाउकाे मात्रकाे स्वरूप शंखरापुर (साँखु/सक्व), मध्यपुर, कीर्तिपुर लगायतको ठाउँमा प्रदर्शन गरिन्छ ।

४) आध्यात्मिक दृष्टिले भैरवलाई धेरैले भगवान, थाेरैले दानव (पिचास) र बाँकीले मानवकाे रूपमा बुझ्छन् । कतिले देवादिदेव महादेवकै उग्र रूप भैरव हाे भन्छन् । त्यहि भएर हामी वरपर धूपकाे बास्ना आउँदा देवता भ्रमण गरेकाे र मसान बास्ना आउँदा कि पिचास कि त भैरवकाे भ्रमण भएकाे रूपमा बुझ्छाैं । 

यहाँ, 

स्कन्दपुराणमा उल्लेख भएकाे बर्बरिक र ईन्द्रजात्रामा प्रदर्शन गरिने भैरवकाे किंवदन्ती उस्ताउस्तै देखिन्छ । 

बर्बरिक काे हुन् ?

PC: Google


महाभारतको युद्ध लड्न तयार भएका शाहसिक याेद्धा बर्बरिक हुन् । उनी पाँच पाण्डवका माइला भाइ भिमसेनका नाती एवम् घटोटकचका छोरा थिए । बाल्यकालदेखि नै बलवान एवम् बुद्धिमान बर्बरिकको लालनपालन एवम् शिक्षादिक्षाको अभिभारा उनकी आमा मौरवी (अहिलवती) तथा हजुरआमा हिडिम्बाले गरेको पाइन्छ । हिडिम्बा भिमसेनकी श्रीमती हुन् ।

भैरवकाे टाउकाे मात्र हुनुकाे रहस्य ?

PC: AP

आकाश भैरव स्वयम् किराँती राजा यलम्बर हुन् । यलम्बर र बर्बरिक एउटै भन्नेहरू पनि छन् । पौराणिक कथा अनुसार यलम्बरले पूर्वमा तीस्ता नदी र पश्चिममा त्रिशुलीसम्म फैलिएको देश बनाएको थियो । उनले तान्त्रिक पूजाद्वारा शक्ति प्राप्त गरेको विश्वास गरिन्छ । महाभारतको युद्धमा पराजित हुने पक्षलाई सहयोग गर्न उनी युद्धको मैदानमा हाेमिन गएका थिए । जब भगवान श्रीकृष्णले यो कुरा थाहा पाए, उनले यलम्बरको क्षमता परीक्षण गरे । श्रीकृष्णकाे परीक्षामा उत्तीर्ण भएका यलम्बरले काैरव पक्षलाई साथ दिने सम्भावना भएपछि छल गरेर टाउकाे छेदन गरेकाे उल्लेख छ । साेही टाउकाे आकाशबाट काठमाडौं आइपुगेको मानिन्छ । त्यसैले यलम्बरलाई बर्बरिक वा भैरवकाे रूपमा बुझेकाे हुनाले ईन्द्रजात्राकाे बखत प्रदर्शन गरिने भैरवकाे टाउकाे मात्र हुने गरेकाे छ । आकाश मार्ग भएर काठमाडौं आएकाे भैरव भएकोले आकाश भैरव नाम दिइएको एकथरीकाे भनाइ छ । आकाश भैरवलाई रैथाने ज्यापु समुदायले ईन्द्रजात्रामा प्रदर्शन गर्छन् ।

त्यस्तै,

PC: Facebook


ईन्द्रजात्राकै बखत ईन्द्रचाेक भन्दा अलिक भित्रकाे टाेल वंतुमा मानन्धर समुदायले बाका भैरव प्रदर्शन गर्छन् । उहिले बाका भैरवले तत्कालीन येँ देश (काठमाडौं)को आधा भूभाग जितेका थिए । बछि र बाखा भैरव शब्द अपभ्रंस भएर बाका भैरव हुनपुगेको भनिन्छ । बछिको अर्थ स्थानिय भाषामा आधा भन्ने हुन्छ । यो आधारले उहिले आधा देश जितेका भैरव भएकोले बाका भैरव भनिएको हाे । परम्पराकै आधारमा ईन्द्रजात्राको एकदिन अगाडि बाका भैरव प्रर्दशन गरेर जात्रा सकिएको भोलीपल्ट भित्र्याउने चलन रहेको छ । आकाश भैरव र बाका भैरवलाई दाजुभाइकाे रूपमा उल्लेख गरिएको छ ।

आजु द्यःकाे अर्थ के हाे ?

आकाश भैरवलाई ज्यापु समुदाय (महर्जन र डंगाेल)ले आजु द्यःकाे रूपमा पुज्छन् । बाका भैरवलाई साय्‌मि समुदाय (मानन्धर)ले आजु द्यः मान्छन् । आजुकाे अर्थ नेपालभाषामा बाजेपूर्खा र द्यःकाे अर्थ देवता भन्ने हुन्छ । त्यसाे भएर आकाश भैरव र बाका भैरवलाई बाजेपूर्खा मान्नेहरूले आजकाे दिनसम्म पनि ईन्द्रजात्रामा टाउकाे मात्र स्वरूपकाे भैरव प्रदर्शन गर्ने जिम्मेवारी पाएका छन् ।

(नाेट: कुमारीसँग शाक्य समुदायकाे, दसअवतार नाच र बाजागाजासँग खड्गी समुदायकाे, हलचाेक भैरवसँग पुतुवार, मजिपाः लाखेसँग रंजितकार र अन्य थुप्रै नाचसँग साेही बमाेजिमका समुदायकाे भूमिका रहेकाे छ । समावेशी ढंगले सञ्चालन हुने ईन्द्रजात्राकाे पृथक महत्त्व छ ।)

(लेखक केके मानन्धर, ईमेज च्यानल टेलिभिजनसँग आवद्ध रहेका सञ्चारकर्मी तथा ख्वप कलेजमा पत्रकारिता अध्यापन गराउने उपप्राध्यापक हुन् ।)









Tuesday, April 2, 2024

सहकारी संस्था किन समस्यामा छ ?

तस्बिर साभार- रविन साय्‌मि/नागरिक दैनिक
तस्बिर साभार- रविन साय्‌मि/नागरिक दैनिक

विक्रम संवत् २०७४ सालमा जारी भएको सहकारी ऐनले समुदायभित्रको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी आत्मनिर्भर, दिगो तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणको परिकल्पना गरेको छ । नेपालको संविधानको धारा २९६ को उपधारा १ अनुसार व्यवस्थापिका संसदले यो ऐन बनाएको हो । देश निर्माण कार्यमा सरकार र निजी क्षेत्रसँगै सहकारीको भूमिका पनि उतिकै छ । त्यसोभएर तीन खम्बे अर्थ नीतिभित्र सहकारी पनि पर्दछ । तर सहकारीलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने काममा राज्यका नियमनकारी निकायको कमजोरी प्रस्ट देखिन्छ । त्यसमाथि स्वनियमन संरचनामा सहकारी अभियान नबुझेका सदस्य तथा गलत नियतका सञ्चालकहरुको दोष देखिन्छ । ‘संस्थाभित्र हिसाब, मान्छेको पिसाब सफा हुनुपर्दछ ।’ यो भनाइ हामीमाझ लोकप्रिय छ । मान्छेको पिसाब र संस्थाको हिसाब सफा नहुनुको सिधा अर्थ आन्तरिक गडबढी नै हो । त्यसोभएर रोग लागिसके पश्चात् उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनु पर्दछ । सछि अवस्थामा मान्छेको स्वास्थ्य चेकजाँच गरे जसरी सहकारी संस्थालाई पनि नियमनकारी निकायले ध्यान दिन सक्नुपर्दछ । संस्था वा सञ्चालक वा कर्मचारीलाई विश्वास गरेर आम मान्छेहरुले पैसा बचत गर्ने भएर यो ठाउँमा वित्तीय अवस्था अनिवार्य रुपमा दुरुस्त हुनु जरुरी छ । तर कतिपय अवस्थामा भने जसरी काम भएका छैनन् । यसको अर्थ वित्तीय कारोबार हुने ठाउँमा अनुगमन, निरीक्षण र नियमनको स्थिति खुकुलो भएको भन्ने हो । नेपालमा सहकारी मन्त्रालयदेखि विभाग तथा आजकल प्रदेश र स्थानिय तह केन्द्रित सहकारी शाखाले यो क्षेत्र हेरिरहेको छ । अवस्था अनुसार विभागले सहकारी संघ÷संस्थाको लागि एकीकृत निर्देशन पनि जारी गर्दछ । रजिष्ट्रारमार्फत केही समय अगाडि ८८ बुँदे निर्देशन जारी गरेको थियो । निर्देशन बमोजिम सहकारी प्रवद्र्धन कोषमा पैसा जम्मा गर्नुपर्नेदेखि एकै व्यक्ति एक भन्दा बढी सहकारी संस्थाको लागि सञ्चालक बन्न नपाइने, ठूल्ठूलो कारोबार गर्नेस दस्यको सम्पत्ति शुद्धिकरणको विवरण पेश गर्नुपर्ने, कारोबार भएको आधारले १०–२० प्रतिशत तरलता कायम गर्नुपर्नेसम्मको बुँदा उल्लेख छ । तर निर्देशन लागू भएको छ वा छैन भन्ने विषय विभागलाई नै जानकारी छैन ।  

सहकारी विभागका अधिकारीहरुले सहकारी संस्थामा १० खर्ब पुँजी परिचालन भएको बताएका छन् । यो पुँजी वाणिज्य बैंकमा जम्मा भएको भन्दा केही मात्र कम हो । तर, वास्तविकरुपमा सहकारीमार्फत कति परिमाणमा कारोबार भएको छ भन्ने स्पष्ट विवरण छैन । हुनपनि सहकारीको तथ्यांक व्यवस्थित गर्न सहकारी सूचना प्रणाली (कोपोमीस) लागू गरेको छ । तर त्यसमा पनि खासै सफल देखिँदैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीको नियमन प्रभावकारी बनाउन गृहकार्य सुरु भएको बताएपनि उपलब्धि कति भयो भन्ने स्वयं मन्त्रालयलाई थाहा छैन ।
सहकारी ऐन तथा नियमावलीमा ५० करोड भन्दा माथि कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको  समन्वयलको आधारले नियमन गर्ने उल्लेख छ । राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था ऐन संशोधन नगरी राष्ट्र बैंकले सिधै सहकारीमा नियमन नगर्ने प्रष्ट गरिसकेको छ । राष्ट्र बैंकले प्राविधिक सहयोग मात्र गर्न सकिने भन्दै सहकारी विभागलाई भनेको छ । यहाँ प्रभावकारी नियमन नभएर र सरकारले हेर्न नसकेर ओरेण्टल, सिभिल, गुडविल, पशुपति, नयाँ सन्देश, गौतमश्री, सूर्यदर्शन लगायत अन्य सहकारीबाट आम मान्छेहरु ठगिएका छन् । अर्थमन्त्रालयले प्रतिस्थापन बजेटमार्फत सहकारीको नियमन गर्ने फरक किसिमको नियामक निकाय गठन गर्ने घोषण गरेको छ । तर, सो घोषणामा प्रगति शुन्य छ ।

एक सहकारी एक सदस्यको प्रावधान गलतः

एक सहकारी, एक सदस्य तथा एकै संस्थामा कम्तीमा दुई हजार सदस्य हुनुपर्ने प्रावधान छ । त्यसमा सञ्चालनमा रहेका संस्थाभित्रका सदस्य शुद्धिकरण र सहकारी संस्थाको संख्या कम गराउने नियत देखिन्छ । सीमित स्रोत साधन भएको नियामक निकायले बृहत् भइसकेको सहकारीको पुँजीलाई नियमन गर्न नसकेर यस्ता प्रावधान आएको देखिन्छ । तर राष्ट्रिय पुँजीलाई समेत प्रभावित बनाएर सहकारीलाई संकुचन गराउने यस्ता नियत सहि होइन । बरु नियामक निकायको सशक्त प्रभावकारिता अहिलेको अवस्थामा निर्विकल्प हुनसक्छ ।
विभागले कम सदस्य भएका सहकारी संस्थालाई मर्जरको लागि भनेको छ । यस्तो अवस्थामा एउटै संस्था ठूलो हुने र अनुगमन गर्न सहज हुन्न भन्ने मान्यता हो । यो विकल्प पनि सहि होइन । किनभने सहकारी ऐनको प्रस्तावनामा नै प्रस्ट रुपमा सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार देशभित्रका कृषक, कालिगढ, श्रमिक, न्यून आय भएका तथा सिमान्तकृत समुदायको उत्थानको लागि पुँजी परिचालन गर्ने उल्लेख छ । ठूलो र सामान्य पहुँच भन्दा बाहिरको सहकारीले लक्ष्यित वर्गलाई समेट्न विभागको मर्जरको प्रावधान अवरोध हुनसक्छ । त्यसैले समुदाय स्तरमा सञ्चालन भएका सहकारीमार्फत लक्ष्यित वर्गलाई सरल, सहज र सुरक्षित पुँजी व्यवस्थापन गराउनुपर्ने देखिन्छ । यसको लागि विकल्प भनेकै सहकारी संस्थाको कार्यक्षेत्र बिस्तारको लागि स्वीकृति दिने हो । यसले गर्दा ऐनले  परिकल्पना गरे बमोमिज लक्ष्यित वर्गको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर सुधार हुन्छ ।

आयात प्रतिस्थापनमा सहकारीको भूमिकाः

चालू आर्थिक वर्षमा ५०–५३ करोडसम्मको खाद्यान्न आयात भएको हाम्रो लागि दुर्भाग्य हो । खेतीयोग्य जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घ्यू, तेल, चिनी आयात भएको देखिन्छ । झण्डै १० खर्बको पुँजी रहेको सहकारीमार्फत कृषि, उद्योग, कलकारखाना तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने हो भने देशको खाद्यान्न आयात प्रतिस्थापनमा सहकारीको भूमिका अग्रनी हुनसक्छ । एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले किसानको कृषि उपज उत्पादनदेखि बजारीकरण सम्म सरकार, निजी क्षेत्र र सहकारीले संयुक्त रुपमा सहकार्य गर्नसकिने विचार पोखेका थिए । आन्तरिक लगानीलाई प्रोत्साहन दिएर आयात प्रतिस्थापन हुनेगरी सरकारले नीति ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

सहकारीको पुरानो रुप नेवारको गुठी व्यवस्थाः

हुन त नेवारहरुको गुठीको नयाँ स्वरुप नै सहकारी संस्था हो । गुठीको उद्देश्य निश्चित लक्ष्यप्राप्ति हुन्छ भने त्यसमा हुने संस्थागत संरचना, नीति नियम, जरिवानाको व्यवस्था, छुट देखि अन्य सबैखाले पक्ष सहकारी संस्थामा हुन्छ । जसरी गुठीमा सदस्य बनाएर निश्चित लक्ष्यप्राप्तिको लागि काम हुन्छ त्यसरी नै सहकारी संस्था हुन्छ । फरक भनेकै एउटै मात्र हो । त्यो भनेको सहकारी संस्था समुदायभित्र सञ्चालन भएपनि सरकारको निश्चित निकायमा दर्ता भएको हुन्छ तर गुठीको सवालमा त्यस्तो हुँदैन । यस्ता सबैखाले सहकारीको आधार एककिसिमले प्राचीन कालदेखि नेपालमा सुरु भएको भन्न सकिन्छ । गुठी र सहकारीबीचको तारतम्य विषयमा अध्ययन आवश्यक छ ।

सहकारीको इतिहासः

द सोर पोटर्स सोसाइटी नामको संस्थाले सन् १४९८ सालमा सबैभन्दा पहिले सहकारी संस्था सञ्चालनमा ल्याएका हुन् । नयाँ ढंगको सहकारी भने सन् १८४४ सालमा मात्र बेलायतमा सुरु भएको देखिन्छ । जबकि रोबर्ट ओएनलाई सहकारीको पिता “फाडर अफ कोअपरेटिभ” भन्ने गरेको पाइन्छ । नेपालको सवालमा २०१३ सालमा चितवनको बखानपुरले सबैभन्दा पहिले सहकारी संस्था सुरु गरेको इतिहास छ । सोही आधारलाई टेकेर नेपाल सरकारले सहकारी अभियानलाई निरन्तरता दिँदै आएको छ । कुरो जे भएपनि तथ्यपरक प्रमाणको सन्दर्भ भएकोले सहकारी संस्था सबैभन्दा पहिले सञ्चालन गर्नेहरुको दाबी आआफ्नो ठाउँमा हुनसक्छ ।

सहकारीको संस्थागत संरचनाः

विशेषतः सहकारी संस्थाभित्रको संस्थागत संरचना दुई प्रकारका हुन्छन् । पहिलो सञ्चालक र दोस्रो व्यवस्थापन पक्ष । सहकारी संस्थाका सदस्यहरुको अभिमतले वार्षिक साधारणसभामार्फत निर्वाचित भएको कार्यसमितिलाई सञ्चालक भन्ने गरेको छ । संस्थामा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षदेखि सदस्य बिजोर अर्थात ५, ७, ९ वा ११ सदस्यीय कार्यसमिति हुनुपर्दछ । कार्यसमितिले नै वार्षिक आर्थिक योजनादेखि  गतिविधिको विषयलमा खाका बनाएर सार्वजनिक गरिन्छ । कार्यसमितिले गरेको कामलाई मूल्यांकन गर्न लेखासमिति बनाइएको हुन्छ । सोही समितिले संस्थाको आर्थिक पक्षदेखि नियमन र सुझाव दिने गर्दछ । त्यस्तै, संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्न ऋण, शिक्षा, महिला, स्वास्थ्य, सामाजिकदेखि आवश्यकता बमोजिम उपसमिति गठन गरिएको हुन्छ । त्यस्तै, व्यवस्थापक, लेखापाल, कार्यालय सहायक, बजार प्रतिनिधि, कार्यालय सहयोगी जस्ता पद दिएर व्यवस्थापन पक्ष निर्माण गरिएको हुन्छ । व्यवस्थापन पक्षानको मुख्य भूमिका भनेकै सञ्चालक समितिले बनाएको योजना कार्यान्वयन गराउने र सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नु हो । यस्ता दुइटै निकाय मिलेर सहकारी संस्था सञ्चालन भएको हुन्छ ।

किन चाहिन्छ सहकारी ?

सहकारी संस्थाभित्र जोखिम र समस्या पैदा हुने कारण भनेकै ऐन र मापदण्ड कार्यान्वयन नहुनु हो । कारबाही गर्ने कानूनी प्रावधान भएपनि गल्ती गर्ने सहकारी संस्थालाई उन्मुक्ति दिने प्रवृत्तिले झन् प्रोत्साहन दिएको देखिन्छ । ऐन, मापदण्ड बमोजिम सञ्चालन नगर्नेलाई कारबाही गर्ने हो भने पुनः गल्ती दोहोरिन पाउँदैन । नेपालको गरिब, उपेक्षित, कमजोर र अभावग्रस्त नागरिकको आर्थिक र सामाजिक विकासको लागि सहकारी एउटा महत्वपूर्ण पक्ष हो । यहि क्षेत्रबाट प्राप्त हुने आर्थिक समुन्नतिलाई आंकलन गरेर योजनाबद्ध ढंगले सबै तहमा अत्यधिक नागरिकहरुलाई सहकारीमार्फत आकर्षित गराउनुपर्ने देखिन्छ । त्यसपछि मात्र ग्रामीण क्षेत्रका आर्थिक रुपले बिपन्न राष्ट्रका हाम्रा  नागरिकहरुको जीवनस्तर सुधार हुने देखिन्छ । विश्वमा भएको तीव्र औद्योगिकीकरण र बजारीकरणको कारणले आर्थिक, सामाजिक परिवर्तन ल्याउन सहकारी संस्थाको भूमिका महत्वपूर्ण छ । त्यसैले निम्न तथा मध्यम बर्गको पहुँचसम्म पुग्ने सहकारी संस्था बनाएर उनीहरुकै जीवनशैली सुधार गर्ने प्रयास स्वरुप सहकारी अभियानको मुख्य उद्देश्य हुनुपर्दछ । पछिल्लो समय कोभिड–१९ र केही वर्षअघिको महाभूकम्प तथा भारतले नेपालमा लगाएको अघोसित नाकाबन्दीको प्रभाव नेपाली अर्थतन्त्रले अझै झेलिरहेको छ । त्यसमाथि उत्पादनमुखी क्षेत्रमा लगानी कम भएको र अनुत्पादक क्षेत्रमा सहकारीको लगानी बढेको कारणले झन् समस्या चुलिएको देखिन्छ ।

सहकारी संस्था किन समस्यामा छ ?

सहकार्य, सहकारिता तथा सहकारी, यी शब्द परिपूरक हुन् । सहकार्य भन्नाले निश्चित लक्ष्य प्राप्तिको लागि संयुक्त प्रयास भन्ने अर्थ हुन्छ । समूह चिन्तन तथा सामाजिक काम गर्न सहकार्य गर्ने हो । निश्चित उद्देश्य पूर्ति गर्नदेखि सामाजिक चेतना अभिवृद्धि तथा यावत काममा व्यक्तिबीचको सहकार्य हुँदै आएको देखिन्छ । व्यक्तिले गर्ने सहकार्य नाफामुखी वा गैर नाफामुखी दुबैमा सम्भव छ ।
सहकारिता एक किसिमको दर्शन हो वा भन्नौं अवधारणा । अर्को अर्थमा सहकारिता एक पद्धति भन्न सकिन्छ । यी अवधारणा अनुरुप गरिने कार्य सहकारिता हो । सहकारिताको मूलमर्म अनुरुप सहकारी संस्था सञ्चालन हुन्छ । संस्थागत र सांगठनीक संरचना बनाएर वित्तीय कारोबार गर्ने संस्थालाई सहकारीको रुपमा बुझ्नुपर्दछ । व्यवसायको अभिप्राःयमा सञ्चालन हुने संस्थामा व्यावसायिक गतिविधि हुने स्वभाविक भयो । त्यसैले पनि सहकारी संस्थाको सवाल नाफा र घाटासँग सम्बन्धित हुन्छ । व्यावसायिक गतिविधि सञ्चालन गर्न सहकारिताको अवधारणा पूरा गर्नुपर्दछ । सहकारी, सहकारिताको मूल्य, मान्यता र सिद्धान्तमा आधारित हुन्छ ।
बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय सहकारी तथा उपभोक्ता सहकारी गरी बर्गिकरण गरिएका सहकारी संस्थाका आआफ्नै वित्तीय कारोबारका मापदण्डहरु छन् । सहकारी संस्थाका सदस्यहरुको बचत संकलन गरेर सोही संकलित रकमबाट निश्चित व्याज लिने सर्तमा सदस्यहरुबीच कर्जा प्रवाह गर्नुपर्ने नीति सहकारीको हो । त्यसमध्ये बचत तथा ऋण सहकारी संस्थाको दुई वटा मात्र निश्चित उद्देश्य रहने विधानले प्रष्ट गरेको छ । बहुउद्देश्यीय सहकारीमा बचत, कर्जा प्रवाह तथा सहकारीले नै लगानी गर्नसक्ने प्रावधान रहेको छ । तर सीमित मापदण्ड र निश्चित उद्देश्य भन्दा फरक ढंगले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र व्यवस्थापन समितिमा रहेका कर्मचारीहरुको मिलेमतोमा आफुखुसी सहकारीको रकम अपचलन हुँदा सहकारीमा समस्या भएको देखिन्छ । अझ भनौं सदस्यहरुको रकमलाई आफ्नै ठानेर सञ्चालकहरुले आफुखुसी लापरबाही ढंगले लगानी गर्दा समस्या भएको हो । सहकारी सञ्चालकहरुको इमान्दारितामा देखिएको खडेरी तथा सहकारीको विषयमा फैलाएको भ्रमको कारणले सदस्यले लिएका कर्जा निर्धारित समयमा कबुलियत गरे बमोजिम नतिर्दा सहकारी सञ्चालनमा थप जटिल परिस्थितिको निर्माण भएको छ । सञ्चालक र सदस्यहरु सहकारी, सहकारिताको मूल्य, मान्यता र सिद्धान्तमा आधारित हुने हो भने सहकारीमा देखिएको समस्या समाधान हुने देखिन्छ । त्यसको लागि स्वनियमन प्रणालीलाई सक्रिय बनाएर नियामक निकायको अनुगमन, निरीक्षण र कारबाही प्रक्रिया दुरुस्त बनाउनु जरुरी छ ।

(लेखक केके मानन्धर सञ्चारकर्मी तथा मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।)

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...