Monday, June 19, 2023

मध्यपुर थिमि नगरपालिकाकाे माैलिकता संरक्षण अभियान



माैलिक नाम अभिलेखिकरण तथा प्रतिष्ठापन समितिले २०८० असार ३ गते अाइतबार बहाखा बजारकाे मध्यपुर बैंक्वेटमा सम्पन्न गरेकाे 'माैलिक स्थान-नाम संकलन तथा अभिलेखिकरण प्रतिवेदन प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रममा गरिएको रापाेरटियरकाे अंश ।

कार्यक्रमकाे सुरूमा समितिका संयाेजक राजेन्द्र श्रेष्ठले समितिका पदाधिकारीहरूकाे सहयाेगमा तयार गरेकाे प्रतिवेदन प्रस्तुत गर्नुभयाे । प्रतिवेदन प्रस्तुतिकाे क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा माैलिक नाम संरक्षणको प्रयाेग बारे उल्लेख गर्नुभयाे । अहिलेसम्म समितिले गरेकाे उपलब्धि तथा स्थान नामकाे अावश्यकता बारे प्रस्ट्याउनु भएकाे थियाे । त्यसपश्चात अन्तरक्रिया चरणमा सुझाव दिनेहरूकाे भनाइ तपसिल छ ।

पहिलाे सुझाव दिने वक्ता-

१) कृष्णकुमार प्रजापति - वडा ७ का वडाध्यक्ष तथा बाैद्ध विद्वान ।


वडाध्यक्ष कृष्णकुमार प्रजापतिले माैलिक नामकाे प्रतिवेदनमाथि रचनात्मक अालाेचना र सुझावसहितकाे PCP (Praise Criticise and Praise) माेडलमा टिप्पणी गर्नुभएको छ । 

उहाँले नगदेशस्थित बुद्ध बिहारमा समुदाय भेला गराएर नगरपालिकाले सुरू गरेकाे अमूर्त सम्पदा संरक्षण अभियान अन्तर्गतकाे माैलिक नामकाे सुचिकरणमा संयाेजन गर्न सहकार्य गरेकाे स्मरण गराउनुभयाे । ऐतिहासिक दस्तावेजकाे अाधारमा भारत भन्दा नेपाल मण्डल पुरानाे भएकाे दाबी गर्नुभयाे । प्रतिवेदन प्रस्तुतिमा उल्लेख भएकाे विषय अन्तर्गत नर्वेमा अहिलेसम्मकै पहिलाे स्थान नामकाे विषयमा सरकारी स्तरबाट अध्ययन गरेर काम गरेकाे विषयलाई थप अनुसन्धान गरेर प्रस्ट गर्नुहुन प्रजापतिले अनुराेध गर्नुभयाे । २३ सय वर्ष अगाडि तत्कालीन भारतकाे मगध राज्यका माैर्य सम्राट अशाेकले निसस्त्रिकरण अभियान चलाएकाे विषयलाई अहिलेकाे राजनीतिक दस्तावेजले प्रतिस्थापन गरेजस्तै नर्वेकाे पनि हुनसक्ने भन्दै आधिकारिक तथ्यकाे थप अध्ययन गर्न अनुराेध गर्नुभयाे । बाैद्ध धर्मग्रन्थ प्रज्ञापारमितामा नागदेश उल्लेख भएकाेले साेही ग्रन्थकाे नागदेश अहिलेकाे मध्यपुर थिमि नगरपालिकाकाे वडा नं. ७ स्थित नगदेश हुनसक्नेप्रति इँगित गर्नुभयाे । नेपाल परिचय किताबमा उल्लेख भए बमाेजिम तत्कालीन अवस्थामा काठमाडौं उपत्यका कालीदह रहेकाे र साे दहमा कमलकाे बीउ छरेर अहिलेकाे स्वयम्भू महाचैत्य प्रकट भएकाे सन्दर्भ उल्लेख गर्दै बासुकी नाग र नाग जातीकाे बसाेबास रहेकाे नागदेश कालान्तरमा नगदेश भएकाे दाबी गर्नुभयाे । नगदेशलाई नागदेश, नकदेश पनि भन्ने गरेकाे उहाँले दाबी गर्नुभयाे । नागदेश नेपालकाे मध्यपुर थिमिमा, भारतकाे महाराष्ट्र र थाइल्यान्डमा समेत रहेकाे उल्लेख गर्नुभयाे ।


२) दाेस्राे सुझाव दिने वक्ता -

भुवन बागः श्रेष्ठ, राप्रपा नगर अध्यक्ष मध्यपुर थिमि ।

युवा राजनीतिज्ञ भुवन बागः श्रेष्ठले प्रतिवेदनमाथि भूमिकामा अाफ्नाे सुझाव दिनुभयाे । जापानबाट अाएकाे एउटा व्यक्ति बस्ने ठाउँलाई जापान चाेक, मिल भएकाे ठाउँलाई मिलराेड, राईहरू बसाेबास गर्दा राई टाेल र किरातहरू बस्ने भएर किरात टाेल नामांकरण हुँदा सुन्दा पनि असहज लाग्ने गरेकाे प्रतिक्रिया दिनुभयाे । उहाँले माैलिकतालाई जाेगाएर सबै समुदायलाई समेटेर समझदारीमा स्थान नाम राख्नुपर्नेमा जाेड दिनुभयाे ।


१) पहिलाे मन्तव्य राख्ने वक्ता-

अन्तरक्रिया पश्चात् मन्तव्य राख्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठले माैलिक नाम समितिमा विषयविज्ञहरूलाई समेट्नुपर्ने धारणा राख्नुभयाे । माैलिक नाम सम्बन्धमा विद्यावारिधि गरेकालाई पनि समेट्न सके अझ विस्तृत विवरण सुचिकृत हुने उहाँकाे भनाइ थियाे । यसअघि पनि स्थान नाम संरक्षणकाे अभियान थालेकाेमा घर नम्बर राख्ने क्रममा खट्न सकेकाे ठाउँमा राम्रो भएकाे र समय दिन कन्जुस्याइँ गरेको ठाउँमा राम्ररी नामांकरण गर्न नसकिएकाे स्मरण गर्नुभएको थियाे । भारतकाे बम्बाईलाई मुम्बई, चीनकाे बेइजिङलाई पेकिङ गरेकाे उदाहरण प्रस्तुत गर्दै नयाँ बस्ती विकास भएकाे ठाउँमा बढी ध्यान दिनुहुन समितिका पदाधिकारीहरूकाे ध्यानाकर्षण गराउनुभयाे । समितिमा नेवारहरूलाई मात्र समेटेकोप्रति गुनासाे गर्दै अन्य समुदायका प्रतिनिधिहरूकाे सहभागिताकाे लागि वकालत गर्नुभयाे । श्रेष्ठले सम्पदा अध्येता शाैभाग्य प्रधानाङ्ग, संस्कृतिविद् पुरूषाेत्तम लाेचन श्रेष्ठहरूसँग थप समन्वय गर्न अाग्रह गर्नुभयाे । उहाँले समितिकाे समर्पन र लगनशीलतालाई सलुड गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयाे ।


२) दाेस्राे मन्तव्य राख्ने वक्ता-

मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले वल्ड ईज् गाेल्डकाे भनाइलाई व्याख्या गर्नुभयाे । जुनसुकै चिजबस्तु पुरानाे भएसँगै त्यसकाे पुरातात्त्विक महत्त्व स्वतः बढ्ने भन्दै जेष्ठ नागरिककाे अनुभवबाट सिकेर अगाडि जानुपर्नेमा जाेड दिनुभयाे । माैलिक स्थान नाम समेत जेष्ठ नागरिक जस्तै हुने सन्दर्भ काेट्याउँदै उहाँले सय वर्ष नाघेकाे मूर्त अमूर्त सम्पदा संरक्षण गरेर पर्यटनसँग जाेड्नु अावश्यक रहेकाे बताउनुभयाे । श्रेष्ठले भक्तपुरका रविन्द्र पुरीकाे पुरातात्त्विक सम्पदा संरक्षण अभियानकाे उदाहरण दिंदै सम्पदा जाेगाउनुपर्नेमा जाेड दिनुभयाे । अहिलेका वाग्मती प्रदेशका पशुपंछी विकास मन्त्री डा. राजेन्द्र मान श्रेष्ठ अध्यक्ष रहेकाे सुन्दर नगर टाेल सुधार समितिलाई अन्जानमै स्थान नाम परिवर्तन गरेकाे समेत उहाँले स्मरण गर्नुभयाे । उहाँले माैलिक नाम अभिलेखिकरण तथा प्रतिष्ठापन समितिकाे निरन्तरकाे लागि प्राेत्साहित गर्दै अागामी अार्थिक वर्ष २०८०-०८१ काे लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


३) तेस्राे मन्तव्य राख्ने वक्ता-

मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले समिति गठनकाे प्रारम्भिक चरणकाे विषय काेट्याउनुभयाे । ई. राजेन्द्र श्रेष्ठसँग एउटा पार्टी भाेजमा भेट हुँदा थिमिकाे अध्ययन र अनुसन्धान गरेकाे मालेकुलेकाे विषयमा छलफल गर्ने क्रममा माैलिक नाम अभिलेखिकरण तथा प्रतिष्ठापन समितिकाे अावश्यकमा ध्यान गएकाे बताउनुभयो । उहाँले मध्यपुरकाे अमूर्त सम्पदा संरक्षण गर्नकाे लागि अाफु नगर प्रमुखमा निर्वाचित भएपछि समिति बनाउनतिर लागेकाे बताउनुभयाे । उहाँले पहिला पुरूषै पुरूष भएकाे र पछि ३३% महिलालाई समेटेर समितिलाई पूर्णता दिइएकाे दाबी गर्नुभयाे । श्रेष्ठले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भएकाे अन्तरक्रिया कार्यक्रममा समितिले गरेकाे मिहिनेत, अनुसन्धान र विस्तृत अध्ययनलाई प्रशंसा गर्नुभएकाे समेत स्मरण गर्नुभयाे । उहाँले अहिले भइरहेकाे कामले पूर्णता पाइसकेपछि जिअाईएस सिस्टममा लाग्नुपर्ने अावश्यक विषयमा विचार राख्नुभयाे । उहाँले मध्यपुरलाई नजिकबाट अध्ययन गरेका व्यक्तिसँग समितिले थप अन्तरक्रिया गर्नुपर्नेमा जाेड दिनुभयाे । एउटा फरक प्रशंगमा मध्यपुरका विभिन्न ठाउँमा हुने रात्रीकालिन भजन संस्कृतिलाई संरक्षण गरी पर्यटनसँग जाेड्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले मध्यपुरमा हाेम स्टेकाे आवश्यकता भएकाे भन्दै संस्कृतिसँग पर्यटनलाई जाेड्नकाे लागि पनि पर्यटक बस्ने व्यवस्थित ठाउँकाे अावश्यकता विषयमा जाेड दिनुभयाे । उहाँले

राधेराधे र दिव्यश्वरी प्लानिङमा रेष्टुराँकाे विकास भएकाेले मास्टर प्लान बनाएर थप व्यवस्थित बनाउनकाे लागि याेजना बनिरहेको बताउनुभयाे । मध्यपुरलाई अाधुनिक र माैलिक दुबै तरिकाले विकास गर्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. १ देखि ९ सम्मका वडाध्यक्षहरू, निर्वाचित जनप्रतिनिधिहरू, ८ वटा राजनीतिक दलका प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू, माैलिक नाम अभिलेखिकरण तथा प्रतिष्ठापन समितिका पदाधिकारी र सदस्यहरू, वडा कार्यालयबाट सिफारिस भएका गन्यमान्यहरू, पत्रकार तथा अन्य व्यक्तिहरूकाे उपस्थिति थियाे ।

कार्यक्रमकाे रापाेरटियर सञ्चारकर्मी केके मानन्धरले गर्नुभएकाे हाे । कार्यक्रम सञ्चालक- तुलसी भक्त तःकाे (सदस्य सचिव, माैलिक नाम अभिलेखिकरण तथा प्रतिष्ठापन समिति, मध्यपुर थिमि)












Sunday, May 21, 2023

मध्यपुरकाे राताे मच्छिन्द्रनाथकाे जात्रामा भाै कायेगु चलन र मेराे व्यक्तिगत विचार ।


केके मानन्धर । 

राताे मच्छिन्द्रनाथलाई पद्मपाणी लाेकेश्वर र रक्तावलाेकितेश्वर करूणामयकाे रूपमा पुज्ने चलन छ । पद्मपाणी लाेकेश्वरलाई बुंगमतीमा विराजमान गराएकाे भएर स्थानिय भाषामा बुंगद्यः भनिएकाे छ । दाेलखाली नेपालभाषामा बुंगदेउ हाे । 'भाै कायेगु'काे अर्थ द्विअर्थी याैनजन्य शब्द प्रयाेग गर्नु हाे ।

हरेक वर्ष नेपाल संवत् तिथि बमाेजिम तछलाथ्व षष्ठी (जेष्ठ शुक्ल षष्ठी) मा सम्पूर्ण नेवार समुदायले सिथि नखः मनाउँछन् । सिथि नखःकै दिन माैलिक परिकारकाे रूपमा रहेकाे मास, मुगी लगायतकाे दलहनबाट बन्ने वः खाने परम्परा छ । सिथि नखःकाे दिन पानीकाे मुहान, ईनार, धारा, पाेखरी, कुवा सफाइ गर्छन् । साेही दिन साँझ थिमिमा पद्मपाणी लाेकेश्वरकाे जात्रा हुन्छ । अरूभन्दा पृथक देखिने याे जात्रालाई स्थानिय भाषामा 'लाेकेश्वरलाई माइतबाट फर्काइएको' भन्ने चलन छ । यसअघि प्रतिपदाकाे दिन महास्नान गराउने परम्परा छ । 

तत्कालीन नेपाल मण्डलका विभिन्न ठाउँमा विराजमान भएका करूणामयलाई फरक नाउँबाट पुज्ने चलन छ । साेही बमाेजिम काभ्रेको नालामा विराजमान भएकालाई सृष्टिकान्त लोकेश्वर, ललितपुरको बुंगमतीमा अवस्थित रक्तावलोकितेश्वर वा रातो मच्छिन्द्रनाथ, काठमाडौंकाे जनबहालमा विराजमान भएकालाई आर्यावलोकितेश्वर वा अमोघपास लोकेश्वर वा सेतो मच्छिन्द्रनाथ, काठमाडौं दक्षिण भेग चाेभारका आदिनाथ वा आनन्दादी लोकेश्वर हुन् । ती बाहेक दोलखाको मच्छिन्द्रनाथलाई बुगदेउ र थिमिको करूणामयलाई पद्मपाणी लोकेश्वरकाे रूपमा पुज्ने चलन छ ।

दाेलखा र थिमिमा गुरूजु (शाक्य र बज्राचार्य)हरूकाे बसाइँसराइसँगै करूणामय स्थापना गराइएको बताइन्छ । नेपाल संवत् ६८५ मा थिमिमा पद्मपाणी लाेकेश्वर स्थापना गरिएको अभिलेख छ । पद्म कूलमा जन्मिएकाे हुनाले थिमिकाे करूणामयलाई पद्मपाणी लाेकेश्वरकाे नाम दिइएको हाे । सिथि नखःमा विशेष जात्रा हुने पद्मपाणी लोकेश्वरलाई सिथि द्यः अर्थात सिथि देवताकाे रूपमा पुज्छन् । 

जीवन निर्वाहकाे लागि न्यूनतम आवश्यकीय बस्तु पानी र अन्न उपलब्ध गराइदिने देवताकाे रूपमा पद्मपाणी लाेकेश्वरलाई लिइन्छ । थिमिकाे पद्मपाणी र ललितपुरका पद्मपाणी लोकेश्वर अर्थात राताे मच्छिन्द्रनाथकाे स्वरूप एउटै हाे । त्यसाेभएर पनि थिमिकाे पद्मपाणीलाई ललितपुरकाे राताे मच्छिन्द्रनाथलाई जस्तै कर्म र संस्कार गराइन्छ । तत्कालीन भक्तपुरमा फैलिएको महामारीलाई शान्तिस्वस्ति गरिदिने ललितपुरका गुरूजु (शाक्य र बज्राचार्य)हरूलाई गंगा महारानीले थिमिमा स्थापित गराएको लाेकश्रुती छ । उहिले राताे मच्छिन्द्रनाथलाई नेपाल मण्डलमा ल्याएका भक्तपुरका राजा नरेन्द्रदेवले अाफ्ना छाेराहरू क्रमशः रत्नदेवलाई ललितपुर, पद्मदेवलाई काठमाडौं र भक्तपुर बलदेवलाई सुम्पेर अाफु करूणामयकाे पाउमा लीन हुनुभएको बुंगद्यःकाे कथामा उल्लेख छ ।

भाै कायेगु चलन:

सिथि नखःदेखि गथांमुगः (घण्टाकर्ण)चःह्रेसम्म दाेस्राे व्यक्तिको चरित्रहत्या (मानहानी) नहुने तरिकाले द्विअर्थी याैनजन्य शब्द प्रयाेग गरिंदै अाएकाे देखिन्छ । यहि प्रचलनलाई भाै कायेगु भनिन्छ । अनार्य समाजलाई प्रतिनिधित्व गर्ने नेवारभित्र कृषि पेशालाई अंगाल्ने समुहले अझ तुलनात्मक बढी यस्ता शब्दहरू प्रयाेग गरेकाे मेराे पनि अनुभव छ । (यस्ताखाले शब्द अहिले कमै मात्रामा प्रयाेग गरेकाे भएपनि बाजे पुस्तासम्म बढी नै थियाे ।) 

यता, 

शताब्दी पुरानाे इतिहास बाेकेकाे मध्यपुरकाे पद्मपाणी लाेकेश्वरकाे जात्रामा अझै पनि द्विअर्थी याैनजन्य शब्द प्रयाेग हुँदै अाएकाे छ । लाेकेश्वरलाई साँझ थिमिकाे गार्चादेखि मरू टाेलसम्म सानाे अाकारकाे खटमा राखेर जात्रा गर्दा सार्वजनिक स्थलमै चर्काे स्वरले द्विअर्थी याैनजन्य शब्दकाे उच्चारण गर्ने युवाहरूकाे प्रतिस्पर्धा हुने गरेकाे छ ।

पद्मपाणी लाेकेश्वरकाे परम्परागत जात्रासँग यस्ताखाले सन्दर्भ जाेडिनु हुन्छ वा हुँदैन भन्ने वहसकाे विषय हुनसक्ला । कतिपयले यसलाई जात्राभित्रकाे विकृति र विचलन भनेका छन् । विकृति ठान्ने समुहले द्विअर्थी याैनजन्य शब्द सार्वजनिक रूपमा अभिव्यक्त नगराउन/नियन्त्रण गर्नुपर्ने तर्कसहित भेला र छलफल समेत चलाएका छन् । कतिपयले यसलाई नागरिकको पूर्ण अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएको दाबी गरेका छन् । प्रजातान्त्रिक देशमा अभिव्यक्ति स्वतन्त्रतालाई मापण गरेर नागरिककाे स्वतन्त्र रूपमा जीवन जिउने अधिकारकाे आधार तय गरिएको हुन्छ । निरंकुश शासन व्यवस्थाकाे सन्दर्भ बेग्लै भयाे ।

तर द्विअर्थी याैनसँग सम्बन्धित शब्द कहिलेदेखि प्रयाेग गरियाे भन्ने अनुसन्धानकाे विषय हाेला । सिथि नखःलाई राेपाइँ गर्न मिल्ने माैसमकाे संकेतकाे रूपमा व्याख्या गरिएको छ । अर्थात सिथि नखःसम्ममा दिगुपूजा (देवाली पूजा वा कुलपूजा) तथा अन्य साह्रै व्यस्त भएर समर्पित हुनुपर्ने परम्परागत गतिविधि सकाउनुपर्ने मान्यता छ । सिथि नखःदेखि गथांमुगःसम्म बाजागाजा समेत थन्काएर धार्मिक, सांस्कृतिक गतिविधि (अत्यावश्यक बाहेक) गर्दैनन् । याे अवधिमा राष्ट्रकै मुख्य बालीकाे रूपमा स्वीकार गरिएको धानबालीलाई प्राथमिकता दिइएको छ । यही अवधिमा सबैसबै गतिविधिलाई थाँती राखेर वर्षाबालीकै लागि समर्पित हुन पनि यसाे गरिएकाे हाे भन्ने बुझ्न गाह्रो छैन । उहिले प्रविधिकाे विकास नभइसकेको बखत सिथि नखःदेखि गथांमुगः चःह्रेसम्म वर्षाबाली (राेपाइँ)कै क्रियाकलापमा रमाइलाे गरि ध्यान केन्द्रीत गर्न पनि द्विअर्थी याैनजन्य शब्द प्रयाेग गर्ने परम्पराकाे विकास भएकाे हुनसक्छ । हाे,

कसैकाे व्यक्तिगत मानमा हानी गर्नु गलत छ । चरित्रहत्या गर्नु नेपालकै कानुनले पनि बन्देज लगाएकाे छ । तर कसैकाे मानहानी नहुनेगरी द्विअर्थी शब्द प्रयाेगले रमाइलाे महसुस हुन्छ भने यसलाई जायज भन्नुपर्छ । राताे मच्छिन्द्रनाथ, पद्मपाणी लाेकेश्वरलाई सहकालका देवता भनिएकाे छ । राताे मच्छिन्द्रनाथलाई कामाक्षकामारूपदेखि तत्कालीन नेपाल भित्र्याउँदाकाे किंवदन्ती बेग्लै छ । कुराे, जस्ताे भएपनि तत्कालीन नेपालमा खडेरी लागेकाे बखत वर्षात गराइदिएर राेपाइँमा सघाएका देवताकाे जात्रासँग द्विअर्थी शब्द उच्चारण हुने परम्परा झट्ट सुन्दा असान्दर्भिक लागेपनि इतिहासकाे नजरमा गलत छैन । मान्यताकै आधारमा पनि सिथि नखःदेखि गथांमुगः चःह्रेसम्म भाै कायेगु प्रचलन छ । हाेला, यसलाई पचाउन/स्वीकार गर्न अलिक बढी गाह्राे छ, तर कृषि पेशासँग प्रत्यक्ष सराेकार राख्ने, तत्कालीन नेपालमा कृषि कर्ममा सघाएका पद्मपाणी लाेकेश्वरकाे जात्रामा चलिअाएकाे भाै कायेगु चलनलाई बिल्कुलै गलत चाहिँ भन्न सकिंदैन । बस् इतिहासकाे चस्मालाई वर्तमानमा लगाउँदा अलिक मिल्दैन हाेला, मिलाएर लगाउने काेसिस गर्नुपर्छ ।


(पद्मपाणी लाेकेश्वर सम्बन्धिकाे सुचना स्राेत उपप्राध्यापक शान्तरत्न बज्राचार्य)


थप तस्बिर-















फाेटाे साभार: सुरेश ख्वाकः श्रेष्ठ/मनिष मानन्धर/थिमि गुंला बाजा खलः/फेसबुक

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...