Friday, June 17, 2022

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनमा राजनीति गर्नु जायज हाेइन ।



असार ३ गते, केके मानन्धर 

शेर बहादुर देउवा नेतृत्वको सरकारले नीति तथा कार्यक्रममार्फत आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न खाेज्नु स्वागतयोग्य छ । यसले नेपाली पत्रकारिता र पत्रकारकाे लागि राम्रै गर्छ । तर त्यसभित्र राजनीति गर्न खाेज्नु खेदजन्य छ । नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई हामी सबैका सम्मानित पात्र हुन् । मरणाेपरान्त उहाँलाई विवादमा तान्नु कदापि हुँदैन । तर जानाजानी उहाँकाे नाम जाेडेर विवाद गर्न खाेजिएकाे छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षकाे रुपमा पत्रकारहरूलाई संगठित गर्ने अभियानको सांगठनिक शुरुवात सत्यनारायण बहादुर श्रेष्ठले गरेका हुन् । नेपालमा प्रजातन्त्र बहाली पश्चात् २००८ सालमा पत्रकार संघ स्थापना गरी पत्रकारहरुको एकताको अभियान अगाडी बढाएका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् ।

नेपालमा राणाशासन समाप्त भएपछि संघसंस्थाहरु गठनको लहरमा पत्रकारहरुको सुविधा, हकहितको संरक्षण लगायतका विषयमा केन्द्रीत भइ पत्रकारहरुलाई संगठित गर्न २००८ सालमा नेपाल टुडेका सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियाे ।

नेपाल पत्रकार संंघको पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको दोस्रो सभा पनि भयो । २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । यो कार्यसमितिले सञ्चार क्षेत्रलाई प्रभाव पार्ने विभिन्न प्रावधानको विरोध गर्नुका साथै पत्रकार हकहितका मागहरु पनि सरकारसमक्ष पेश गरेकाे थियो ।

यसको चार वर्षपछि २०१२ सालको चैत्र १६ गते पत्रकारहरुको अर्को बैठकबाट नेपाल पुकारका सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएकाे थियो । तर यही तथ्यलाई पहिलो घटनाकाे रुपमा ब्याख्या गरी सत्यनारायण बहादुर श्रेष्ठको योगदान मेट्ने प्रयास भएको छ । याे विषय इतिहासमा लुकेकाे छैन । तर पत्रकार महासंघको संस्थापक अध्यक्षकाे रुपमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरी राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने तयारी थालेकाे छ । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउनै पर्छ तर कुनै अमुक व्यक्तिको नाउँमा हाेइन । कि त तथ्यपरक इतिहासकाे आधारमा बनाउनु जायज हाे नत्र इतिहासकाे तथ्य माेडेर राजनीतिक पूर्वाग्रही ढंगले सन्त नेताकाे नाउँ मरणाेपरान्त विवादमा मुछ्नु बिल्कुलै गलत छ ।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष विषयक अन्तरक्रियाकाे सन्दर्भ:

असार २ गते बिहीबार ०७९ मा तमु बौद्ध सेवा समितिको सभाहल, अनामनगर काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज)ले पत्रकारहरूका विभिन्न संघसंगठनका प्रतिनिधिहरूलाई समेटेर कार्यक्रम गरेकाे छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेल, फाेनिजका अध्यक्ष गजुरधन राई, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, मधेशी पत्रकार समाजका माेहन सिंह लगायतको सहभागिता थियाे ।

कार्यक्रममार्फत सरकारले नीति तथा कार्यक्रममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनमा कुनै अमुक व्यक्तिको नाउँ उल्लेख नगर्न ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानमा सन्त नेता कृष्णप्रसाद भट्टराईकाे नाउँ जाेडेर मरणाेपरान्त विवादीत गर्न नहुनेमा पत्रकारहरू सहमत भएका छन् ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले सन्त नेता कृष्णप्रसाद भट्टराईकाे प्रधानमन्त्रीत्व कालदेखि पत्रकार महासंघका संस्थापक अध्यक्षमा राजनीति सुरू भएकाे बताए । एउटा कार्यक्रममा सत्यनारायण बहादुर श्रेष्ठकी छाेरी सुजिता मानन्धरले दिनुभएको वक्तव्यमा चर्चा गर्दै बज्राचार्यले नेपाल पत्रकार महासंघकाे संस्थापक अध्यक्षमा सन्त नेताकाे नाउँ आउँदा श्रेष्ठले मुस्कुराउँदै 'ए… यस्को पो नाम आएछ ।' भन्दै मुस्कुराउँदै टारेकाे स्मरण गरे । शिक्षा क्षेत्रमा ब्यस्त हुनुपरेको र सञ्चार क्षेत्रमा उपस्थिति नभइसकेको अवस्थामा वा आफ्नाे याेगदानमा अर्कैले दाबी गरेकाे कारणले श्रेष्ठ निराश भएर नाउँकाे विवादमा मुछ्न नचाहेकाे बज्राचार्यकाे दाबी छ । याे घटना धेरै पुरानाे नभएर २०५६ सालकाे भएको समेत बज्राचार्यले दाबी गरे । दुर्भाग्यकाे कुराे सत्यनारायण बहादुर श्रेष्ठ २०६० जेठमा स्वर्गारोहण भइसकेका छन् । उसमाथि श्रेष्ठले व्यक्त गरेका अभिव्यक्ति निजका परिवार बाहेक सञ्चार माध्यममा सम्प्रेषण हुन पाएन । बज्राचार्यले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान दुबैजना जीवितै हुँदा ल्याउन नसकेकाे र अहिले मरणोपरान्त इतिहासलाई माेडेर सत्यनारायण बहादुर श्रेष्ठकाे याेगदानलाई अन्याय हुनेगरी सन्त नेता कृष्णप्रसाद भट्टराईकाे नाममा प्रतिष्ठान गठन गर्न खाेज्नु गलत भएको बताए । उहाँले नियाेजित रूपमा नाउँमा राजनीति शुरू भएकाे हुनाले देशभरका नेवारहरूकाे साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले केहीवर्ष यतादेखि नेपाल पत्रकार संघ (पछि पुनर्गठन गरि बनाएकाे नेपाल पत्रकार महासंघ)का संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठकाे जन्मजयन्ती मनाउने कामकाे थालनी गरेकाे जनाए । साेही क्रममा १०५ औं जन्मजयन्तीमा सञ्चार मन्त्री पार्वत गुरुङ अतिथिकाे रूपमा उपस्थित हुनुभएको थियाे ।  त्यस्तै, १०६ औं जन्मजयन्ती सञ्चार ग्रामस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा महासंघकै सहयाेगमा मनाइएको थियाे । तर पछिल्लो समय जिम्मेवार निकायका पदाधिकारीहरूले श्रेष्ठकाे पत्रकार सम्बन्धिकाे संगठन निर्माणमा रहेकाे याेगदान बिर्सिएर गैरजिम्मेवारी प्रतिक्रिया दिइरहेका छन् । यदि यस्तै अवस्था रहे तथ्यपरक इतिहासलाई स्वीकार गर्ने र प्रतिष्ठानमा राजनीति गर्न नहुने पक्षका देशभरका पत्रकारहरू विरोधमा उत्रने समेत उहाँले चेतावनी दिए । 

कार्यक्रममा पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले केहीवर्ष अघि पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टकाे कार्यकालमा २००८ सालमै पत्रकारहरूलाई संगठित गरेका सत्यनारायण बहादुर श्रेष्ठकाे याेगदानसहितकाे ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएकाे स्मरण गरे । महासंघका सभापतिहरूकाे पनि याे विषयमा फरक मत नरहेपनि श्रेष्ठकाे याेगदानलाई बिर्सेर प्रतिष्ठान गठनमा राजनीति हुने गरेकाे महर्जनको तर्क छ । यदि नेपाल पत्रकार महासंघकाे विधानमा त्रुटी हाे भने तथ्यसंगत इतिहास स्थापित गराउनकाे लागि विधान संशोधन गर्नुपर्नेमा जाेड दिए । अहिलेकाे अवस्थामा महासंघका अध्यक्ष विपुल  पोखरेलले सत्यतथ्य अध्ययन गर्ने आश्वासन दिनुभएकाे हुनाले महासंघले कुनै निश्चित राजनीतिक पक्षपाेषणलाई भन्दा नि सत्यमा आधारित हुनेमा विश्वस्त रहेकाे महर्जनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममार्फत सत्यनारायण बहादुर श्रेष्ठकाे योगदानलाई कदर गर्दै सम्बन्धित क्षेत्रमा आवश्यकता बमाेजिम प्रस्तुत हुने निष्कर्ष निकालेको छ ।

सत्यनारायण बहादुर श्रेष्ठसँग सम्बन्धित गतिविधि:

नेवाः पत्रकार राष्ट्रिय दबूकाे कीर्तिपुरमा सम्पन्न भएकाे दाेस्राे महाधिवेशनमा तात्कालिन सुचना तथा सञ्चारमन्त्री शेरधन राईमार्फत नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षकाे स्मरणमा सम्मानपत्र हस्तान्तरण गरिएको थियाे । सन् २०१६ मा सम्पन्न भएकाे साे महाधिवेशनमा सम्मानपत्र ग्रहण गर्न श्रेष्ठकी छाेरी सुजाता मानन्धर सहभागी भएकी थिइन् । साेही वर्ष नेपाल पत्रकार महासंघकाे चितवनमा सम्पन्न भएकाे साधारणसभामा सत्यनारायण बहादुर श्रेष्ठकाे इतिहास खाेतल्ने विषयमा बहुसंख्यक पत्रकारहरूले समर्थनमा ताली बजाएकाे थियाे । साे कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्षकाे इतिहास माेडिएकाे भन्दै साे विषयकाे सत्य र तथ्य बाहिर ल्याउन अनुसन्धान हुनुपर्ने माग गरिएको थियाे । त्यस्तै, सन् २०१७ मा पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज)काे नेतृत्वमा सत्यनारायण बहादुर श्रेष्ठकाे याेगदान स्थापित गराउन माग गर्दै गाेबिन्द आचार्य नेतृत्वको नेपाल पत्रकार महासंघमा ज्ञापनपत्र दिइएको थियाे । सन् २०२१ (२०७८ पुस १३ मंगलबार)मा नेवाः पत्रकार राष्ट्रिय दबू चितवन शाखाले पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठकाे १०६ अाैं जन्मजयन्तीकाे अवसरमा लायन्स चाेक नारायणगढमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको थियाे । श्रेष्ठको १०५ अाैं जन्मजयन्तीकाे अवसरमा पत्रकार लक्की चाैधरीसँग ईमेज न्यूज एफएम १०३.६ मेगाहर्जमा अन्तरवार्ता गरिएको थियाे ।














Friday, June 3, 2022

थिमिकाे पद्मपाणी लाेकेश्वर


२० जेठ, केके मानन्धर 

मध्यपुर थिमिस्थित पद्मपाणी लाेकेश्वरकाे जात्रा सिथि नखःमा हुन्छ । नेपाल संवत्‌ तिथि बमोजिम तछलाथ्व षष्ठी अर्थात सिथि नखःकाे साँझ हरेक वर्ष थिमिकाे गार्चादेखि मरू टाेलसम्म बाजागाजासहित जात्रा हुन्छ । अरूभन्दा पृथक देखिने याे जात्रालाई स्थानिय भाषामा 'लाेकेश्वरलाई माइतबाट फर्काइएको' भन्ने चलन छ । यसअघि प्रतिपदाकाे दिन महास्नान गराउने परम्परा छ । 

तत्कालीन नेपाल मण्डलका विभिन्न ठाउँमा विराजमान भएका करूणामयलाई फरक नाउँबाट पुज्ने चलन छ । साेही बमाेजिम काभ्रेको नालामा विराजमान भएकालाई सृष्टिकान्त लोकेश्वर, ललितपुरको बुंगमतीमा अवस्थित रक्तार्यावलोकितेश्वर वा रातो मच्छिन्द्रनाथ, काठमाडौंकाे जनबहालमा विराजमान भएकालाई आर्यावलोकितेश्वर वा अमोघपास लोकेश्वर वा सेतो मच्छिन्द्रनाथ, काठमाडौं दक्षिण भेग चाेभारका आदिनाथ वा आनन्दादी लोकेश्वर हुन् । ती बाहेक दोलखाको मच्छिन्द्रनाथलाई बुगदेउ र थिमिको करूणामयलाई पद्मपाणी लोकेश्वरकाे रूपमा पुज्ने चलन छ ।

दाेलखा र थिमिमा गुरूजु (शाक्य र बज्राचार्य)हरूकाे बसाइँसराइसँगै करूणामय स्थापना गराइएको बताइन्छ । नेपाल संवत् ६८५ मा थिमिमा पद्मपाणी लाेकेश्वर स्थापना गरिएको अभिलेख छ । पद्म कूलमा जन्मिएकाे हुनाले थिमिकाे करूणामयलाई पद्मपाणी लाेकेश्वरकाे नाम दिइएको हाे । सिथि नखःमा करूणामयकाे विशेष जात्रा हुनेभएकोले पद्मपाणी लोकेश्वरलाई सिथि द्यः अर्थात सिथि देवताकाे रूपमा पुज्छन् । 

जीवन निर्वाहकाे लागि न्यूनतम आवश्यकीय बस्तु पानी र अन्न उपलब्ध गराइदिने देवताकाे रूपमा पद्मपाणी लाेकेश्वरलाई लिइन्छ । थिमिकाे पद्मपाणी र ललितपुरका गुरुजु सता श्री पद्मपाणी लोकेश्वर अर्थात राताे मच्छिन्द्रनाथकाे स्वरूप एउटै हाे । त्यसाेभएर पनि थिमिकाे पद्मपाणीलाई ललितपुरकाे राताे मच्छिन्द्रनाथलाई जस्तै कर्म र संस्कार गराइन्छ । तत्कालीन भक्तपुरमा फैलिएको महामारीलाई शान्तिस्वस्ति गरिदिने ललितपुरका गुरूजु (शाक्य र बज्राचार्य)हरूलाई गंगा महारानीले थिमिमा स्थापित गराएको लाेकश्रुती छ । उहिले राताे मच्छिन्द्रनाथलाई नेपाल मण्डलमा ल्याएका भक्तपुरका राजा नरेन्द्रदेवले अाफ्ना छाेराहरू क्रमशः रत्नदेवलाई ललितपुर, पद्मदेवलाई काठमाडौं र भक्तपुर बलदेवलाई सुम्पेर अाफु करूणामयकाे पाउमा लीन हुनुभएको बुंगद्यःकाे कथामा उल्लेख छ ।


(उपप्राध्यापक शान्तरत्न गुरूजुकाे सहयाेगमा तयार गरिएकाे लेख ।)

फाेटाे साभार: हाम्रो जात्रा/कृतन जाेशी/सुरेश ख्वाकः श्रेष्ठ/फेसबुक

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...