१२ पुस, केके मानन्धर
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले सांस्कृतिक विचलनविरुद्धको अभियान सञ्चालन गर्दैआएको छ । केही दसक यता तिथिमा देखिएको घटबढको कारणले गाईजात्रा, म्हपूजा, लक्ष्मीपूजा, बडा दशैं लगायतका चाड मनाउने क्रममा समुदायलाई अलमल हुँदै आएको छ । चाडपर्व मनाउनको लागि समुदायमा देखिएको अलमल न्यूनिकरण र समाधानको लागि प्रतिष्ठानले अभियानै सञ्चालन गर्दै आएको छ । यहीक्रममा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाः प्रतिष्ठानमा सरोकारवाला निकाय अन्तर्गतको पञ्चाङ्ग, ज्योतिषी तथा विद्वत वर्गको सहभागितमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । यसअघि पनि काठमाडौं, ललितपुर, भक्तपुर लगायतको ठाउँमा कार्यक्रम गरेको थियो । कार्यक्रममा राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समिति, नेपाल पञ्चाङ्ग पत्र, पर्व सुधार राष्ट्रिय कार्यान्वय समिति, नेपाल ज्योतिष परिषद्, नेपाल परम्परागत बौद्ध धर्म संघ, वाल्मिकी विद्यापीठ, बज्रयान महासंघ, नेवाः देय् दबूलगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुनुभएका विद्वानहरुले सांस्कृतिक विचलन हुनबाट बचाउन चाडपर्व मनाउने समयको एकरुपता आवश्यक रहेकोमा जोड दिनुभएको छ । पछिल्लो समय म्हपूजा, गाईजात्रा, चथाः लगायतको चाडपर्व ठाउँ विशेष अनुरुप फरक फरक समयमा मनाउँदा यसले समुदायभित्र नराम्रो सन्देश प्रवाह भएको अधिकांसको भनाइ थियो । सोही समस्यालाई न्यूनीकरण गर्न तथा समाधानको उपाय पहिल्याउन प्रतिष्ठानले अगुवाइ गरेकोमा आभार समेत प्रकट गर्नुभएको छ । कार्यक्रममा सहभागीहरुको भनाइ तपसिल बमोजिम रहेको छ ।
१) प्रा.डा. देवमणि भट्टराई, केन्द्रीय सदस्य, राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समिति ।
बडा दशैं, यमपञ्चक, गाईजात्रा लगायतका वार्षिक चाडलाई तिथि, नक्षत्र, सूर्य, गते आदिको गणना गरेर पात्रोमा उल्लेख गरिँदै आएको राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिका केन्द्रीय सदस्य प्रा.डा. देवमणि भट्टराईले दाबी गर्नुभएको छ । पञ्चाङ्गले पात्रो बनाउँदा सर्वपक्षीय आधारलाई मध्यनजर गरेपनि एकाध समुदायको असन्तुष्टि रहेकोमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेवार पञ्चाङ्गकारमा पनि शुद्धाशुद्धी गरिदिन आग्रह गर्नुभएको छ । कतिपय विषय ज्योतिषी मंगलदास प्रधानाङ्गसँग समन्वय गरी अघि बढेकोमा उहाँले पनि शास्त्रलाई आधार बनाउनुपर्नेमा जोड दिनुभएको प्रा.डा. भट्टराईको दाबी रहेको छ । शास्त्र बमोजिम ३ दिन लगातार तिहार मान्नै पर्छ भन्ने उल्लेख नभएको तर परम्परागत मान्यतालाई आधार बनाउँदा त्यो अमिल्दो हुनपुकोले त्यसमा सुधार गर्नको लागि समुदायका ज्योतिषी, दैवज्ञ तथा विद्वानहरुलाई सुझाव दिन आग्रह गर्नु भएको छ । यसको लागि पात्रो निर्माण, नक्षत्रको ज्ञान आदि विषयमा प्रशिक्षण समेत दिनुपर्नेमा जोड दिनुभएको छ ।
२) राजेन्द्र मान बज्राचार्य, अध्यक्ष, बज्रयान महासंघ ।
नेवार समुदायभित्र ३ किसिमले धर्म र संस्कृति मनाउने परम्परा रहेको बज्रयान महासंघका अध्यक्ष राजेन्द्र मान बज्राचार्यले बताउनुभएको छ ।
क) एकै दिनमा दुईटा तिथि अनुसार चाड नमनाउने । ख) सूर्याेदयको किरणसँगै सो तिथिलाई आधार मानेर चाड मान्ने । ग) घरको छानामा सूर्याेदयसँगै परेको नयाँकिरणलाई आधारमा मान्ने । हिन्दु र बौद्ध धर्म संस्कार एकअर्कोमा फरक रहेकोले पनि तिथिमा केही हदसम्म अलमल रहेको बताउनुभएको छ । चाड मनाउने क्षेत्रमा विविधता रहेको उहाँको दाबी रहेको छ । त्यसैले, विविधताभित्रको एकतालाई सौन्दर्यको आधार मानेर चाडपर्व मनाउन सकिनेमा जोड दिनुभयो । उहाँले पञ्चाङ्गको निर्देशिकालाई सुधार गरिदिन आग्रह गर्नुहुँदै परम्परागत धर्म संस्कृतिलाई बन्देज लाग्ने खालको क्रियाकलाप नगर्न आग्रह गर्नुभयो । पञ्चाङ्गले पात्रो प्रकाशन गर्ने बखत तिथि उल्लेख गर्ने तर तिथिसँगै कोष्ठकमा चाडपर्व उल्लेख नगरी पात्रोको मुन्तिर नोट राखेर चाडपर्व उल्लेख गरिदिँदा केही हदसम्म तिथिमा देखिएको अलमल न्यूनीकरण हुने दाबी गर्नुभयो ।
त्यस्तै, सनातन धर्मका अनुयायी मध्ये द्यो बाज्या अर्थात शर्मा र राजोपाध्यायहरूले लक्ष्मीपूजालाई औंसीकै रात मनाउने परम्परा रहेको बताउनुभयो । तिहारको यमपञ्चक मध्ये पाँच दिन लगातार मनाउने र बिचमा टुट नगर्ने, सुलं नबार्ने परम्परा रहेको उहाँको भनाइ थियो । यही विषयमा राजोपाध्याय बाज्या बलदेव जुजु र महेश्वर जुजुहरुको दाबी रहेको समेत उहाँले बताउनुभयो ।
३) पात्रो सम्बन्धिको अध्येता तथा भाषासेवी पौभाः साय्मि ।
तिथिमिथिमा देखिएको घटबढलाई वैज्ञानिक आधारले समाधान गर्नुपर्नेमा पात्रो सम्बन्धिको अध्येता तथा भाषासेवी पौभाः साय्मिले जोड दिनुभएको छ । परम्परा र व्यवहारलाई मध्यनगर गरी पात्रो प्रकाशन हुँदा समग्रमा चाडपर्व मनाउने सम्बन्धिको अलमल समाधान हुने उहाँको भनाइ थियो । लक्ष्मीपूजाको दिन तिथिमा अलमल हुँदा अगाडि मनाउने कि पछाडि मनाउने भन्ने सम्बन्धमा धर्म, संस्कृति, परम्परासँग नक्षत्रको गणना मिलाए समझदारीमा चाडपर्व मनाउने समय निर्धारण गर्नसकिनेमा जोड दिनुभयो ।
४) नेवाः देय् दबू उपत्यका प्रदेशका अध्यक्ष, श्रीकृष्ण महर्जन ।
संस्कृति, रितिथितिले समुदायलाई जोड्नुपर्ने मान्यता छ । तर समुदायलाई विभाजन गर्ने किसिमले तिथिमा थपघट भएको पात्रो सार्वजनिक हुँदै आएकोले यसमा समस्या देखिएको नेवाः देय् दबू उपत्यका प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभयो । त्यसैले समुदायलाई विभाजन नहुने गरी पात्रोमा चाडपर्व मनाउने समय निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरोकारवाला नेवारहरुको आधिकारिक निकाय भक्तपुरको तलेजु, काठमाडौंको जनबहाल र ललितपुरको क्वाःबहाः हिरण्यवर्ण महाबिहारपञ्चाङ्गसँग समन्वय गरी उहाँहरुको सुझाव बमोजिम पात्रोमा चाडपर्व मनाउने समयको निर्धारण गरिदिन आग्रह गर्नुभएको छ ।
५) पर्व सुधार राष्ट्रिय कार्यान्वय समितिका हरिनारायण मल्ल ।
ज्यापुन्हिलाई वर्षकै सबभन्दा लामो दिन र यःमरि पुन्हिलाई वर्षकै सबभन्दा छोटो दिनको रुपमा स्वीकार गरिएको पर्व सुधार राष्ट्रिय कार्यान्वय समितिका हरिनारायण मल्लले दाबी गर्नुभएको छ । राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिले समेत सोही विषयलाई आधार बनाएर २०७५ र ७६ सालमा प्रकाशित भएको पात्रोमा उल्लेख गरेपनि सो पश्चात् यो विषय उल्लेख नभएकोप्रति जिज्ञासा राख्नुभएको थियो । उहाँले वर्षको लामो र छोटो दिनलाई आगामी पात्रोत्रमा उल्लेख गर्न समेत आग्रह गर्नुभएको छ ।
६) नेपाल पञ्चाङ्ग पत्र तथा हिरण्यवर्ण महाबिहाल, क्वाःबहाःका केशर गोविन्द जोशी ।
राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृतिमा ललितपुरबाट प्रकाशित भएको पात्रोमा तिथिमा अलमल देखिएकोप्रति नेपाल पञ्चाङ्ग पत्र तथा हिरण्यवर्ण महाबिहाल, क्वाःबहाःका केशर गोविन्द जोशीले जिज्ञासा राख्नुभएको छ । सूर्य, चन्द्रमा र आफ्नै तर्कलाई आधार बनाएर पात्रो प्रकाशन भएकोले झन समुदायभित्र अलमल र सांस्कृतिक विचलन ल्याएको बताउनुभएको छ । सबैले नेपालकै मौलिक र प्राचिन महत्त्व बोकेको नेपाल संवत् लागू गर्ने हो भने तिथिमा देखिएको थपघट र अलमलको समस्या हुने दाबी गर्नुभएको छ ।
७) नेपाल ज्योतिष परिषद् केन्द्रीय सल्लाहकार, हितराज श्रेष्ठ ।
चाडपर्वसँगै धर्म र कर्म गर्नुपर्नेमा नेपाल ज्योतिष परिषद् केन्द्रीय सल्लाहकार हितराज श्रेष्ठले जोड दिनुभएको छ । घडी र पला अनुसार नै ज्योषित विद्या हुने भएकोले सोही बमोजिम पात्रो प्रकाशन हुनुलाई स्वभावित प्रक्रिया रहेको बताउनुभएको छ ।
ज) नेपाल परम्परागत बौद्ध धर्म संघ काठमाडौं अध्यक्ष, काठमाडौंस्थित कुमारी घरका राज गुरुजु तथा नेपाल बज्रयान महाबिहार लुम्बिनीको गुरूजु मञ्जुश्री बज्राचार्य ।
चाडपर्व मनाउने सवालमा सम्पूर्ण समुदायले निर्धारित र एकै दिनमा मनाउनुपर्नेमा जोड दिनुभएको छ । चाडपर्वमा एकरूपता नहुँदा समस्या देखिएको हुनाले परम्परा र ज्योतिष विद्यालाई मिलाएर पात्रो प्रशाकन गर्न आग्रह गर्नुभएको छ ।
८) वाल्मिकी विद्यापीठका उपप्राध्यापक शान्तरत्न बज्राचार्य ।
हालको काठमाडौं उपत्यकामा वाग्मती र विष्णुमती नदीसँगै मानव सभ्यता विकास भएको हुनाले यो ठाउँमा बसोबास गर्ने समुदायले मनाउँदै आएको चाडपर्वमा अलमल नहुनुपर्नेमा जोड दिनुभएको छ । सुरुमा मुसलमान, हिन्दु, खसआर्य, मधेशी जोकोही बसाइ सराइ गरी आउँदा नेवार बनेको आजकल उल्टो भइरहेको सन्दर्भ जोड्नुहुँदै सबै समुदायलाई जोड्ने सेतुमा एकरुपता आउनुपर्नेमा जोड दिनुभएको छ ।
९) दबुलि नेपालका अध्यक्ष ई. सन्तोष प्रजापति तथा ई. सुरेश बज्राचार्य ।
नेपाल सरकारकाे आधिकारिक निकाय नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति नै हाे । हामी सबैले यसैलाई मात्र आधार बनाउने हाे भने तिथिकै कारणले एउटै चाडलाई ठाउँ विशेष फरक दिनमा मनाउने समस्या आउँदैन/नअाउन सक्छ ।
➡️ भक्तपुरका नागरिकले तलेजु, ललितपुरकाले क्वाःबहाः र काठमाडौंका नागरिकले जनबहाःले उपलब्ध गराउने तिथिलाई चाड मनाउने तिथिकाे आधार बनाएकाे देखिन्छ । बिडम्वना यी तिनै निकाय एकअर्कासँग मिल्दैनन् र फरक फरक तिथिमिति सार्वजनिक गर्छन् । अहिलेकाे सबभन्दा जर्जर समस्या यिनिहरूमै देखिन्छ । यी तिनवटा निकायले छलफल गरेर समन्वयकाे आधारमा एउटै तिथि सार्वजनिक गरिदिएकाे खण्डमा अहिले समस्या समाधान हुने पक्का छ ।
➡️ चाड मनाउन सर्कुलर जारी गर्ने निकाय टाेलैपिच्छे भएर पनि सर्वसाधारण नागरिकलाई झन् अलमल गरेकाे देखिन्छ । चाडपर्व खगाेल विज्ञान र संस्कृतिसँग सम्बन्धित विषय हाेला, त्यसैले चाडकाे तिथि र मिति ज्याेतिषी र दैवज्ञकै आधारमा सार्वजनिक हुनुपर्छ । तर अहिले कसैले भनेकै आधारमा खाली कागजमा लेखेर फलानाे मितिमा चाड मनाउनु, ढिस्काना थिति नै हुनुपर्छ जस्ताे अासयकाे सर्कुलर जारी भएकाे देखिन्छ । जुन सरासर गलत छ ।
➡️ नेपाल सम्वतले सरकारी मान्यता पाएसँगै तिथिमितिमा अलमल हुँदै अाएकाे देखिन्छ । उहिले न नेपाल सम्वतले राष्ट्रिय मान्यता पायाे न त यस्ताखाले अलमल नै थियाे । तात्पर्य नेपाल सम्वत र तिथि व्यवहारिक रूपमा ठिक हाेइन भन्ने प्रमाणित गर्न चाहने तत्वले तिथिमितिमा फरक देखाएर चाड मनाउनेमा अलमल गरि षड्यन्त्र गरिरहेकाे देखिन्छ ।
➡️ कुन तिथिमा कुन चाड मनाउने भन्ने विषयकाे विवाद, तर्क र वितर्क सर्वसाधारण नागरिकले गर्ने नै हाेइन । याे त नितान्त प्राविधिक विषय हाे । यसमा ज्याेतिषी र दैवज्ञ घाेत्लिनुपर्छ ।
➡️ तिथिमितिकै कारणले सर्वसाधारण नागरिकलाई चाड मनाउन अलमल नगराउने विकल्प पनि छ । त्याे के हाे भने, माथि उल्लेखित तिनवटै निकायका प्रतिनिधिलाई सदाबहार रूपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाे कार्यसमितिमा अट्ने गरि कार्यविधि, नियमावली व विधान संशोधन गर्ने र साेही तिनवटाले तिथिमिति सार्वजनिक गर्न नपाउने गरि अधिकार कटाैती गरिदिने । यिनै तिनवटा निकायहरूले फरक मिति सार्वजनिक नगरेकाे भए सर्वसाधारण नागरिकलाई त के ? कुन तिथि भन्याे साेही तिथि बमोजिम चाड मनाउने त हाे । टन्टै साफ् ।















































































