लेखकको नजरमा मध्यपुरको सञ्चार इतिहास र सञ्चारकर्मी
-KK Manandhar
आम चासो भएको नयाँ सुचना जसले समाजलाई सकारात्मक परिवर्तन गर्ने ल्याकत राखेको हुन्छ, त्यहि वास्तविक रुपमा समाचार हो । दृष्टिकोणपिच्छे समाचारलाई व्याख्या गर्नेहरु पनि छन् । कोही एन.ई.डब्यू.एस (न्यूज) लाई नर्थ, ईस्ट, वेस्ट र साउथबाट आएका सुचना नै समाचार हो भन्न रुचाउँछन् । विकीपेडियाले कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो भनेको छ । सञ्चार सम्बन्धिका अध्येता डेसिन म्याक्वेलले पैसा लिएर निश्चित चीजबस्तुलाई प्रचार गर्नु समाचारको मुख्य काम हो, भनेका छन् । त्यसमा काम गर्ने व्यक्तिलाई सञ्चारकर्मीको रुपमा प्रस्तुत गरिन्थ्यो । भलै अहिले व्यक्तिको पेशा बनेको छ । सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिको लागि आचारसंहिता निर्माण भएको छ । धेरै देशका सञ्चार आचारसंहिताले सञ्चार माध्यममा काम गरेर पैसा लिएपनि समाचार लेखेर स्रोतबाट प्रत्यक्ष रुपमा पैसा लिन नपाउने व्यवस्था गरेको छ । सुचनाको स्रोतबाटै पैसा लिएर व्यक्तिले समाचार बनाउँदा पूर्वाग्रही हुने भएर पनि सञ्चार क्षेत्रमा आचारसंहिताको महत्त्व बढेको हो । नियोजित रुपमा प्रोपागान्डा गरेर आजकल पैसामा बिक्ने समाचारहरु पनि प्रकासन÷प्रशारण भएका उदाहरण छन् । त्यस्ता समाचार र समाचार लेख्ने व्यक्तिलाई राम्रो दृष्टिले हेरिँदैन । आचारसंहिता मात्र त्यस्तो एउटा व्यवस्था हो जसले सञ्चार क्षेत्रमा हुने गलत कामलाई नियन्त्रण गर्न सक्छ ।
सुचना र समाचारको महत्त्व यति धेरै हुन्छ कि यसैको भरमा मानव जीवनलाई निर्धारण गर्नेदेखि देश, राष्ट्रियता, धर्म, स्वाधिनता लगायत थुप्रै अवयव आधारित हुन्छन् । डाक्टरले गम्भीर प्रकृतिका रोगीलाई उपचार र औषधिको सुचना नदिँदा कस्तो प्रभाव पर्ला ? कूटनीतिज्ञ र इन्टलिजेन्स व्यूरोले राजनीतिज्ञलाई छिमेकी देशको सम्भाव्य रणनीति र परराष्ट्रनीतिको सुचना नदिँदा कस्तो होला ? ठ्याक्कै त्यस्तै धेरै विषयमा सुचना र समाचारको भूमिका महत्त्वपूर्ण हुन्छ । देशमा राजनीतिक परिवर्तन, विकास निर्माण, स्थायित्वको लागि पनि सुचना र समाचारको महत्त्व उत्तिकै हुन्छ । त्यसैलेपनि समाचारलाई निश्चित शब्दावली वा वाक्यमा अथ्र्याउन कठिन छ । वृहत् अर्थ लागेजस्तै यसका प्रकार पनि धेरै छन् । उच्च शिक्षाको पाठ्यपुस्तक बमोजिम छापा र विद्युतीय गरी दुई किसिमका समाचार हुन्छन् । एउटा पत्रिकामा लेख्ने शैली, जसमा समाचारको सुरुको लाइन लिड (आमुख) बाट प्रारम्भ हुन्छ । उल्टो पिरामिड आकारमा प्राथमिकता निर्धारण गरी समाचारका विषयहरु उल्लेख गरिन्छन् । अर्को भनेको विद्युतीय शैलीका समाचार जसमा एकै सासले प्रत्येक वाक्य पढि सक्नुपर्ने र पहिलो वाक्यलाई दोस्रो वाक्यले पुष्टि गरी लेख्नुपर्ने उल्लेख छ । त्यस्तै विधागत समाचारको सन्दर्भ बेग्लै भयो । लेखनको शैली र विधालाई थाँती राख्ने हो भने उद्देश्य, अनुसन्धान, जानकारी, शिक्षा, सचेतना, सुसूचित गर्ने सन्दर्भमा थुप्रै प्रकारका समाचारहरु हुन्छन् । सोही बमोजिमको समाचार तयार गर्ने काम पत्रकारिता पनि । सरकारी पहुँचको रेडियो नेपाललाई अपवाद मान्ने हो भने उहिले छापा माध्यमबाट गरिने पत्रकारिता मात्र अस्तित्वमा थियो । त्यस्तो सशक्त माध्यम, सोही क्षेत्रमा काम गर्ने सञ्चारकर्मी वा स्वतन्त्र लेखकको रुपमा उदाएका मध्यपुरलाई कर्मभूमि बनाएका र मध्यपुरले जन्माएका पत्रकारहरुको पृष्ठभूमि यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
मध्यपुरमा साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु भएको देखिन्छ । तत्कालीन अवस्थामा उद्देश्यपरक पत्रकारिताको रुपमा साहित्यमार्फत राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज बुलन्द गर्न पत्रिकाको सुरुवात गरेको देखिन्छ । त्यो बखतको पत्रकारिता आम चासोको विषय जो समाज परिवर्तनको लागि साहित्यमार्फत गरिएको सुचना प्रवाह थियो । राजनीतिक अभीष्ट पूरा गर्ने मुल ध्येयले भाषिक, सांस्कृतिक चेतना जागृत गर्नको लागि स्थानिय नेपालभाषामा पत्रिकाहरु प्रकाशित भएका थिए । त्यसपश्चात् व्यावसायिक पत्रकारितासँगै मुलधारको भाषाबाट समेत पत्रिका सुरु भएको देखिन्छ ।
नेपालभाषाको पत्रकारिता
२०१९ (नेपाल संवत् १०८४)मा बोडेबाट “मूस्वां” नामक पहिलो पाण्डुलिपिको साहित्यिक पत्रिका प्रकाशन भएको थियो । श्यामसुन्दर थाले सम्पादन गरेको सोही पत्रिका आजको मितिसम्म भेटिएको मध्यपुरको सबसे पुरानो पत्रिका हो । नेपालभाषामा मूस्वांको अर्थ एकथरीको विशेष फूल वा मुख्य फूल भन्ने हुन्छ । त्यसपछि २०२१ वैशाखमा नेपालभाषाकै साहित्यिक पत्रिका “सगं” प्रकाशन भएको थियो । जनकवि दुर्गालाल श्रेष्ठले सम्पादन गरेको पत्रिका नै मध्यपुर थिमिको पहिलो छापा माध्यमबाट प्रकाशित भएको पत्रिकाको रुपमा उदाएको हो । यही पत्रिकालाई २०२४ सालमा विद्यालयस्तरको कक्षा ६ को पाठ्यपुस्तकको रुपमा समेत प्रयोग गरियो ।
विक्रम संवत् १९८२ मा भारतको तत्कालीन राजधानी कलकत्ताबाट ललितपुर निवासी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले नेपालभाषाको पत्रिका प्रकाशन गरेको इतिहास छ । तत्कालीन नेपालमा राजनीतिक र प्राविधिक हिसाबले सम्भव नभएर “बुद्ध धर्म व नेपालभाषा” नामक पत्रिकालाई भारतबाट प्रकाशित गरिएको हो ।

त्यस्तै फत्तेबहादुर सिंहको सम्पादन रहेको “नेपालभाषा पत्रिका” नामक दैनिक नेपालभाषाको पहिलो पत्रिका २०१२ देखि प्रकाशित हुनथाल्यो । त्यसपश्चात् २०१० मा काठमाडौंको च्वसापासाबाट साप्ताहिक पत्रिका “पासा” प्रकाशित भएको देखिन्छ । पत्रिका प्रकाशन गर्नु तीन वर्षअघि अर्थात २००७ मा भारतको कलकत्तामा प्रेमबहादुर कंसाकार तथा मदन लोचन सिंहहरु मिलेर जनताको राजनीतिक चेतना जागृत गर्ने उद्देश्यले संस्था गठन गरेको बताइन्छ । त्यसपश्चात् नेपालमा प्रजातन्त्र बहाली भएसँगै संस्थालाई काठमाडौंमा ल्याएर पत्रिका प्रकाशन थालेको देखिन्छ । २०४० सालमा कृष्णसुन्दर मल्ल (मल्ल के. सुन्दर) सम्पादक रहेको “इनाप” नामक पत्रिका अस्तित्वमा आयो । इनाप पत्रिकाले तत्कालिन युवाहरुलाई पत्रकारिता गर्न प्रोत्साहित गरी भाषा सम्बन्धीको चेतना जगाउने काम समेत ग¥यो । त्यसपछि २०४५ सालमा नेपालकै पहिलो सन्ध्याकालीन दैनिक पत्रिकाको रुपमा विश्वभूमि प्रकाशन हुनथाल्यो ।

सुरुमा नेपाली भाषा भएपनि त्यसलाई पछि नेपालभाषाको पत्रिका बनाइएको थियो । सुशीलवीर सिंह कंसाकार प्रकाशक र अशोक श्रेष्ठ सम्पादक रहेको विश्वभूमि दैनिक त्यो बखतको चर्चित पत्रिकाको रुपमा थियो । नेपालमा भएको २०४६ को बहुदलीय प्रजातान्त्रिक आन्दोलन ताका नयाँ नयाँ सुचना सम्प्रेषण गर्ने भएर पनि उहिलेको विश्वभूमिले चर्चा बटुलेको थियो । लगत्तै पाँच वर्षपछि अशोक श्रेष्ठले विश्वभूमि पत्रिकालाई छोडेर “न्हूगु विश्वभूमि” पत्रिका प्रकाशन गर्न थाले । अहिलेपनि पाँच वटा दैनिक, १२ वटा साप्ताहिक र एउटा पाक्षिक पत्रिका प्रकाशन हुँदै आएको छ । त्यसमध्ये नेपालभाषाको पहिलो रङ्गीन साप्ताहिक पत्रिकाको रुपमा “लहना वाःपौ” २०७१ देखि प्रकाशन हुन थाल्यो । पत्रिकामा सम्पादकको रुपमा कृष्णकाजी मानन्धर (केके मानन्धर) लाई नियुक्ती दिएर शिला सायमि अध्यक्ष रहेको तयेजु प्रकाशनले पत्रिका प्रकाशन गरेको हो । त्यसरी नै मकवानपुरबाट हेटौंडा वाःपौ, नेपालभाषा टाइम्स, लायकू, पेजथ्री, अप्सरा, देशय् मरु झ्याः, नेवाः जः लगायतका पत्रिका प्रकाशन हुँदै आएको छ । उल्लेखित पत्रिका मध्ये सन्ध्या टाइम्स दैनिकलाई नाम परिवर्तन गरी सोही समुहले नेपालभाषा टाइम्स पत्रिका प्रकाशन गर्दै आएको छ । व्यावसायिक पत्रकारितामा मध्यपुरका अग्रज पत्रकार अशोक गलु श्रेष्ठ
मध्यपुर थिमिमा जन्मिएका अशोक गलु श्रेष्ठको नाउँ व्यावसायिक पत्रकारको रुपमा सबसे अग्रपङ्क्तिमा आउँछ । साहित्यिक पत्रिकामार्फत उद्देश्यपरक पत्रकारिता हुँदैआएकोमा उहाँले नयाँ आयाम थपेर व्यावसायिक पत्रकारिता सुरुवात गरेको देखिन्छ । यहि आधारले पनि मध्यपुरको पत्रकारिता क्षेत्रको इतिहासमा उहाँको योगदान स्मरणीय छ ।
निर्दलीय पञ्चायती व्यवस्थामा पत्रिका दर्ता बन्द थियो । आमजनतामा राजनीतिक चेतना जागृह हुने भयले तत्कालीन पञ्चायती सरकारको विरुद्ध बोल्न पाइँदैनथ्यो । “एक भाषा एक नीति” अवलम्बन गरेको सरकारले खस नेपाली भाषा बाहेक अन्य सम्पूर्ण भाषालाई दमन गरेको त्यो जर्जर अवस्थामा समेत उहाँलगायतको समुहले नेपालभाषाकै माध्यमबाट पत्रिका प्रकाशन गरेको इतिहास छ । नयाँ पत्रिका दर्ता गर्न नपाइने त्यो बखत अर्थात २०४५ सालमा सरकारलाई चुनौती दिँदै नेपालभाषामा नेपालकै सबसे पहिलो सन्ध्याकालीन पत्रिकाको सुरुवात उहाँले गरेका थिए । अशोक गलु श्रेष्ठले तत्कालीन बखत सुशीलवीर सिंह कंसाकारलाई प्रकाशक बनाएर विश्वभूमि नामको दैनिक पत्रिका चलाएको देखिन्छ । नेपालभाषामै पत्रिका प्रकाशन गर्ने उहाँको तीव्र इच्छाको कारणले तत्कालीन सरकारको प्रशासनिक कठिनाइ झेल्नु परेको बताइन्छ । सुचना विभागमा स्वयं जाँदा पत्रिका खरिद तथा भाषा परिवर्तनको लागि निवेदनै दर्ता गर्न नमानेका उहिलेका कर्मचारीलाई हुलाकमार्फत निवेदन दर्ता गरेर बाध्य बनाएका थिए । उहाँको विवेकले प्रशासनिक संयन्त्रलाई समेत मात दिएर पत्रिका प्रकाशन गर्न सफल भएको नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका संस्थापक सदस्य चन्द्रकृष्ण (गोपाल) श्रेष्ठले सम्झिए । फरक मत अभिव्यक्त गर्ने स्वीकृति नभएको निर्दलीइ पञ्चायती व्यवस्थालाई चुनौती दिँदै दर्ता नखुलाइएको अवस्थामा नेपालभाषामै पत्रिका प्रकाशन गर्न उहाँले देखाउनु भएको कुशलता सम्पूर्ण पत्रकारहरुको लागि प्रेरणा हुनसक्छ ।
मध्यपुर सञ्चार समाज र बाबुकाजी साःछेँ श्रेष्ठ
बाबुकाजी साःछेँ श्रेष्ठ मध्यपुरको लागि नयाँ अनुहार होइन । सामाजिक, राजनीतिक र पत्रकारिता क्षेत्रमा योगदान दिएका उनै श्रेष्ठले २०६८ चैत २९ गते मध्यपुरका सम्पूर्ण सञ्चारकर्मीहरुलाई समेटेर पेशागत संस्थाको स्थापना गरे । यो संस्थाले मध्यपुरमा जन्मेर फरक ठाउँमा पत्रकारिता गरेका र मोफसलमा जन्मेर मध्यपुरलाई पत्रकारिताको कर्मथलो बनाएका सञ्चारकर्मीहरुको लागि काम गर्दै आएको छ । राजधानी काठमाडौंसँग जोडिएको भएर पनि ओझेलमा परेको मध्यपुरको शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सम्पदा तथा अन्य विषयहरु प्रचार गर्ने क्षेत्रमा समाजले विशेष भूमिका खेल्दै आएको छ । सोही चीजबस्तुलाई मनन गरी उहाँको नेतृत्वमा मध्यपुर सञ्चार समाज गठन गरिएको हो ।
 |
| Addressing Babukaji Sachhen Shrestha for Madhyapur Sanchar Samaj. |
बाबुकाजी साःछेँ श्रेष्ठको प्रेस र सञ्चारकर्म २०४० सालदेखि सुरु भएको हो । सुरुमा “द कम्नर प्रेस”का कम्पोजरको रुपमा काम थालेका उहाँले पछि विभिन्न पत्रिकाको लागि ब्लक बनाउन थाले । क्रमशः आफ्नो क्षमता विस्तार गरी डेढ वर्ष पश्चात् पत्रिकाको पेज सेटिङ बनाउन थाले । गोपालदास श्रेष्ठ सम्पादक/प्रकाशक रहेको ४ पेजको दैनिक पत्रिकालाई सबसे पहिले उहाँले पेज सेटिङ गरेका हुन् । लगत्तै उहाँले ४२ सालतिर पाटन मंगलबजारमा अवस्थित श्रीप्रेसमा काम थाले । त्यहाँ पनि गर्जन, मूल्यांकन तथा अरु फुटकर पत्रिकाको लागि पेज सेटिङ गरे । मध्यपुरमा जन्मेका बाबुकाजी साःछेँ श्रेष्ठको सुरुवाती सञ्चार कर्मथलो पाटन भएपनि पछि उहाँले काठमाडौंमा काम थाले । त्यहाँ पनि इन्द्रेणी वार्षिक पत्रिकादेखि थुप्रै पत्रिकाको लागि पेज सेटिङ तथा अन्य फुटकर लेखहरु लेख्न थाले । उहाँले प्रेसमा काम थालेसँगै नेपालभाषा तथा नेपाली भाषाका चर्चित साहित्यिक पत्रिकाहरु सगं, नौलो कोशेली, नेस्टार, सितु, ग्वहालि, थि लगायतका पत्रिकामा आवद्ध भएर काम गरेको अनुभव बटुलेका छन् । कालान्तरमा २०५९/६० तिर आफ्नै प्रकाशनमा ई. राजेन्द्र तूबन्जा श्रेष्ठको सम्पादनमा थेम्मृङ पत्रिकाको सुरुवात गरे । सुरुमा प्रचलित नेपाल लिपि तथा नेपालीभाषाबाट प्रकाशन थालेको थेम्मृङलाई पछि देवनागरिक लिपि बनाइएको छ । अहिले भने उहाँ सो पत्रिकामा प्रकाशक÷सम्पादक छन् । पत्रिकामा निर्देशक कृष्णकाजी मानन्धर, सहसम्पादक सागर गुरागाइँ, सहनिर्देशक चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ तथा समाचारदाताहरुमा क्रमशः सुमन श्रेष्ठ र हरिबहादुर श्रेष्ठ छन् ।
त्यसपश्चात् २०६४ मा मध्यपुरकै पहिलो दैनिक पत्रिकाको रुपमा प्रकाशित भएको सन्ध्यादृष्टिमा पनि उहाँले काम थाले । सात वर्षसम्म निरन्तर चलेको पत्रिकालाई मध्यपुरका युवाहरुको समुह शुभेच्छा पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको थियो । सो पत्रिकाको लागि सुरुमा ई. राजेन्द्र तूबन्जा सम्पादक रहेपनि पछि ईश्वरलाल श्रेष्ठले सम्पादनको काम थालेका थिए ।
विद्युतीय सञ्चार माध्यममा मध्यपुरका बसन्त नकर्मी
उहिले सिंहदरबारभित्रैबाट १०० मेगाहर्जमा विभिन्न एफ.एम च्यानलहरु प्रशारण हुन्थे । सोही बखत अर्थात २०५५ तिर मध्यपुरका बसन्त नकर्मीले उत्पादन गरेको रेडियो कार्यक्रम सुनिन्थ्यो । अग्रज सञ्चारकर्मी नकर्मीले अहिले भने साहित्यिक क्षेत्रमा आफुलाई उभ्याएका छन् । क्लासिक एफ. एम १०० मेगाहर्जमा उहाँले २०५७ सम्म “हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति” नामको रेडियो कार्यक्रम चलाउँथे ।
 |
| Photo archive of Radio Nepal. |
सुरुमा जयप्रकाश रिजाल प्रस्तोता भएपनि कार्यक्रमको लागि सम्पूर्ण तयारी उहाँले नै गर्थे । रेडियो नेपालमा साँझ ६ः०० देखि ६ः३० सम्म छ महिना सञ्चालन भएको कार्यक्रम, पछि ६ः०० देखि ७ः०० सम्म एकघण्टे बनाइएको थियो । सुरुमा रेडियो कार्यक्रम संयोजन÷उत्पादन गरेका उहाँले पछि आफैले पनि कार्यक्रम प्रस्तोताको रुपमा काम थाले । सम्भवतः बसन्त नकर्मी नै मध्यपुरका सबसे पहिले विद्युतीय सञ्चार माध्यममा आवद्ध भएका सञ्चारकर्मी हुन् । त्यसपछि २०६३ सालदेखि समाचार वाचक÷कार्यक्रम निर्माता/समाचारदाताको रुपमा सगरमाथा टेलिभिजनमा प्रवेश पाएका मध्यपुरका कृष्णकाजी (केके) मानन्धरले २०६४ देखि टेलिभिजनको पर्दामा समाचार वाचन थालेका हुन् । उहाँ सम्भवतः मध्यपुरबाट टेलिभिजनको पर्दामा देखिएका पहिलो व्यक्ति हुन् । त्यस्तै नारायण भक्त सिबन्जा श्रेष्ठ तथा लक्ष्मीप्रकाश भाग्यो श्रेष्ठले नेपाल टेलिभिजनमा दृश्य सम्पादकको रुपमा काम गरेका थिए । अरु पनि प्राविधिक रुपमा काम थालेका मध्यपुरेहरु छन् । छापा सञ्चारमा दानदास श्रेष्ठ, ज्ञानराम श्रेष्ठ, रत्न कृष्ण श्रेष्ठ, विश्वेश्वर श्रेष्ठ, पृथ्वीराम श्रेष्ठ, जगत प्रजापति, दिपक श्रेष्ठ, रामकृष्ण शंखदेव, प्रवीण जोशी, सागर गुरागाइँ, सुमन श्रेष्ठ, रत्न प्रजापति, श्रीकृष्ण श्रेष्ठ, चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ, प्रदीप जामनः श्रेष्ठ, विनोद कोजु, श्याम था, रेणु श्रेष्ठ, संजीव था, विज्ञान श्रेष्ठ, सूर्यराम था, निरज वाडे, रत्नकाजी प्रजापति, बैकुण्ड जगुलु श्रेष्ठ, लक्ष्मीबहादुर भाग्यो श्रेष्ठ, विकास द्वारे, नरेन्द्र श्रेष्ठ लगायतको नाउँ मध्यपुरको लागि महत्वपूर्ण छ । त्यस्तै, मध्यपुरकै पत्रिका मनोहरा टाइम्सका प्रकाशक साुनकाजी हेक्का, व्यवस्थापक चन्दनकृष्ण श्रेष्ठहरु पनि मध्यपुरको छापा सञ्चारमा योगदान दिएकाहरु मध्ये पर्छन् । अझ मध्यपुरको सञ्चार इतिहासले बिर्सन नहुने मध्ये बैकुण्ठ हरि साहु श्रेष्ठ हुन् जसले उहिले सोभियत भूमि, योजना साप्ताहिक, जनादेश साप्ताहिक, मूल्यांकन मासिक लगायतका पत्रिकालाई घरघरमा पु¥याउने जिम्मेवारी पाएका थिए । सम्भवतः यहीँबाट मध्यपुर क्षेत्रमा पत्रिका वितरणको प्रचलन सुरु भएको देखिन्छ । अहिले पत्रिका वितरणको कामलाई हकरको नाउँ दिएपनि उहाँले हकरसँगै पत्रिकामा लेख, रचना, आलेख पनि छपाउँथे ।मध्यपुरबाट प्रकाशन/प्रशारण भएका सञ्चार माध्यमहरुः
 |
| Name list of Media from Madhyapur. |
मध्यपुर सञ्चार समाजको स्मरणीय गतिविधिहरुः
 |
| Interaction during investigation journalism training organized by Madhyapur Sanchar Samaj. |
 |
| Welcoming new members by formal president of MSS, Hari Bahadur Shrestha. |
 |
| Picnic program of MSS in Bajrayogini, Sankharapur Municipality. |