Monday, November 30, 2020

 शताब्दी पुरुषलाई मातृभाषाको चिन्ता

१५ मंसीर । केके मानन्धर
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा बोलिने भाषाहरुलाई संरक्षण गर्नुपर्ने बताए । नेवाः पत्रकार राष्ट्रिय दबूमा आबद्ध पत्रकारहरुसँग गरिएको अन्र्तक्र्रिया कार्यक्रममा जोशीले भाषा संरक्षणमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराए ।
देशको पहिचानसँग सम्बन्धित भाषा बचाउनको लागि राष्ट्र भाषालाई अनिवार्य रुपमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पाली भाषा र संस्कृत भाषा अहिले मृततुल्य छ । यसको अर्थ करिव मरिसकेको भन्ने हो ।’ शताब्दी पुरुष जोशीले चिन्ता व्यक्त गरे । त्यस्तै, जोशीले आआफ्ना घरमा नानीहरुसँग मातृभाषाबाटै कुराकानी गर्न आग्रह पनि गरे । आफ्नै रहनसहन, चाड तथा जात्रापर्वबारे सन्ततीलाई बुझाउन सके मात्र नेपालको मौलिक पहिचान जिवित रहने वास्तविकता हो ।
२०६८ सालको जनगणना बमोजिम नेपालमा एक सय २३ प्रकारका भाषाहरु छन् । सोही तथ्यांकमा ३५ प्रतिशत नेवारलाई मातृभाषा बोल्न नआउने उल्लेख गरिएको छ । यसको अर्थ राजधानी जस्तो सुुगम ठाउँमा बसोबास गर्ने सचेत रैथानेले पनि मातृभाषालाई छोड्दै गएको देखिन्छ । एक त फेसनको रुपमा आआफ्ना मातृभाषालाई बिर्सिएर दोस्रो र तेस्रो भाषा अंगालेको हुनाले नेपालमा भाषिक विविधतामा संकट पैदा भएको देखिन्छ भने सरकार कै अस्पष्ट भाषा नीतिको कारणले पनि भाषा संरक्षणमा समस्या भएको हो ।
२०७२ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामै बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक देश उल्लेख छ । तर संविधानको भाग १ खण्ड ७ (१) मा सरकारी कामकाजको भाषाको रुपमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र उल्लेख छ । खण्ड ७ (२) मा प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ । र ७ (३) मा भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिस बमोजिम हुनेछ भन्ने उल्लेख छ । तर विडम्बना भाषा संरक्षणको लागि आयोग बनाइए पनि भाषा आयोगको प्रभावकारीमा प्रश्नचिन्ह छ । त्यस्तै संघीयता कार्यान्वयनसँगै प्रदेश नं. २ बाहेक अन्य प्रदेशमा कानुनको औचित्य पुष्टि गर्न गाह्रो भइरहेको वास्तविकता हो । त्यहि भएर पनि मातृभाषा छोड्नेहरुको लर्को बढ्दो छ ।
यति भइरहँदा स्थानिय सरकार अन्तर्गत काठमाडौं महानगरले भाषा संरक्षणको सवालमा हालै गरेको पहलकदमी स्वागतयोग्य छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा ३ तहका सरकार मध्ये काठमाडौं महानगरपालिकाले भाषा क्षेत्रमा उदाहरणीय काम थालेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार प्रयोग गरी भाषा, संस्कृति र ललितकला संरक्षण र विकासमा प्रयास थालेको हो । स्थानिय पाठ्यक्रम तयार गरी सम्पदा, संस्कृति तथा स्थानिय भाषालाई विद्यायलस्तरमा पढाउने प्रयास भएको देखिन्छ । यसको प्रभावकारी कायान्वयन पक्ष भने हेर्नै बाँकी छ ।
सरकारले २०७८ को जनगणनाको लागि तथ्यांक संकलन गरिरहेको छ । सोही सन्दर्भमा पनि शताब्दी पुरुष जोशीले नेपालको मौलिक पहिचान बचाउनको लागि जनगणनामा आउने अधिकारीलाई सत्यतथ्य विवरण उपलब्ध गराउन आम नेपालीमाझ आग्रह गरे । आआफ्नै मातृभाषा, धर्म तथा थातथलो सम्बन्धीको स्पष्ट विवरण उल्लेख गराउन सके सर्वस्वीकार्य तथ्यांक सार्वजनिक हुने जोशीको मत छ । जनगणनाको समयमा हचुवाको भरमा धर्म, भाषा, समुदाय तथा अन्य विवरण उल्लेख गरिँदा तथ्यांकमा समस्या हुने देखिन्छ । समुदाय सचेत भएमात्र तथ्यांकको परिणाम स्पष्ट हुने तथ्यांकविद्को परिचय समेत बनाइसकेका जोशीले दाबी गरे ।
नेवाः पत्रकार राष्ट्रिय दबूको कोडिभ– १९ सचेतना कमिटीले विभिन्न क्षेत्रका विज्ञसँग केहि समय यतादेखि अन्र्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । सोही क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीसँग २५ औँ कार्यक्रम गरेको हो । दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले सञ्चालन गरेको कार्यक्रमलाई गोरखापत्र दैनिकमा आवद्ध पत्रकार प्रजित शाक्यले संयोजक गरेका हुन् । कमिटीका अन्य सदस्यहरु मध्ये रचना श्रेष्ठ, मिना बज्राचार्य, तेजनारायण महर्जन, अनुप प्रधान र हसना लवजूले साप्ताहिक रुपमा कार्यक्रम गरिरहेका छन् ।
PC: subhaviyan/facebook

Wednesday, April 22, 2020

काेराेना महामारी र पत्रकार आचारसंहिता 



केके मानन्धर, सञ्चारकर्मी 

कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वभर बीसौं लाख संक्रमित र लाखौं मान्छे मरेका छन् । औषधि बनि नसकेको भएर पनि यसले त्रास मच्चाएको हो । आशा गरौं अहोरात्र खटिएका वैज्ञानिकहरुले औषधि बनाएर यसको निदान बेलैमा गर्नेछ ।

चीनको हुवाई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरस सन् २०१९ को अन्ततिर पहिचान भएकोले कोभिड–१९ भनियो । नयाँ गुण बोकेको कोरोना परिवारको भाइरस भएर यसलाई नोभेल कोरोना भाइरसको रुपमा चित्रण गरिएको छ । कोभिड–१९ ले विश्वभर त्रास मच्चाइरहँदा नेपाल अछुटो हुने कुरो भएन ।

जल, थल र हवाईमार्गले विश्वका कयौं देशसँग जोडिएको भएर नेपालमा कोरोनाको महामारी फैलिन समय लागेन ।

महामारीको यो राष्ट्रिय संकटको बखत धेरैले सामाजिक सेवा गरेका छन् भने कतिपयले भाइरसविरुद्धको संघर्षमा अग्रपंतिमा रहेर काम गरेका छन् । यहि मौकामा निश्चित व्यक्तिले धमिलो पानीमा माछा मारेर निहीत स्वार्थपूर्ति पनि गरेका छन् ।

स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचार, कालोबजारी तथा सामाजिक सद्भावमा खलल पार्ने काम अर्को उदाहरण देखियो । सामाजिक सद्भाव बिथोल्ने प्रयास, अफवाह, तथ्य बंग्याएर जातीय र धार्मिक कलह निम्त्याउने किसिमका हरकतहरु भएका छन् ।


कोरोनाको विषयमा धार्मिक प्रोपागान्डा:

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ (मुखिया)लाई भारतीय न्यूज च्यानलहरुले कोरोना फैलाएको आरोप लगाएसँगै समग्र मुस्लिमहरु यसमा मुछिँदै आएको देखिन्छ । उनलाई नेपालका ४०–५० जना कोरोना संक्रमितहरु भारतमा प्रवेश गराएर आतंक मच्चाउने षड्यन्त्र गरेको आरोप थियो । त्यसपछि गाउँपालिकाले विज्ञप्ति नै जारी गरी यो विषयमा भत्सर्ना गर्नुपरेको थियो ।

भलै यो समाचार मिथ्या साबित भयो । यसलाई नेपाल सरकारले पनि आधिकारिक रुपमा गलत भनिसकेको छ । तर मिथ्या समाचार प्रकाशित गरि स्थानिय सरकार प्रमुखलाई गरिएको चरित्रहत्याको कारबाही कस्तो हुने र कूटनीतिक पहल भारतसँग कसरी गर्ने भन्ने विषयमा नेपालले बोलेको छैन ।

एउटै विषयबस्तुलाई भारतीय हावादारी न्यूज च्यानलहरुले ‘फिर देखिए, गौर से देखिए, और देखिए’ भन्दै मियाँको आधारहीन समाचार दोहोर्याइ तेहर्याइ देखाएर नेपाली दर्शकलाई वाक्क बनाएको थियो ।

भारतीय न्यूज च्यानलले नेपाली इस्लाम धर्मावलम्बीलाई मुछेर समाचार दिन छोडेसँगै अहिले भने निश्चित नेपाली पत्रकारहरुले यसैलाई निरन्तरता दिन खोजेका भान हुन्छ । यसको ज्वलन्त उदाहरण मुस्लिम महिलाले थुक राखेर जनकपुरमा नोट छरेको हल्ला, पर्साकै विभिन्न मुस्लिम बस्तीको झगडा तथा उदयपुरको मस्जिदमा बसेका इस्लाम धर्मावलम्बीलाई लुकिछिपी बसेको भन्ने निराधार आरोपको नियोजित समाचार हो ।

जनकपुरको महावीर चोकमा पैसामा थुक राखेर छरेको भन्ने निराधार हल्लालाई धेरै सञ्चारगृहले कोरोना भाइरस फैलाउनकै लागि ती महिलाले हरकत गरेको सम्मको समाचार लेख्न भ्याए । जबकि ढक्कीमा तरकारी बेच्ने ती महिलाहरुको स्वास्थ्य परीक्षण पछि संक्रमण नभएको पुष्टि भयो । तरकारी बेच्नको लागि चानचुन पैसा आवश्यक हुने भएर बैंकबाट निकालेको र अन्जानबस बाटोमा झरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भयो ।

इस्लाम धर्मावलम्बीलाई जसरी पनि गलत देखाउने मनसायले कतिपय पत्रकार लागि परेका छन् । यसैको उपज स्वरुप देशैभरका मस्जिदमा बसेका मुस्लिमहरुले नै कोरोना भाइरसको संक्रमण फैलाएको आसयका समाचारहरु प्रकाशित भएका छन् । कतिपय मस्जिदमा सेल्फ क्वारेन्टाइनमा बसेकालाई पनि लुकिछिपी बसेको भन्ने सम्मको आरोप दिएर समाचार प्रकाशित भएका देखिन्छन् । यसलाई फगत धार्मिक प्रोपागान्डा भन्न सकिन्छ । यस्ता समाचारहरु बिल्कुलै गलत हो ।

अधिकारप्राप्त निकायले अनुसन्धान गरेपछि पुष्टि गरेको खबरलाई भने संक्रमण फैलाएको भन्न सकियो । तर हचुवाको भरमा विना आधार आरोप लगाएर भारतीय न्यूज च्यानलले प्रशारण गर्ने शैलीको समाचारलाई नेपालीहरुले अनुशरण गर्नु कदापि मनासिब होइन । निश्चित पत्रकारमार्फत अनुशरण मात्र गरिएन बरु सञ्चार आचारसंहितको ज्ञान नभएकाहरुले विशेषगरी फेसबुकमार्फत भाइरलै बनाउने गरेका छन् ।

यो विषय झन् जटिल र गम्भीर बन्दै गएको छ । पत्रकार मात्रले आचारसंहिता उल्लघंन गरेको भनिरहँदा आफु सिन्को पनि नभाच्ने तर काम गर्ने मान्छेको आलोचनामा समय खर्चिएर सामाजिक सञ्जाल दुषित गर्नेहरुले यस्ता विषयलाई झन् जर्जर बनाएका छन् । प्रोफाइल फोटो, नाम तथा परिचय लुकाएर सामाजिक सञ्जाल चलाइरहेका राजनीतिक, सामाजिक तथा निहीत स्वार्थपूर्ति गर्ने समूहले धार्मिक प्रोपागान्डालाई मलजल हुनेगरी समाज विखण्डन गराउनेमा भूमिका खेलिरहेका छन् ।

तथ्य बंग्याएको समाचार:

केहि दिनयता कीर्तिपुरलाई बदनाम गरेर सामाजिक सद्भाव बिथोल्ने पत्रकारिताको गलत प्रयोग दोहोरिएको छ । नागरिक दैनिक र नागरिक न्यूज अनलाइनले वैशाख २ गते ‘कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला’ शिर्षकको न्यूज सम्प्रेषण गर्यो । तथ्यलाई नियोजित रुपमा बंग्याएर दिलीप पौडेलको बाइलाइनको सो न्यूजले कीर्तिपुर र समग्र नेवार समुदायको ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारले एउटा प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को तथा एउटा स्थानिय तहबाट अर्कोमा जान निषेध गरि लकडाउन गरेको अवस्थामा कोहलपुरबाट एम्बुलेन्समा एक गर्भवती महिला कीर्तिपुर आइन् । कीर्तिपुर नगरपालिका वडा नं. १० को तःननि टोलमा आएर आफन्तले डेरा लिएको कोठामा बसिन् । शुरुमा गर्भवती महिलालाई स्थानिय वडाध्यक्षको रोहबरमा गणेशमान महर्जनको घरमै सेल्फ क्वारेन्टाइन राखिएको थियो ।

सामाजिक दुरी बनाएर बस्नुपर्ने महिलाले लकडाउनको आदेशलाई पटक पटक उल्लंघन गरेपछि स्थानिय समुदायको अनुरोधमा प्रहरीले स्थानिय सरकारको क्वारेन्टाइन स्थलमा राखिएको थियो । जब कि सरकारले नै शंकास्पद व्यक्ति आएमा क्वारेन्टाइनमा बस्नुपर्ने सूचना जारी गरेको सन्दर्भमा कीर्तिपुर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनस्थलमा राखिएकी महिलालाई डेराबाट निकाला गरियो भन्ने तथ्य बंग्याएर गलत शिर्षक राखेर समाचार प्रकाशित हुनुले नेपाली निस्पक्ष पत्रकारितालाई गिज्याएको छ ।

कोहलपुरबाट आएकी महिलालाई घरधनी र समुदायका मानिसले मिलेर दुर्व्यवहार गरेको भन्ने समाचारको कन्टेन्ट अर्को ब्लन्डर देखियो । तथ्य बंग्याएको समाचार र डेराबाट निकाला गरेको गलत घटनाले सामाजिक सद्भावमा खलल पर्ने, घृणा पैदा हुनेदेखि जातीय द्वेष हुने देखिन्छ ।

घरधनी र डेरामा बस्ने महिला फरक समुदायबाट भएर पनि स्थानिय समुदायले भन्ने क्षेत्रगत रुपमा आधारहीत गलत तथ्य उल्लेख गरिँदा यसले एक त डोरामा बस्ने र घरधनी तथा नेवार र खस समुदायबीच दरार ल्याउने सम्भावना रहन्छ । त्यसैले पनि यो विषयलाई लिएर देशभरका नेवारहरुको साझा संस्था नेवाः देय् दबूले विज्ञप्ति नै जारी गरेर तथ्य बंग्याएको समाचारलाई भत्सर्ना गरेको छ ।

यतिमा मात्र सीमित होइन बरु स्थानिय टोलको दाफा खलः, ज्यापु महागुथि नेपाः कीर्तिपुर नगर समिति तथा काठमाडौं उपत्यकाका ११ विभिन्न संघसंस्थाहरुको संयुक्त प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको भनेको छ । यहि विषयमा सम्बन्धित टोलका स्थानिय सरकारका प्रतिनिधि अर्थात कीर्तिपुर नगरपालिका वडा नंं १० का वडाध्यक्ष अमन महर्जनले विज्ञप्ति जारी गरी भिडियो सन्देभमार्फत गलत समाचारलाई खण्डन गरेका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि सोहि विषयमा प्रकाशित नागरिक दैनिकको गलत समाचारले सामाजिक सद्भाव बिथोल्ने प्रतिक्रिया दिएका छन् । उहाँले सन्तुलित र संयमित भएर समाचार प्रकाशित गर्नुपर्ने मत राखे ।

सामाजिक सद्भाव बिथोल्ने सम्बन्धीको सञ्चार आचारसंहिता:

प्रेस काउन्सिल नेपालले सञ्चार तथा पत्रकार आचारसंहिता २०७३ को पहिलो संशोधन २०७६ प्रकाशित गरेको छ । त्यसमा पत्रकार र सञ्चारमाध्यमको कर्तव्यदेखि उनीहरुले गर्न हुने र नहुने कामहरु स्पष्ट व्याख्या छ । आचारसंहिता बेगर काम गरेको खण्डमा उजुरी गर्ने प्रक्रिया र कारबाहीको प्रकृति समेत उल्लेख छ ।

आचारसंहिता अन्तर्गत पत्रकार र सञ्चारमाध्यमको कर्तव्य शिर्षक ४ (२) मा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वर्ध्दनका लागि सदैव सत्य–तथ्य सूचना प्रवाह गर्नुपर्ने उल्लेख छ ।

४ (४)मा महिला, भाषाभाषी, क्षेत्र, समुदायको विकासमा सहयोग पुर्याउने गरी सूचना सम्प्रेषण गर्नुपर्ने भनेको छ ।

त्यस्तै ६ (१) मा पत्रकार तथा सञ्चारमाध्यमले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने उल्लेख छ ।

७ (१) मा पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार सम्प्रेषण गर्नुपर्ने भनेको छ ।

राष्ट्रिय विपदमा संयम शिर्षक अन्तर्गत मानवीय संवेदना, सामाजिक सद्भाव जीवनमाथिको खतराजस्ता विषयमा सतर्कता अपनाउनुपर्ने भनेको छ । तर नागरिक दैनिकको गर्भवती महिलालाई डेरा निकाला शिर्षकको समाचार तथा त्यसपछि गरिएको फलोअप न्यूजमा समेत तथ्य बंग्याएकाले यी बुँदाहरुलाई उल्लंघन गरेको देखिन्छ ।

सोही आचारसंहिताको गल्ती सच्याउन तत्परता अन्तर्गतको बुँदा १ मा समाचार सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशीलतालाई सदैव ख्याल गर्नुपर्ने भनेको छ । त्यस्ता सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु, त्रुटि एवं गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रशारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रशारण गर्नुर्पेमा नागरिक दैनिकका प्रधान  सम्पादक गुणराज लुइँटेलले यसलाई बेवास्ता गरेका छन् ।

लुइँटेलले ट्वीटमार्फत समाचारको स्रोत सुरक्षित रहेको हवाला दिएर चारैतिर आलोचना भएको तथ्य बंग्याएको प्रमाणसहितको समाचारलाई भुल सुधार गर्ने जाँगर नदिनु बिडम्बना हो ।

एकातिर यस्ता भ्रमपूर्ण र तथ्य बंग्याएको समाचारले आमपाठक र दर्शकको विश्वास मेनस्ट्रीम मिडिया हाउसप्रति गुम्दै जाने हुन्छ भने यस्तै कामले निरन्तरता पाउँदा कानूनी बाटो खोज्नुपर्ने बाध्यता हुनसक्छ । त्यसैले गल्तीलाई स्वीकार गरी पत्रकार तथा सञ्चार आचारसंहित बमोजिम भुलसुधार गर्नुपर्ने देखिन्छ ।

चाणक्यको भनाइ छ ‘काम गर्नेले भुल गर्छ । भुल सुधार गरी अघि बढ्नेले धेरै सिक्छ ।’ त्यसैले पनि भुल सुधार गरी अगाडि बढ्नुमा सबैको कल्याण हुनेछ । अझ राष्ट्रिय विपद्को बखत बढी संयमित हुनुपर्छ । गलत आसय जानेगरी समाचार सम्प्रेशण गर्नै हुँदैन ।

प्रत्येक समाचारको प्रभाव आँकलन गरी जिम्मेवार भएर सम्प्रेषण गर्न सके मात्र नेपाली पत्रकारिता र पत्रकारलाई विश्वास गर्ने आधार रहन्छ । यसो नहुँदा निष्पक्ष भनेर प्रचार गरिने पत्रकारिताको साख जोगाउन गाह्रो हुनेछ ।

(लेखक विभिन्न कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्यापन गराउने लेक्चरर तथा सञ्चारकर्मी हुन् । याे लेख समाचार डेस्क अनलाइन न्यूज पाेर्टलमा सम्प्रेषण भएकाे हाे ।)

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...