Friday, October 25, 2019

नेपाल संवत् र शंखधर साख्वाः


नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः हुन् भन्नेमा दुईमत छैन । यो संवत्को विशेषता मौलिक राष्ट्रिय संवत् हुनुमा छ । नेपाल देशकै नाउँमा स्थापित संवत् राष्ट्रिय संवत् हुनु सुखद संयोग हो । तत्कालीन नेपाल मण्डलका राजा राघव देवको पालामा शुरु गरिएको संवत्मा १२ औँसी र ३५४ दिनको एक वर्ष गणना हुन्छ । प्रत्येक तीन वर्षको एक चोटी अनला महिना अर्थात पुरुषोत्तम महिना हुन्छ । 


इतिहास र आधारः

तत्कालिन नेपालमा मानदेव संवत्, शक संवत्, कलिगत संवत् पनि प्रयोग गरिए । शंखधर साख्वाःले शुरु गरेको नेपाल संवत्को मौलिकता पृथक छ । कलिगत संवत् ३९८१ र शक संवत् ८०२ सालमा नेपाल संवत् शुरु भएको हो । आम जनताको ऋण मोचन गरेर शंखधर साख्वाःले मातृभूमिकै नाउँमा नेपाल संवत् शुरु गरेका हुन् । संवत् शुरु गरेका साख्वाःको मूर्ति पशुपतिनाथ परिसरमा छ । वंशावलीमा उल्लेख भए बमोजिम राघवदेवको राज्यकालमा शंखधर साख्वाःले संवत् परिवर्तन गरेका हुन् । वंशावलीमा यसलाई नेपाल संवत् अर्थात नेपाली संवत् भनी उल्लेख छ । 
शंखधरले शुरु गरेको संवत् भएर ‘शंखधरकृत नेपाल संवत्’ पनि भनेका छन् । गोपालराज वंशावलीमा ‘श्री राघवदेव वर्षे ६३ मास ४ । श्री पशुपति भट्टाकरे संवत्सर प्रवृतिकृता’ उल्लेख छ । यो आधारले पनि राजा राघवदेवको पालामा नेपाल संवत् प्रचलनमा ल्याइएको पुष्टि हुन्छ । संवत् शुरु गरेका शंखधर साख्वाःलाई भने फरक अभिलेखमा करिव उस्तै खाले नाउँले जनाएको देखिन्छ । भक्तपुरको जेला टोलस्थित शिलापत्रमा ‘शंख्वा संवत् ८२७ बछलागा दशमी वशुवाः’ उल्लेख छ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल संवत् ८८८ सालमा उपत्यका जिते पश्चात्को भाषा वंशावलीमा साख्वाः र नेपाल संवत् ९६७ को वंशावली साख्वाल उल्लेख छ । राष्ट्रिय अभिलेखालयको विक्रम संवत् १९५१ को ‘नेपालदेशीय पञ्चाङ्गम्’मा श्रीशंखधरकृत नेपाली संवत् १०१४ उल्लेख छ । यी आधारले फरक कालखण्डमा नेपाल संवत् र शंखधर साख्वाःलाई दुरुस्तै उल्लेख नगरे पनि करिव उस्तै खाले जनाउ दिएको देखिन्छ । इतिहास आफैमा तथ्य र तर्कको आधारले पुष्टि हुँदै जाने भएर यी विषयमा अनुसन्धानकर्ताको फरक विचार देखिन्छ ।


पद्मरत्न तुलाधर र नेपाल संवत्को सम्बन्ध :

नेपाल संवत्मा पद्मरत्न तुलाधरको नाउँ स्वतः जोडिन्छ । दशकौं सम्म संवत्को लागि भएको आन्दोलनलाई नेतृत्व गरेका तुलाधरको योगदानलाई बुँदागत रुपमा उल्लेख गरिएको छ ।
नेपाल संवत्लाई राज्यस्तरबाट राष्ट्रिय संवत्को मान्यता दिलाउन नेपालभाषा मंका खलःले तीन दशक सम्म सांगठनिक आन्दोलन चलायो । तात्कालिन बखत खलःको संस्थापक अध्यक्षको रुपमा पद्मरत्न तुलाधरको नाम उदायो । खलःकै नेतृत्वमा नेपाल संवत् ११०० अर्थात २०३७ सालमा आयोजित न्हूदँया भिंतुना ¥यालीले नेपाल संवत्को आन्दोलनको रुप लियो । जुन अहिले सम्म पनि प्रत्येक वर्ष तिहारको गोबद्र्धन पूजा अर्थात नेपाल संवत् अनुरुप कछलाथ्व पारुको दिनमा आयोजना हुन्छ । यहि आन्दोलन पछिल्लो समय देशव्यापी रुपमा मनाउन थालिएको छ । 

बहुदलीय प्रजातन्त्र पश्चात् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेपालभाषा मंका खलःले सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो ।

तत्पश्चात् ल्याय्म्ह पुचः थिमिको १५ औं स्थापना दिवसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने आश्वासन दिए लगत्तै २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रीपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग¥यो ।


नेपाल संवत् आन्दोलनका उपलब्धि :

१) शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग¥यो ।
२०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रीपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ।

२) नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलायो ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को मन्त्रीपरिषद् बैठकको निर्णय
२०६५ कात्तिक ७ गते ।

३) नेपाली पाठ्यक्रममा नेपाल संवत् र शंखधर साख्वाः समावेश गरियो ।
नेपाली पाठ्यक्रम अन्तर्गतको कक्षा ६ को पाठ १६ मा नेपाल संवत् र शंखधर साख्वाःको विषय समावेश ।

४) हुलाक टिकटमा टाँचा प्रयोगमा ल्याइयो ।
नेपाल संवत् ११२४ अर्थात २०६० सालमा तात्कालीन सुचना तथा संचारमन्त्री कमल थापाबाट हुलाक टिकटमा टाँचा । 

५) शंखधरको प्रतिमा अनावरण तथा माल्यार्पण गरियो ।
नेपाल संवत् ११२२ मा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट शंखधर साख्वाःको प्रतिमा अनावरण तथा माल्यार्पण कार्यक्रम ।

६) सरकारी लेटर प्याडमा नेपाल संवत्को प्रयोग गरियो ।
सम्माननीय प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाको कार्यकालमा ११२८ देखि सरकारी लेटर प्याडमा नेपाल संवत्को प्रयोग ।

७) सार्वजनिक बिदाको घोषणा । 
२०७० सालदेखि नेपाल संवत्को नयाँ वर्षमा सरकारले सार्वजनिक बिदा गर्ने निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित ।

८) आजको दिन सम्ममा देशका विभिन्न जिल्लामा नेपाल संवत्का प्रणेता शंखधर साख्वाःको प्रतिमा स्थापना । 

अहिले सम्म देशका विभिन्न ठाउँमा शंखधर साख्वाःको प्रतिमाः
१) दोलखाको चरिकोट । 
२) झापाको दमक । 
३) पाल्पा तानसेन ।
४) नेपालगञ्ज ।
५) मध्यपुर थिमिको शंखधर चोक ।
६) कीर्तिपुरको बाघभैरव परिसर । कतिपय ठाउँमा अझै बन्दैछ ।


नेपाल संवत्का १२ महिना र पुरुषोत्तम महिनाः

१) कछला २) थिंला ३) पोहेला ४) सिल्ला ५) चिल्ला ६) चौला ७) बछला ८) तछला ९) दिल्ला १०) गुंला ११) ञला १२) कौला । यी बाह्र महिना मध्ये प्रत्येक तीन वर्षमा अनला महिना अर्थात पुरुषोत्तम महिना हुन्छ ।


नेपाल संवत् आन्दोलन र संवत्विरोधीहरुको राजनीतिः

मध्यकालमा राज्यस्तरले प्रयोग गरेको नेपाल संवत्लाई श्री ३ चन्द्र शमशेरले विस्थापित गरेका हुन् । नेपालका १३ औँ प्रधानमन्त्री तथा श्री ३ महाराजले बाह्र राशीका संक्रान्तिलाई प्रवेश गराई भारतीय विक्रम संवत् नेपालमा चलाएका हुन् । चतुर तथा केही हदसम्म सुधारक शासकको रुपमा उदाएका चन्द्र शमशेरदेखि शुरु भएको नेपाल संवत्विरुद्धको राजनीति अझै कायम छ । राजनीतिको प्रकृति भलै फरक छ, तर यो षड्यन्त्र अझै कायम छ । 
नेपाल संवत्लाई राज्यस्तरबाट हटाएसँगै विशेषगरी नेवार समुदायले यसको पक्षमा मलजल गर्दै आएका छन् । तानाशाही राज्य व्यवस्थामा नेपाल संवत्को पक्षमा गरिएको आन्दोलन दबाए पनि प्रजातन्त्र बहालीसँगै यसको स्वरुप परिवर्तन गरी आन्दोलनलाई पनि निरन्तरता दिँदै आएको छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउनुपर्ने मागसहित विभिन्न चरणमा आन्दोलन भए । पंचायती व्यवस्थामा केहि हद सम्म यो आन्दोलन मत्थर भएपनि अन्ततः २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रीपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिदिए । त्यसपछि गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रीपरिषद् बैठकको निर्णयले २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलायो । योसँगै सरकारी कामकाजमा व्यवहारिक प्रयोगको माग सेलाएको छैन । 
करिव एक शताब्दी सम्म दबाउँदा ठ्याच्च थलिएको नेपाल संवत् पछिल्लो समय उपलब्धि मूल्यांकन गरी सुधारउन्मुक बाटोमा छ । यसलाई निश्चित जत्थाले सहन नसकेको तीतो यथार्थ हो । नेपाल संवत् आफैमा संकीर्ण सोच, जातीय मुद्दा तथा सरकारविरोधी अभियान ठान्नेहरुले फरक प्रकृतिमा उपलब्धि मास्ने कुटिल प्रयास गरेका छन् । त्यस मध्ये तिथिमा अलमल गरेर नेपाल संवत् व्यवहारिक छैन भन्ने प्रमाणित गर्न खोज्नु अर्को नेपाल संवत्विरुद्धको षड्यन्त्र हो । 
प्रकृति फरक छ तर मुद्दा उहि । तिथि र मितिमा नियोजित रुपमा गरिएको अलमलले ज्योतिषी रुपी नेपाल पचांग निर्णायक समितिका पदाधिकारीहरुको तस्बिर उदांगो भएको छ । एक त सरकारी मान्यता प्राप्त पचांगले सांस्कृतिक पक्षदेखि खगोल विज्ञानलाई सहि व्यवस्थापनमार्फत सरोकारवालासँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने देखिन्छ भने अर्कोतिर विवादरहीत पात्रो प्रकाशन गर्नुपर्ने देखिन्छ । आम नागरिकले आधार मान्ने पात्रो नै हो, त्यसमै अलमल भएपछि सांस्कृतिक रुपमा विचलन हुनु स्वभाविक छ । सभ्य समाजको प्रतिविम्ब रुपी संस्कृतिलाई नै प्रभावित बनाउने नियोजित षड्यन्त्र नेपाल संवत्मार्फत खोज्नु दुर्भाग्य छ । यसमा सबै सचेत हुनु पर्छ ।

Monday, October 21, 2019

'स्याटरडे प्लेन एअर' अभियानको जीवन्त मध्यपुर






चौवन्न वर्षका राकेशचन्द्र श्रेष्ठ क्यानभासमा रेखा तान्ने तरिका सिकाउँदै थिए । छिनमै आफैले बनाउँदै गरेको चित्र पनि हेर्न जान्थे । कहिले रङ भर्ने त कहिले चित्र बनाउँदै गरेका कलाकारलाई सुझाउनतिर व्यस्त देखिन्थे उनी । शनिबार देखिएको यो परिदृश्य निकै बेर चल्यो । ४७ सालमा ललितकला क्याम्पस भर्ना भएर ५५ मा स्नातक तह पूरा गरेका ललितपुरका उनलाई घरको समर्थन थिएन । हामीसँगको कुराकानीको क्रममा नेवार समुदायभित्रको चित्रकारले अंगाल्ने परम्परागत पेशा भएर उनलाई घरको समर्थन नभएको बताए । कला क्षेत्रमा लाग्ने तीव्र इच्छालाई उहाँको पारिवारिक अस्वीकृतिले पनि छेकेन । बरु घरमै खबर नगरी श्रेष्ठले लुकीलुकी चित्रकारिता अध्ययन गरी यसलाई नै पेशा बनाउनतिर लागे । त्यो समय करिव सात वर्ष सम्म चल्यो, पूर्णकालीन चित्रकारिता गरेर । कलालाई व्यावसायिक पेशाको रुपमा अंगाल्न चाहेका उनी त्यति सफल भने भएनन् । योसँगै एकाध चित्र कोर्दै दुुई दशक सम्म कलाकारिताबाट विमुख भए ।



संयोग भन्नुपर्छ सन् २०१८ साललाई कि त्यहिँदेखि पुनः कलाकारिता पुनर्जागृत हुँदैछ । काठमाडौंस्थित आर्ट काउन्सिलमा भेट भएका पुराना कलाकार साथीहरुले सुस्ताएको कलालाई ब्युुँताउने योजना बुने र उनी पनि सामेल भए । बस् केहि चाहियो, केहि दिनमै बसन्तपुर पुगेर ‘स्याटरडे प्लेन एअर’ शुरु भयो । फुर्सद मिलाएर प्रत्येक शनिबार चित्र कोर्न जाने सहमति बन्यो । खुल्ला ठाउँ पुगेर चित्र कोर्ने कामलाई फ्रान्सेली भाषामा प्लेन एअर भनिँदो रहेछ । त्यो २०१८ सेप्टेम्बर १ तारिख अहिले भइरहेको अभियानको कोशेढुंगा साबित हुँदैछ । त्यहाँदेखि शुरु भएको अभियान देशैभर फैलिँदो छ ।
‘समकालीन कलाकार साथीहरु दिपेन्द्र बनेपाली, दिवेश प्रधान तथा अन्य साथीहरुसँग त्यो दिन चित्र कोर्दै गर्दा विदेशीले खरिद गर्न देखाएको आत्तुरताले हामी अझ हौसियौँ । शुरुमा त हामीलाई काममा भाँजो हाल्न आइपुगेको भन्ठानेका थियौँ । तर हिमाल चढेर फर्केका विदेशीहरुले दिपेन्द्रको चित्र पाँच हजारमा बुकिङ गरे ।’ श्रेष्ठले उत्साही भएर विगत सुनाए ।

हुन पनि खुल्ला ठाउँमा चित्र कोरेर शुरु गरिएको अभियानमा अहिले देशभरका कम्तीमा तीन सय सदस्य छन् । स्वस्फूर्त शुरु भएको चित्र कोर्ने काम उपत्यका मात्रमा सीमित छैन । काभ्रेको भोटेकोशी गाउँपालिकामा वैशाख महिनामा सम्पन्न भएको थियो । त्यस्तै रसुवाको बेत्रावती नगरपालिकामा कात्तिक २२ र २३ गते हुँदैछ । यसअघि पाटन, भक्तपुर दरबार क्षेत्र तथा अन्य ठाउँमा पनि सम्पदा, जीवनशैली, प्रकृतिलाई क्यानभासमा उतारेका छन् । भक्तपुरको दरबार स्क्वायरमा बनाइएका ३० वटा उत्कृष्ट चित्रलाई अहिले अष्ट्रेलियामा प्रदर्शनीमा राखिएका छन् ।
निश्चित ठाउँमा स्वस्फूर्त सहभागी हुन चाहने कलाकारले सामाजिक सञ्जाल फेसबुकमा भएको स्याटरडे प्लेन एअर पेज र च्याट ग्रूपमा खबर गर्न सक्छन् । निश्चित ठाउँलाई क्यानभासमा उतार्न सोही अनुकूलको समय र नाउँ जुराएर योजना बुन्ने गरेको छ । काभ्रेको लागि जुराएको अभियानको नाउँ ‘सभ्यताको सौन्दर्य’ हो ।


जीवन्त मध्यपुर:

मध्यपुरमा पनि दिवेश प्रधानको संयोजन तथा शंखधर एसोसिएसन अफ फाइन आर्टको सहकार्यमा केहि समय यतादेखि ‘जीवन्त मध्यपुर’ अभियान चलाइएको छ । प्रत्येक शनिबार निश्चित ठाउँमा पुगेर सोही ठाउँलाई आकर्षक ढंगले प्रस्तुत गर्ने क्रममा बोडेको महालक्ष्मी, नगदेशको लाछि टोल, सिद्धिकाली, निगु पुखू, चपाचो तथा लाय्‌‌‌‌‌कूमा कार्यक्रम सम्पन्न गरेको छ । छैटौँ हप्तामा मध्यपुरको सिवाटोल पुगेको हो । कात्तिक १० गते निगु पुखू क्षेत्रमा चित्रकला प्रदर्शनी गर्न मध्यपुरका विभिन्न ठाउँ पुगेका १८ जना कलाकारहरु छैटौँ हप्ताको ‘जीवन्त मध्यपुर’ अभियान अन्तर्गत सिवाटोल आएका हुन् ।

कात्तिक ९ गते बालकुमारी प्रांगणमा मध्यपुर सिरिज सकाएर भोलिपल्ट निगु पुखूमा करिव ६० वटा चित्रलाई प्रदर्शनीमा राखिने स्थानिय संयोजक प्रकाश मानन्धरले जनाए । मूर्त र अमूर्त सम्पदालाई क्यानभासमा उतारेर छनोट पश्चात् आयोजना गरिने चित्रकला प्रदर्शनीमा मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने भएको छ । नगरका विभिन्न ठाउँका क्यानभास चित्रलाई परिचयसहितको पुस्तिका प्रकाशन गर्नेमा पालिकाले प्रतिबद्धना जनाएको संयोजक मानन्धरले जनाए । संघ सरकारको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पुग्ने भएर स्याटरडे प्लेन एअर अभियानलाई स्थानिय सरकारले सहकार्य गरेको बताइएको छ ।
मध्यपुर क्षेत्रका पाँच जना कलाकार मिलेर गठन गरेको संस्थाले यसअघि किपा एक, किपा दुई र किपा तीन नाउँ दिएर ०६५, ६६ र ७५ सालमा चित्रकला प्रदर्शनी गरेका थिए । मध्यपुरका सीमित कलाकारहरुको सहभागितामा मात्र प्रदर्शनी थालिएकोमा अहिले अभियानमा सहभागी भएर सहकार्य गर्न पाउँदा उनी पनि दंगै देखिन्छन् । शंखधर एशाेसिएसन अफ फाइन आर्टका पाँचै जना कलाकार जीवन्त मध्यपुर सफल बनाउन लागि परेका छन् । यसमा मध्यपुर आर्ट एशोसिएसनका कलाकारहरु पनि सहभागी छन् । ती मध्ये बिस्केट जात्रामा जिब्रो छेडएका जुजुभाइ बासँ श्रेष्ठ, विभिन्न स्कूलमा पुगेर चित्रकला सिकाउने हरि प्रजापतिदेखि प्रविण श्रेष्ठ, सुन्दर श्रेष्ठ, विक्रम प्रजापति र कान्छाकाजी भासिमा पनि छन् ।
जीवन्त मध्यपुर नाउँ दिएर शुरु गरिएको छैटौँ हप्ताको अभियानमा ललितकला प्रज्ञा प्रतिष्ठानका बुद्धि गुरुङ, पुरातत्व विभागका अधिकृतदेखि विभिन्न संचारगृहमा आबद्ध संचारकर्मीहरुलाई निम्त्याइएको थियो । सात वटा पाटी, मध्यपुर क्षेत्रकै सबभन्दा पुरानो महादेवको मन्दिरदेखि गणेश मन्दिर, चैत्य, आर्यावलोकितेश्वरको मूर्ति अवस्थित टोलमा कलाकारले फरक पृष्ठभूमिलाई आआफ्नो सिर्जनामा समेतेका छन् । बिहान आठै बजे शुरु भएको अभियान साँझ सम्म चलेको थियो । सोही अवधिमा डेढ दर्जन कलाकारहरुले कम्तीमा २० वटा चित्रलाई क्यानभासमा उतारे ।


पृष्ठभूमिः

मानवीय आत्माको अभिव्यक्तिलाई कलाको रुपमा बुझ्न सकिन्छ । समयानुकूल यसको प्रयोग र प्रस्तुती भने फरक हुन सक्छ । यिनै परिस्थितिबाट रंगहरू जन्मिने गर्दछ । कलाकारले व्यक्ति, परिवेश, भोगाई तथा अन्य अभिव्यक्तिको आधारमा प्रस्तुत गरिने कलाको विकसित रुप चित्रकला हो । व्यक्तिका सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई कलामा उतार्ने गरिन्छ । त्यस्ता फरकपनको स्वरूप चित्रकलाको माध्यमबाट प्रस्फुटित हुने गर्दछ ।


इतिहासः

उत्तर अफ्रिकी देश मिश्रले पश्चिम एशिया र भूमध्य सागर जोड्छ । मानव सभ्यता शुरु भएको नाइल नदी आसपासको क्षेत्रमा बसोबास गर्ने मानिसले चित्रकलालाई विकास गरेको हो । बेलायतको लन्डनस्थित संग्रहालयमा सुरक्षित राखिएको तीन हजार वर्ष पुरानो चित्रले यसलाई पुष्टि गर्दछ । चीन, भारत तथा नेपालसँग पनि चित्रकलाको इतिहास जोडिन्छ । यस्तै खालका चित्रकला भारत तथा नेपालमा थुप्रै छन् । रामायणदेखि महाभारतकालीन चित्रकलाले नेपाल र भारतमा पनि धेरै पहिलेबाट चित्रकला विकास भएको थाहा हुन्छ । भारतको अयोध्या, गोकुलधाम, आग्रा तथा नेपालको जनकपुरमा भेटिने जलरङ र भित्तेचित्र पौराणिक चित्रकलाको बलियो आधार हो । त्यसमा पनि मध्यकालमा काठमाडौं, भक्तपुर तथा ललितपुरका दरबारभित्र बनाइएका भित्तेचित्रले चित्रकलाको स्वर्णयुगलाई जनाउ दिन्छ ।


नेपालमा चित्रकलाको विकासक्रमः

कलाकार तथा वरिष्ठ समीक्षक मदन चित्रकारका अनुसार गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरेपछि नेपाली चित्रकला परम्परामा परिवर्तन देखिएको हो । प्राचीन समयमा नेपाली चित्रकला परम्परागत धर्ममा आधारित थियो । चित्रकलालाई पारिवारिक पेशाको रुपमा नेवार समुदायको चित्रकार परिवारले धानेको थियो । नेपाली कला र सामाजिक विकासको स्वर्णयुग मानिने लिच्छवी तथा मल्लकालीन समयमा थुप्रै कलाकार्य भएका थिए । विशेष गरी वास्तुकलाको विकास, योसँगै भित्तेचित्रको पनि निर्माण भएको पाइन्छ । तथापि चित्रकारिताको आयु वास्तुकलाको जति लामो नहुने हुँदा र त्यो समय पछिका विभिन्न प्राकृतिक दुर्घटनाले गर्दा थुप्रै चित्र नष्ट भए । विभिन्न धार्मिक ग्रन्थहरूमा पनि चित्र निर्माण भए पनि तिनीहरू लामो समय नटिकेको उहाँको भनाई छ ।
सन् १८१४ देखि १८१६ सम्मको नेपाल–अंग्रेज युद्धपछि नेपाल र अंग्रेजबीच सुगौलीसन्धि भयो । अंग्रेजले नेपाल प्रतिनिधिको रूपमा सन् १८२० मा ब्रायन एच हड्सनलाई नेपाल पठाए । त्यतिबेला नेपालमा भीमसेन थापा प्रधानमन्त्री थिए । हड्सनले नेपाल बसाइका क्रममा नेपालको बौद्ध वास्तुकलाको विषयमा अध्ययन, खोज र अनुसन्धान गरेका थिए । अध्ययनका क्रममा राजमान चित्रकारलाई वास्तुकलाको स्केच तयार गराउँथे र चित्रकारिताका नयाँ–नयाँ तरिका पनि सिकाउँथे । योसँगै नेपाली चित्रकलामा परिवर्तन देखाप¥यो । त्यसपछि भाजुमान चित्रकारको युरोप भ्रमण, चन्द्रमानसिङ मास्के र तेजबहादुर चित्रकारको कलकत्तामा चित्रकारिता अध्ययनसँगै नेपालीकलामा नौलो आयामको सुरुवात भयो ।
यसै सन्दर्भमा वरिष्ठ कलाकार तथा ललितकला प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर भन्छन्, ‘जंगबहादुर राणाले कलाकारलाई युरोप भ्रमणमा लगेसँगै कलाकारलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थाल्यो । चन्द्रमान सिङ मास्के र तेजबहादुर चित्रकारले चित्रकलाका शैलीमा नयाँ शैली भित्र्याए । कला गतिविधिमा राणाहरूको प्रत्यक्ष सम्बन्ध स्थापित हुन थाल्यो । सामान्य जनताका विषयले पनि कलाकृतिमा प्रवेश पाउन थाले । २००७ सालको परिवर्तनका लागि कलाकारले जनताका अपेक्षाका कला रचना गर्न थाले । नवीन भावसहितका रचनाले प्रश्रय पाउन थाले ।
नेपालमा ११औँ शताब्दीतिर धार्मिक तथा तान्त्रिक विधाको प्रचलनमा केही ग्रन्थहरू तयार भएका छन् । ती ग्रन्थका बीचबीचमा देवदेवीका चित्र बनाइएको पाइन्छ । सन् १०१५ को प्रज्ञा पारमिता ग्रन्थचित्र नेपालको पुरानो ताडपत्रको ग्रन्थचित्र मानिएको छ । त्यस्तै, नेपाली चित्रकलामा अमिताभको सन् १३६८ मा बनेको पौभा चित्र पनि महत्वपूर्ण प्राचीनचित्रको रूपमा स्थापित भएको छ । १९ औँ शताब्दीमा जन्मपत्रिका चित्र तथा केही सामाजिक चित्रहरू बनेका थिए । २० औँ शताब्दीमा नेपाली कलामा नयाँ मोड देखियो । त्यस समय पश्चिमी शैली र प्रवृत्तिको शुरुवात भयो । त्यस बेलादेखि पश्चिमी यथार्थवादी अथवा वस्तुगत शैलीको सुरुवात राणा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत र फ्रान्स भ्रमण गरेपछि भयो । प्रधानमन्त्री जंगबहादुर राणासँगै त्यस समयका प्रख्यात कलाकार भाजुमान चित्रकार पनि गएका थिए । भाजुमान चित्रकारको त्यस यात्राले नेपाली समसामयिक चित्रकला क्षेत्रमा नौलो मोड दियो ।

More Photographs:







(चित्रकला सम्बन्धी ज्ञातासँगको कुराकानी, विकिपीडिया तथा इन्टरनेटमा भेटिएका सामग्रीको अध्ययन पश्चात् तयार गरिएको लेख । केके मानन्धर । कात्तिक २ गते, ०७६ ।)

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...