दुर्गम जिल्ला बझाङको यात्रा संस्मरण
![]() |
| Photo snapped at Karnali Bridge, on the way far western Nepal, Bajhang |
माघ १३, केके मानन्धर
सुदूरपश्चिमको पहाडि भेग नियाल्ने पुरानै कौतुहलता माघको पहिलो हप्ता पुरा भयो । छाउपडी प्रथा, खाद्य अभावले हुने कुपोषणको समस्या, बिजुली बत्ती वा सडकको कारणले घण्टौं हिड्नुपर्ने बाध्यता त्यहाँको नयाँ होइन भन्ने थाहा छ । यिनीहरुलाई समाचारमार्फत थाहा पाइसकेको थिएँ । तर त्यसलाई नजिकबाट नियाल्ने अवसर मैले बल्ल प्राप्त गरेँ । त्यो सुदूरपश्चिम र पहाडि भेग भोग्ने तीब्र इच्छालाई बाबुकाजी साःछेँ श्रेष्ठले पुरा गराइदिनु भयो । संयोगले पुसको अन्तिम हप्ता घरछेउ कै चिया पसलमा भेट हुँदा मेरो इच्छा र उहाँहरुको संस्थागत आवश्यकता जुरेर सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङ यात्रा तय भएको थियो ।पूर्वी नेपाल र पश्चिम तराईलाई साक्षात्कार गरेको भन्दा नितान्त पृथक र अविस्मरणीय बन्यो, बझाङ यात्रा । त्यो एक हप्ताको यात्राले मलाई धेरै सिकाएको छ । साथीभाइ छुट्टी मनाउन थाइल्याण्ड, कतार, चीन, रसिया लगायत विदेश जाँदा मलाई भने नेपाल कै विकट भौगोलिक बनावटसँग घुल्न मन लाग्छ । त्यहाँको दुःख र भोगाईलाई मेरो व्यावसायिक धर्ममार्फत प्रचार गर्न मन लाग्छ । सायद मेरो चाहना र इच्छाले नै बझाङको यात्रालाई निर्धारित गरेको हुनुपर्छ ।
विकट पहाडि जिल्ला बझाङमा माघको ५ र ६ गते दुईदिने स्वास्थ्य शिविर आयोजना गर्न हामी तीस जनाको टोली ३ गते नै काठमाडौंबाट सुदूरपश्चिम प्रस्थान ग¥यौं । त्यसअघि नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरका अध्यक्ष राम सिक्वःलगायतको तीन जनाको टोली सेतो निजी कारमा सवार थिए । सोही साधनमा लिफ्ट लिएर म पनि शंखधर चोकबाट आवश्यक बन्दोबस्तीको सामग्री बोकेर पुरानो बानेश्वर सम्म पुगेँ । बासुदेव प्रसाद जोशी प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशीको घर छेउ बझाङ जाने बस ल्याउने बताइएको थियो । तर प्राविधिक कारणले हामी फेरि बानेश्वरबाट ट्याक्सीमार्फत चावहिल पुगेर बस चढ्न पुग्यौं । मैले बेरेको घडीको सुइले बिहान १० बजेर दसै मिनेटमा देखाउँदै गर्दा चावहिलबाट पछिल्तिर ट्वाइलेटको सुविधा भएको बस गुडेको हो ।
बझाङ हिँडेको टोलीमा मसँग परिचित दुई जना मात्र थिए, बाँकीको परिचय यात्राकै दौरान भयो । मैले थाहा पाएँ त्यो टोलीमा तारामण्डल महिला सशक्तिकरण अभियान, उपकार सेवा नेपाल, नेपाल शान्ति स्काउट, बुंगल विकास समिति तथा माता मनकामना स्क्रीन प्रिन्टका प्रतिनिधिहरु सहभागी रहेछन् । उहाँहरुको संस्था मध्ये कसैले औषधि त कसैले स्वयंसेवी, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सामग्री व्यवस्थापन गरेको थियो । म पनि पत्रकारको हैसियतमा सोही टोलीमा मिसिएर यात्रा गर्न थालेँ ।
यात्राको क्रममा नास्ता गर्न नौबिसे रोकेको बस एकैचोटी चितवनमा पुगेर मात्र रोकियो । नारायणी नदि तरेर पश्चिम हानिएको बसले दाङको लमहीमा पु¥याएर बेलुकीको भोजन गराउन हामीलाई ओरार्यो । त्यसपछि निरन्तर गुडेको गाडी ४ गते बिहान सबेरै कैलालीको अत्तरिया पुगेर मात्र रोकियो ।
![]() |
| Luxury bus at Attariya, Kailali |
सुदूरपश्चिम प्रदेशको तराई भुभाग, कैलालीबाट उत्तर चढ्नको लागि फेरि अर्के बसको व्यवस्था थियो । हामी भने हतार हतार चिया नास्ता गरेर बस चढ्न थाल्यौं । निजी सवारी हाँकेर विभिन्न जिल्ला घुमेको मलाई चुरे गाउँपालिका नाघेर डोटी र डडेल्धुराको घुमाउरो बाटोले रिङ्याएको थियो । मनमनै लाग्यो, यात्रामा कहिल्यै चक्कर नआउने र वान्ता नहुने मलाई भित्रभित्रै थलायो ।
![]() |
| Group photo at Chure Gaupalika, Kailali |
स्वास्थ्य शिविर गर्न बझाङ हिँडेको स्वास्थ्यकर्मीको टोली भएर पनि ‘एभोमिन’ नाउँको ट्याब्लेट सहजै व्यवस्था भयो र जीवन मै पहिलो पल्ट म औषधि खाएर यात्रा गर्न बाध्य भएँ ।
बसले डाँडा छिचोल्दै घुम्ती पार गर्दै अगाडि बढ्ने क्रममा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पनि पु¥यायो ।
![]() |
| PC: google/Formal prime minister Sher bahadur Deuwa |
उहाँले सो ठाउँको गन्यामपुरा गाउँपालिकामा पुगेर ०७३ सालको स्थानिय निर्वाचनमा मतदान गरेको पनि थाहा पाएँ । ‘उ .. त्यो गाउँ हो, त्यहिँ पुगेर शेरबहादुरले मतदान गरेका हुन् ।’ बुंगल विकास समितिया साथीले बसैबाट देखाएर भन्दै थिए । झट्ट हेर्दा डाँडापाखा र उजाड मात्र देखिने ठाउँ जो राजधानीबाट निकै परको भएर पनि देशलाई नेतृत्व दिने नेता जन्माउन सफल ठाउँ थियो । गन्यामपुरा हेरेर मेरो मनमा प्रश्न उठ्यो कि, देशलाई नेतृत्व दिन सक्ने नेता जन्माउने ठाउँ, किन अझै धेरै विकट र अविकसित छ ? त्यो अनुत्तरित प्रश्न मेरो मनमनै उब्जिएको थियो । हुन पनि बल्ल एउटा मात्र ठुलो गाडी गुड्ने जयपृथ्वी बहादुर सिंह राजमार्ग बनेको बाहेक अन्य विकासका पूर्वाधार धेरै परको थियो । त्यसलाई जो कोहिले गन्यामपुरा पुगेर सहजै आंकलन गर्न छ ।
रमाइलो त त्यहि बेला अनुभव भयो जब काठमाडौं कै जस्तो कीर्तिपुर, बागबजार भन्ने जस्ता नाउँ डडेल्धुराको चोक र बजारको राखिएको पाएँ । सोहि बजार पार गर्दै उग्रतारा मन्दिर दर्शन गरेर हामी फेरि उत्तरतिर लाग्यौं । साँझ करिव ६ बजेको थियो जब हामी बझाङको बागथला नाघेर दुर्गाथली गाउँपालिकाको मुखैमा पुग्यौं । त्यहाँ पुगेर मलाई लागेको थियो कि हामी गन्तव्यमा पुग्यौं । तर होइन रहेछ । हामीलाई फेरि करिव दुई घण्टाको कच्ची धुलाम्मे बाटो हुँदै जीपमार्फत डाँडा चढ्नुपर्ने थियो । तीन वटा रिजर्भ गरिएका जीपमार्फत अन्ततः दुईदिन पछि अर्थात ४ गते राती आठ बजे दुर्गाथली गाउँपालिका आइपुग्यौं । त्यहाँ पुगेर मात्र थाहा पाएँ, काठमाडौंदेखि दुर्गाथली सम्मको लागि तीन चोटी गाडी फेर्दाको यात्रा व्यवस्थापन भर्खरको ठिटोले गरेको । सोही ठाउँ कूल घर बताउने काठमाडौं मै बस्ने त्रिविक्रम सिंह नाउँका १८ वर्षिया ठिटोले आवश्यक व्यक्तिलाई फोन गर्दै गाडी तथा बस्ने व्यवस्थापन गरेका थिए । जुझारु ठिटोको व्यवस्थापन राम्रै थियो ।
![]() |
| PC:facebook/Tribikram Singh |
तीस जनाको टोली मध्ये कोही गाउँपालिका भवनमा विश्राम गर्न पुगे भने हामीलाई स्थानियबासीको घरमा व्यवस्था गरिएको थियो । निरन्तर ३४ घण्टाको बसको यात्राबाट थकित भएका हामी, खाना खाएर निदाउनतिर लाग्यौं ।
माघ ५ गते बिहान सबेरै स्वयंसेवी तथा अन्य साथीहरु नित्यकर्म सकेर शिविर व्यवस्थापनको लागि चौधारा माध्यमिक विद्यालयतिर लागे । म भने सोही ठाउँको वस्तुस्थिति बुझ्न अलिक परको चिया पसल पुगेँ ।
मेरो बुझाई पनि त्यहि हो कि गाउँठाउँको जीवनशैली र सम्बन्धित ठाउँको चुरोकुरो बुझ्न चिसा पसलै पुग्नुपर्छ । बुझाई अनुरुप ठ्याक्कै मिल्यो पनि कि चिया पसलमा मौलाली भन्ने ठाउँका स्थानिय शिक्षक बुद्धिजीवीसँग भेट भयो ।
![]() |
| Locals of Chaudhara, Durgathali at tea shop |
बल्लतल्ल सेतो अर्थात दूधको लोकल चिया मगाएर खाँदै गर्दा उहाँले मेरो परिचय माग्दै सब कुराको बेलिबिस्तार लगाइहाले । म पनि पसलमा भेला भएका अन्य स्थानियहरुसँग बात मार्दै दुर्गाथली र चौधाराको विषयमा जिज्ञासा राख्दै गएँ ।
चिया पसलमा भएको गफगाफबाट बल्ल थाहाँ पाएँ, तत्कालिन चौधारा, मौलाली र सैनपसेला गाविस मिलाएर दुर्गाथली गाउँपालिका बनाएको । बझाङको दुर्गम ठाउँ भएर पनि चौधारामा खाद्य संकट नहुने, बिजुली बत्तीको सुविधा भएको र गाउँपालिका सम्म जीप पुग्नै रहेछ । तर सोही गाउँपालिका अन्तर्गतका मौलाली र सैनपसेला भन्ने गाउँमा अझै पनि न यातायातको सुविधा पुगेको छ न त अन्य भौतिक सुविधा नै । छिटफुट रुपमा छाउपडी प्रथा कायमै रहेको र महिलाहरुलाई स्वास्थ्य सम्बन्धिको समस्या धेरै भएको पनि थाहा पाएँ । गाउँका युवाहरु रोजगारीको लागि भारतका विभिन्न शहर पसेका रहेछन् । त्यसैले पनि गाउँमा युवाहरु छैनन् भन्दै थिए ती सर ।
![]() |
| Local people of Durgathali |
राष्ट्रिय जनगणना २०६८ अनुसार दुर्गाथलीमा १२ हजार ९८० जनसंख्या भए पनि गाउँमा युवाहरु कमै देखिएका थिए । चिया पसलमै भएको गफबाट अर्को थप नयाँ कुरा पनि थाहा पाएँ कि सो गाउँपालिकामा तीन वटा लघु जलविद्युत आयोजना संचालनमा छन् । घरधुरी कम भएको र अधिकांश घरबाट रोजगारीको लागि भारतको बैंगलोर, दिल्ली तथा अन्य शहर पसेकोले गाउँको लागि बिजुली खपत कमै हुने रहेछ । बुज्झै जाँदा चौधारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले दुर्गाथलीमा सानीगाड जलविद्युत आयोजनाबाट २८ देखि ३२ किलोवाट, रगेलको ज्वैलीगाड दोस्रो जलविद्युत आयोजनाबाट ७६ देखि ८६ किलोवाट र मौलालीको सैनगाड जलविद्युत आयोजनाबाट २५ किलोवाट बिजुली उत्पादन हुने थाहा पाएँ ।
![]() |
| Kalanga river/Bajhang |
हुन त जिल्लाका साना–ठूला खोलाबाट लघु जलविद्युत आयोजनाको लागि एक खालको प्रतिस्पर्धा नै चलेको छ । जिल्ला विकास समितिको उर्जा तथा जलवायु परिर्वतन शाखाको तथ्याङ्क अनुसार २०६३ सालयता जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा ६१ वटा लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भैसकेका छन् । ३८ वटा योजनाहरु निमार्णाधीन अवस्थामा छन् । बझाङको सदरमुकाम चैनपुरमा राष्ट्रिय प्रशारण लाइन जोडिसकेको भए पनि ग्रामिण भेगका कतिपय ठाउँमा यसको पहुँच अझै पुग्न सकेको छैन । यस्तै पहुँच नभएको ठाउँ मध्ये कै गाउँपालिका हो, दुर्गाथली । जहाँ आवश्यक भन्दा धेरै बिजुली उत्पादन हुन्छ र खपत नभएर खेर गइरहेको छ ।
सोहि दिन दिनभर आ–आफ्नो दायित्व पुरा गरेर चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवीहरुले शिविर सम्पन्न गरे ।
![]() |
| Group photo at Chaudhara with president of (TMMSA) Kunti Pokhrel |
पहिलो दिनको शिविरमा सहभागी सेवाग्राही मध्ये सबभन्दा बढी स्त्री रोगका बिरामीहरु देखिए । बालरोग, हाडजोर्नी, दन्त रोग, खकार परीक्षण, दम तथा अन्य रोगको लागि विशेषज्ञ चिकित्सकहरुको टोलीले दुर्गाथलीमा स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरेको थियो । सदरमुकाम चैनपुरदेखि करिव ४० किलोमिटरको दुरीमा रहेको दुर्गाथलीको चौधारा माध्यमिक विद्यालय प्राङ्गनमा आयोजित पहिलो दिनको शिविरमा मौलाली तथा सैनपसेलाबाट घण्टौँ हिँडेर सेवाग्राही स्वास्थ्य उपचारको लागि पुगेका थिए ।
![]() |
| Patients participated in health camp at Chaudhara |
शिविरमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा १३ जना महिलाहरुको पाठ्यघर सम्बन्धिको समस्या पहिचान भएकोले शल्यक्रिया गर्नुपर्ने देखिएको आयोजक टोलीका लक्ष्मण जोशीले जनाए । उहाँहरूलाई गाउँपालिकाको सिफारिसमा अञ्चल अस्पतालमा थप उपचार गराउने व्यवस्था मिलाइएको समेत जोशीले जनाए ।
पहिलो दिनको शिविर सम्पन्न भए लगत्तै हामी जीपमार्फत सोहि साँझ बुंगल नगरपालिका लाग्यौं । जोखिमपूर्ण यात्रा गरेर चौधारा देउरालीबाट फेदी झर्दै करिव ३ घण्टाको यात्रा पछि हामी बुंगल पुग्यौं । बुंगल नगरपालिका विजगडास्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा पुग्दा झपक्कै अँध्यारो भइसकेको थियो । करिव ९ः३० बजे पुगेका हामीले बुंगलमा बिजुली बत्तीको दर्शन पाएनौं । सोध्दा भनियो, ‘यहाँ त बिजुली बत्ती नै छैन ।’ अनि मैले प्रश्न गरेँ, बाटोमा आउँदै गर्दा देखेको जलविद्युत आयोजना नि ? अर्थात त्यो आयोजना कालंगा जलविद्युत आयोजना रहेछ जो हामीले बुंगल जाने क्रममा देखेका थियौं ।
सोही नगरपालिका वडा नं २ मा पर्ने अपर कालंगा जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भए पनि सम्पन्न भइनसकेको बुझियो । २०६५ सालदेखि सम्भाव्यता अध्ययन सुरु भएको ३८.४६ मेघावाटको यस आयोजनालाई सन् २०२० को अन्तमा सम्पन्न गर्ने लक्ष्य लिइएको रहेछ । अर्थात बुंगलमा बिजुली पुग्न अझै दुई वर्ष लाग्ने देखियो ।
एक त दुर्गाथलीमा आवश्यक भन्दा बढी बिजुली उत्पादन भइरहको छ र सोही जिल्लाको नगरपालिका भनिएको ठाउँमा अझै पनि बिजुली पुगेको छैन । राजधानीमा सब भन्दा पहिला १९६८ मा बिजुली बत्ती बलेको थियो । तत्कालिन श्री ३ चन्द्र शमशेरको पालामा फर्पिङमा ५०० किलोवाटको बिजुली उत्पादन भएको इतिहास छ । यो हिसाबले पनि सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङस्थित बुंगल नगरपालिकामा बिजुली बत्तीको हिसाबले एक शताब्दी पछाडि परेको देखिन्छ । बुंगल मात्र होइन सो वरपरका खिरातरी, देउकोट, दहबगर, खोलेक आदि ठाउँमा समेत अझै बिजुली पुगेको छैन । न त नगरपालिका घोषणा गरिएको बुंगलमा व्यवस्थित बजार छ । न त ढल, सडक, खानेपानी वा अन्य भौतिक सुविधा नै । कति सम्म भने बुंगलको बजार भनिएको विजगडा चोकमा दूधको चिया समेत खान मुस्किल भयो । होटल, रेष्टुराँ, लज जस्ता पाहुनाहरुको लागि व्यवस्थित बस्ने ठाउँ समेत छैन । यस्ता न्यूनतम भौतिक पूर्वाधार बनाउन सके प्राकृतिक र भौगोलिक रुपमा अति नै सुन्दर मानिएको बझाङ जिल्ला विकासको मार्गमा लम्किनेछ । जिल्ला मै व्यावसायिक कृषि प्रवद्र्धन, पर्यटन विकास तथा उद्योग स्थापना गरेर युवाहरुलाई रोजगारी दिएर आत्मनिर्भर बनाउन सके निकट भविष्यमै दुर्गम मानिएको बझाङ जिल्ला स्वतः सुगम हुनेछ ।









