नेपाल संवत् र शंखधर साख्वाः
इतिहास र आधारः
तत्कालिन नेपालमा मानदेव संवत्, शक संवत्, कलिगत संवत् पनि प्रयोग गरिए । शंखधर साख्वाःले शुरु गरेको नेपाल संवत्को मौलिकता पृथक छ । कलिगत संवत् ३९८१ र शक संवत् ८०२ सालमा नेपाल संवत् शुरु भएको हो । आम जनताको ऋण मोचन गरेर शंखधर साख्वाःले मातृभूमिकै नाउँमा नेपाल संवत् शुरु गरेका हुन् । संवत् शुरु गरेका साख्वाःको मूर्ति पशुपतिनाथ परिसरमा छ । वंशावलीमा उल्लेख भए बमोजिम राघवदेवको राज्यकालमा शंखधर साख्वाःले संवत् परिवर्तन गरेका हुन् । वंशावलीमा यसलाई नेपाल संवत् अर्थात नेपाली संवत् भनी उल्लेख छ ।शंखधरले शुरु गरेको संवत् भएर ‘शंखधरकृत नेपाल संवत्’ पनि भनेका छन् । गोपालराज वंशावलीमा ‘श्री राघवदेव वर्षे ६३ मास ४ । श्री पशुपति भट्टाकरे संवत्सर प्रवृतिकृता’ उल्लेख छ । यो आधारले पनि राजा राघवदेवको पालामा नेपाल संवत् प्रचलनमा ल्याइएको पुष्टि हुन्छ । संवत् शुरु गरेका शंखधर साख्वाःलाई भने फरक अभिलेखमा करिव उस्तै खाले नाउँले जनाएको देखिन्छ । भक्तपुरको जेला टोलस्थित शिलापत्रमा ‘शंख्वा संवत् ८२७ बछलागा दशमी वशुवाः’ उल्लेख छ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल संवत् ८८८ सालमा उपत्यका जिते पश्चात्को भाषा वंशावलीमा साख्वाः र नेपाल संवत् ९६७ को वंशावली साख्वाल उल्लेख छ । राष्ट्रिय अभिलेखालयको विक्रम संवत् १९५१ को ‘नेपालदेशीय पञ्चाङ्गम्’मा श्रीशंखधरकृत नेपाली संवत् १०१४ उल्लेख छ । यी आधारले फरक कालखण्डमा नेपाल संवत् र शंखधर साख्वाःलाई दुरुस्तै उल्लेख नगरे पनि करिव उस्तै खाले जनाउ दिएको देखिन्छ । इतिहास आफैमा तथ्य र तर्कको आधारले पुष्टि हुँदै जाने भएर यी विषयमा अनुसन्धानकर्ताको फरक विचार देखिन्छ ।
पद्मरत्न तुलाधर र नेपाल संवत्को सम्बन्ध :
नेपाल संवत्मा पद्मरत्न तुलाधरको नाउँ स्वतः जोडिन्छ । दशकौं सम्म संवत्को लागि भएको आन्दोलनलाई नेतृत्व गरेका तुलाधरको योगदानलाई बुँदागत रुपमा उल्लेख गरिएको छ ।– नेपाल संवत्लाई राज्यस्तरबाट राष्ट्रिय संवत्को मान्यता दिलाउन नेपालभाषा मंका खलःले तीन दशक सम्म सांगठनिक आन्दोलन चलायो । तात्कालिन बखत खलःको संस्थापक अध्यक्षको रुपमा पद्मरत्न तुलाधरको नाम उदायो । खलःकै नेतृत्वमा नेपाल संवत् ११०० अर्थात २०३७ सालमा आयोजित न्हूदँया भिंतुना ¥यालीले नेपाल संवत्को आन्दोलनको रुप लियो । जुन अहिले सम्म पनि प्रत्येक वर्ष तिहारको गोबद्र्धन पूजा अर्थात नेपाल संवत् अनुरुप कछलाथ्व पारुको दिनमा आयोजना हुन्छ । यहि आन्दोलन पछिल्लो समय देशव्यापी रुपमा मनाउन थालिएको छ ।
– बहुदलीय प्रजातन्त्र पश्चात् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेपालभाषा मंका खलःले सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो ।
– तत्पश्चात् ल्याय्म्ह पुचः थिमिको १५ औं स्थापना दिवसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने आश्वासन दिए लगत्तै २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रीपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग¥यो ।
नेपाल संवत् आन्दोलनका उपलब्धि :
१) शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग¥यो ।२०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रीपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ।
२) नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलायो ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को मन्त्रीपरिषद् बैठकको निर्णय
२०६५ कात्तिक ७ गते ।
३) नेपाली पाठ्यक्रममा नेपाल संवत् र शंखधर साख्वाः समावेश गरियो ।
नेपाली पाठ्यक्रम अन्तर्गतको कक्षा ६ को पाठ १६ मा नेपाल संवत् र शंखधर साख्वाःको विषय समावेश ।
४) हुलाक टिकटमा टाँचा प्रयोगमा ल्याइयो ।
नेपाल संवत् ११२४ अर्थात २०६० सालमा तात्कालीन सुचना तथा संचारमन्त्री कमल थापाबाट हुलाक टिकटमा टाँचा ।
५) शंखधरको प्रतिमा अनावरण तथा माल्यार्पण गरियो ।
नेपाल संवत् ११२२ मा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट शंखधर साख्वाःको प्रतिमा अनावरण तथा माल्यार्पण कार्यक्रम ।
६) सरकारी लेटर प्याडमा नेपाल संवत्को प्रयोग गरियो ।
सम्माननीय प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाको कार्यकालमा ११२८ देखि सरकारी लेटर प्याडमा नेपाल संवत्को प्रयोग ।
७) सार्वजनिक बिदाको घोषणा ।
२०७० सालदेखि नेपाल संवत्को नयाँ वर्षमा सरकारले सार्वजनिक बिदा गर्ने निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित ।
८) आजको दिन सम्ममा देशका विभिन्न जिल्लामा नेपाल संवत्का प्रणेता शंखधर साख्वाःको प्रतिमा स्थापना ।
अहिले सम्म देशका विभिन्न ठाउँमा शंखधर साख्वाःको प्रतिमाः
१) दोलखाको चरिकोट ।
२) झापाको दमक ।
३) पाल्पा तानसेन ।
४) नेपालगञ्ज ।
५) मध्यपुर थिमिको शंखधर चोक ।
६) कीर्तिपुरको बाघभैरव परिसर । कतिपय ठाउँमा अझै बन्दैछ ।
नेपाल संवत्का १२ महिना र पुरुषोत्तम महिनाः
१) कछला २) थिंला ३) पोहेला ४) सिल्ला ५) चिल्ला ६) चौला ७) बछला ८) तछला ९) दिल्ला १०) गुंला ११) ञला १२) कौला । यी बाह्र महिना मध्ये प्रत्येक तीन वर्षमा अनला महिना अर्थात पुरुषोत्तम महिना हुन्छ ।नेपाल संवत् आन्दोलन र संवत्विरोधीहरुको राजनीतिः
मध्यकालमा राज्यस्तरले प्रयोग गरेको नेपाल संवत्लाई श्री ३ चन्द्र शमशेरले विस्थापित गरेका हुन् । नेपालका १३ औँ प्रधानमन्त्री तथा श्री ३ महाराजले बाह्र राशीका संक्रान्तिलाई प्रवेश गराई भारतीय विक्रम संवत् नेपालमा चलाएका हुन् । चतुर तथा केही हदसम्म सुधारक शासकको रुपमा उदाएका चन्द्र शमशेरदेखि शुरु भएको नेपाल संवत्विरुद्धको राजनीति अझै कायम छ । राजनीतिको प्रकृति भलै फरक छ, तर यो षड्यन्त्र अझै कायम छ ।नेपाल संवत्लाई राज्यस्तरबाट हटाएसँगै विशेषगरी नेवार समुदायले यसको पक्षमा मलजल गर्दै आएका छन् । तानाशाही राज्य व्यवस्थामा नेपाल संवत्को पक्षमा गरिएको आन्दोलन दबाए पनि प्रजातन्त्र बहालीसँगै यसको स्वरुप परिवर्तन गरी आन्दोलनलाई पनि निरन्तरता दिँदै आएको छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउनुपर्ने मागसहित विभिन्न चरणमा आन्दोलन भए । पंचायती व्यवस्थामा केहि हद सम्म यो आन्दोलन मत्थर भएपनि अन्ततः २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रीपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिदिए । त्यसपछि गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रीपरिषद् बैठकको निर्णयले २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलायो । योसँगै सरकारी कामकाजमा व्यवहारिक प्रयोगको माग सेलाएको छैन ।
करिव एक शताब्दी सम्म दबाउँदा ठ्याच्च थलिएको नेपाल संवत् पछिल्लो समय उपलब्धि मूल्यांकन गरी सुधारउन्मुक बाटोमा छ । यसलाई निश्चित जत्थाले सहन नसकेको तीतो यथार्थ हो । नेपाल संवत् आफैमा संकीर्ण सोच, जातीय मुद्दा तथा सरकारविरोधी अभियान ठान्नेहरुले फरक प्रकृतिमा उपलब्धि मास्ने कुटिल प्रयास गरेका छन् । त्यस मध्ये तिथिमा अलमल गरेर नेपाल संवत् व्यवहारिक छैन भन्ने प्रमाणित गर्न खोज्नु अर्को नेपाल संवत्विरुद्धको षड्यन्त्र हो ।
प्रकृति फरक छ तर मुद्दा उहि । तिथि र मितिमा नियोजित रुपमा गरिएको अलमलले ज्योतिषी रुपी नेपाल पचांग निर्णायक समितिका पदाधिकारीहरुको तस्बिर उदांगो भएको छ । एक त सरकारी मान्यता प्राप्त पचांगले सांस्कृतिक पक्षदेखि खगोल विज्ञानलाई सहि व्यवस्थापनमार्फत सरोकारवालासँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने देखिन्छ भने अर्कोतिर विवादरहीत पात्रो प्रकाशन गर्नुपर्ने देखिन्छ । आम नागरिकले आधार मान्ने पात्रो नै हो, त्यसमै अलमल भएपछि सांस्कृतिक रुपमा विचलन हुनु स्वभाविक छ । सभ्य समाजको प्रतिविम्ब रुपी संस्कृतिलाई नै प्रभावित बनाउने नियोजित षड्यन्त्र नेपाल संवत्मार्फत खोज्नु दुर्भाग्य छ । यसमा सबै सचेत हुनु पर्छ ।
























