Tuesday, July 31, 2018

गणतन्त्रमा राष्ट्रपति सवारी आतंक

Bidhya Devi Bhandari, President of Nepal (PC: Facebook)

बिहान घरबाट अफिस निस्किने म । आज पनि सदा झैं करिव ७ः३० बजे चिया खाएर निस्केँ । नयाँ थिमि चोकको माइक्रो बस चढेर काठमाडौंको सिंहदरबार हुँदै शहिदगेट पुग्थें । त्यहाँबाट लाजिम्पाट हुँदै बुढानिलकण्ठ रुटमा चल्ने सवारी चढ्नु पर्ने मेरो दैनिकी । तर अचानक आज भद्रकाली नपुग्दै सिंहदरबारबाट माइक्रो बसलाई ट्राफिक प्रहरीले पुतली सडक फर्काइदिए । अरु बेला घडीको मसिनो सुइले सातलाई छोए पनि लामो सुइ यताउती हुन्थ्यो होला । आज सायद त्यस्तो नभएर ठिक्क साँढेसात बजेको हुनुपर्छ । त्यसैले पनि माइक्रो बसलाई अर्कै गन्तव्य हुत्याइदिएसँगै मेरो तनाव शुरु भयो ।
राष्ट्रपतिको सवारी, लाजिम्पाटमा

आज श्रीपञ्चमी भएर राष्ट्राध्यक्षको हैसियतले बसन्तपुरमा बसन्त श्रवण गर्नुपर्ने कार्यक्रम तय भएको रहेछ । वर्षेनी हुने निर्धारित कार्यक्रम त हो, तर म जस्तै अन्य सर्वसाधारण नागरिकसँग प्रत्यक्ष सम्बन्धित नहुने भएर उहाँको बसन्त श्रवणको समय थाहा नहुँदो हो वा भनौं चासो नदिँदो हो । त्यहि भएर पनि नियमित दैनिकीसँगै दौडिरहने म जस्तालाई अचानकको तालिका हेरफेरले तनावको स्थिति बनाइदिन्छ । एक त भीआईपी र भीभीआईपीहरुको तालिका सार्वजनिक गरिँदैन र धेरैलाई जानकारी पनि हुन्न । यस्तै भइदियो आज पनि ।
राष्ट्रपतिको सवारीले गर्दा सुनसान बनेको लाजिम्पाट

पुतलीसडक मोडिएको केहि समय पश्चात प्रहरीले जानकारी दिएपछि मैले पनि थाहा पाएँ कि नियमित रुटको गाडीलाई अन्तै फर्काइदिएको रहस्य । पुतली सडक मोडिएसँगै मसँगै यात्रा गरिरेका यात्रुले चालकलाई दबाब दिँदै सोध्दै थिए “किन गाडी मोडियो ?” म आरएनएसी जानुपर्ने अन्तै गएर कहाँ हुन्छ । चालक लगायत अधिकांश यात्रु अनभिज्ञ थिए गाडीको गन्तव्य फर्काइएको सम्बन्धमा । दुई चार पटकको प्रश्न पश्चात माइक्रो बस चालकलाई समेत रन्को चढ्यो क्यार तुरुन्त उत्तर फर्काइहाले “जा उतै बस्ने ट्राफिकलाई सोध । मलाई के थाहा ? मैले त जे भन्यो उस्तै गरेँ ।” चालकको प्रतिक्रिया समेत केहि हद सम्म सभ्य बोलीलाई चुनौती दिने खालको थियो । जो दिक्दारी पश्चातको स्वभाविक मानव गुण हो जस्तो मैले अनुभूति गरेँ । यात्रुको सामुहिक कचकच स्वरसँगै उनले यात्रुको इच्छा बमोजिम भनेकै ठाउँमा बस रोकेर ओरार्नतिर लागे । एक त माइक्रो बस रोकिएसँगै ठाउँ ठाउँमा जाम भएको थियो भने अर्कोतिर निर्धारित समयभित्र आ–आफ्नो गन्तव्य पुग्नुपर्ने यात्रुलाई तनाव । सोही तनाव बहन गर्ने मध्येमा म पनि परेँ ।
राष्ट्रपतिको सवारीले गर्दा रत्नपार्कमा देखिएको सवारी जाम

म लाजिम्पाटस्थित ईमेज च्यानल टेलिभिजनमा बिहान १०ः०० बजे अनएअर हुन कुनै पनि हालतमा ९ः०० बजे भित्र हाजिर गरिसक्नुपर्ने थिएँ । बुलेटिन न्यूज तयार गरेर मेकअप पश्चात टेलिभिजनमा देखिन कम्तीमा एक घण्टाको समय मैले व्यतित गर्नुपर्छ । तर मेरो घडीको सुईले रत्नपार्क मै हुँदा ८ः५५ देखाइसकेको थियो । रत्नपार्कको पुरानो बस स्टपबाट हिंडेर लाजिम्पाट पुग्न ४५ मिनेट लाग्ने मेरो अनुभव छ । सो विकल्प मेरो अनुकूल थिएन । मनमनै आत्ति सकेको थिएँ किनभने सार्वजनिक सवारी साधनलाई बिहानै देखि नै राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको हवाला दिंदै सन्चालनमा रोकेको थियो । मसँग निर्धारित समयमा अफिस पुग्ने अन्य महानुभाव र टेलिभिजनमा अनएअर हुने मेरो विकल्प कम हुँदै थियो । तर पनि धैर्य गर्दै ५ रुटको टेम्पो चढ्न दौडिएँ । दैनिक रुपमा बिहान ८ः१५ बजे आरएनएसीबाट लाजिम्पाट भएर गुड्ने टेम्पो चढ्ने म, आज ९ः०० बजिसक्दा पनि टेम्पोको खोजिमा भौतारिँदै थिएँ । भाग्यबस कम समयमा मैले टेम्पो भेटाइहालेँ त्यो पनि २ जना मात्र यात्रु बोकेर गुडेको । राष्ट्रपति भण्डारीको बसन्त श्रवणले सर्वसाधारणलाई नियमित दैनिकीबाट बन्चित गराउनमा दिएको हैरानी र आतंकको मार टेम्पोमा यात्रा गर्ने तिनै यात्रुले समेत खेपेका रहेछन् । के पथ्र्यो र शुरु भयो उनीहरुको उस्तै भुन्भुन् “राष्ट्रपति मेकअप लगाउँदै होला नि, सर्वसाधारणलाई दुःख दिएर । हस्पिटल जानुपर्ने हामीलाई ढिला गराएर उनीहरु भने सौखिनसाथ सवारी रे ।” यस्तो पनि हुन्छ ? हैट् । राष्ट्रपति भए उनीहरु नै होउन् हामी सर्वसाधारणलाई किन दुःख ? म बाहेक दुई जना अन्य टेम्पोमा यात्रा गरिरहेका उनीहरु गफिंदै थिए । मलाई उनीहरुको गफले केहि छिन त हाँसो पनि लाग्यो ।
टेम्पो पाएकोमा मनमनै खुसी थिए कि अब ढुक्कसाथ अफिस पुग्छु, दशै बजे टिभीमा समाचार दिन तयार हुन्छ । तर माहौल त्यस्तो भइदिएन र क्षणभर मै त्यो खुसी तनावमा परिनत भयो जब टेम्पोलाई फेरि लैनचौरबाट ट्राफिक प्रहरीले नक्साल फर्काइदिए । योसँगै मलाई लागेको थियो कि आजको सेड्युल गयो, म आज न्यूज पनि बनाउन पाउँदिन र टेलिभिजनमा बिहान १०ः०० बजे अनएअर पनि हुन पाउँदिन । यसको जवाफ कसरी व्यवस्थापनमा दिने भनी अलमलमा परिसकेको थिएँ ।
राष्ट्रपतिको सवारीले गर्दा रत्नपार्कमा देखिएको सवारी जाम

नियमित कार्य भन्दा फरक भएकोले मनमनै अर्को सोच बनाइसकेको थिएँ कि अफिसमा फोन गरी मलाई रिसिभ गर्न अनुरोध गर्ने । तर वास्तविकता त्यस्तो पनि थिएन कि प्रेसको गाडीलाई राष्ट्रपति जस्तो भीभीआईपीको सवारीमा चलाउन दिने । त्यस्तै आजै बिहान नेपाल टेलिकमले मोबाइल डायल गर्न नमिल्ने गरी एकतर्फी गराइसकेको एस.एम.एसमार्फत सुझाएको याद आयो । मोबाइलमा पैसा सकिएको भएर त्यस्तो मेसेज आएको हो । फोन गरेर मलाई अफिसबाट रिसिभ गराउने विकल्प र भीभीआईपीको सवारीमा प्रेसलाई समेत छुट नदिने चलनले त्यो बाटो पनि बन्द हुँदै थियो । गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी शितल निवासबाट लाजिम्पाटै हुँदै बसन्तपुर जाने हो । सार्वजनिक सवारी तथा निजी गाडीलाई अन्तै मोडेको, प्रेसलाई पनि छुट नभएको र मोबाइलमा पैसा सकिएर एकतर्फी भएकोसँगै मेरो समय मै अफिस पुग्ने सम्भावना टर्दै थियो । मनमनै पुनः सोच आयो कि दौडिएर भए पनि अफिस पुग्ने कि । त्यो सोचसँगै नक्साल भगवतीतिर फर्काइएको टेम्पोबाट हट्पट् झरेर चैनचौरको मूख्य सडकमा आएँ । सडक करिव सुनसान बनाइ सकेको थियो । सडकको दुबै छेउ वरपर सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत अन्य सर्वसाधारण लामबद्ध भएर उभिएको देखेँ । म केहि पर सम्म लम्किसकेको थिएँ । अकस्मात मेरो मनमा लिफ्ट लिएर जाने सोच आयो । म आफैले पनि इन्धन अभावको समयमा केहि हद सम्म मेरो निजी गाडी र स्कूटरबाट त्यस्तै अन्यौल भएर बाटो छेउमा उभिएकालाई लिफ्ट दिएको सम्झना छ । इन्धन भए सम्म मैले यस्तै काम गरेको थिएँ दशैं र तिहारको हाराहारीमा । सोही सम्झनालाई ताजा बनाएर मैले पाटलिसकेको सडकमा गुडिरहेका मोटरसाइकलमा लिफ्ट मागेँ । पहिलो मोटरसाइकलले पन्छिन खोज्यो, दोस्रोले उनको गन्तव्य नजिक भएको बहाना बनायो । खैर उनीहरुको आफ्नै बाध्यता होला । तर पनि म चनाखो भएर लिफ्ट लिने प्रयास तथा बाटोमा ठूल्ठूला पाइला बनाएर लम्किरहनेलाई निरन्तरता दिइरहेँ । अन्ततः एउटा रातो कलरको पल्सर मोटरसाइकललाई मैले रोकेँ र लिफ्ट लिएर अफिसको गेट सम्म पुगेँ । अफिस पुग्दा म खासै ढिला भइनसकेको रहेछु । धन्न म र राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी आतंक । यो घटना गएको वर्ष मैले अनुभूति गरेको हो ।
राष्ट्रपतिको सवारी, लाजिम्पाटमा

यो त प्रतिनिधि उदाहरण भयो, यस्ता थुप्रै समस्या छन् हामीमाझ । यस वर्ष पनि यस्तै रवैया देखेर लखेको छु । एक त गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपतिको सवारी अफिस आवरमा हुने अर्कोतर्फ सर्वसाधारणलाई सवारी सम्बन्धि जानकारी नदिने । यी दुइटै सर्वसाधारण नागरिकलाई दुःख दिने मेसो बनेकोे छ । बसन्त श्रवण परम्परा हो, यसलाई जोगाउनु सबै नेपालीको दायित्व पनि हो । तर भीभीआईपीको सवारीको नाउँमा आम नागरिकलाई दुःख दिनु र आतंकको माहौल बनाउनु कदापि सह्य छैन । सवारीलाई अफिसको अफ आवर पनि गर्न सकिन्थ्यो वा लामो अवधि सम्म सवारी नरोक्ने पनि उपाय हुनसक्छ । राणाकाल, शाही शासनकाल, पञ्चायती समयमा जस्तो रवैया, लोकतान्त्रिक गणतन्त्रमा हट्नुपर्ने चाहना आम नागरिकको हो । तर खै कहिले हट्ने त्यो रवैया ? आम नागरिकको प्रश्न छ ।

म, संचार अनि राष्ट्रवाद


कुरो ०७३ सालको हो । साथीभाइ तथा परिवारसँग सिक्किम पुग्ने मौका जुरेको थियो । साउथ सिक्किममा अवस्थित खगेन्द्र प्रधान श्रेष्ठाचार्यको घरमा बसेको त्यो क्षण, सायदै बिर्सिन्छु । नाम्थाङको तुरुङ भन्ने गाउँका उनी, नेवार संस्कृति, भाषा, लिपि देखि संस्कार संरक्षण, सम्बद्र्धनका बेजोड अभियन्ता हुन् । राजधानी ग्यान्तोकमा इन्द्रजात्रा शुरु गर्नेे देखि नेपालभाषा, लिपि र संस्कारलाई प्रवद्र्धनमा अतूलनीय योगदान दिनुभएका उनै थिए । इन्स्टिच्यूट अफ नेवार कल्चर एण्ड ल्याङ्वेज नाउँको अभियानलाई मोफसलमा स्थापित गराउने उनै प्रधानसँगको त्यो क्षणिक वार्तालाप मेरो लागि स्मरणीय छ ।
नेपाल बाहिरको नेपाल अर्थात सिक्किम बसाइ सर्ने बखत उहाँको पूर्खाले मेची नदि टरेसँगै सम्पूर्ण पहिचान उतै बगाएको भनेका थिए, मसँगैको वार्तालापमा । झट्ट सुन्दा एउटै वाक्य लाग्न सक्छ तर “नदिमा बगाएको त्यो पहिचान”को अर्थ त्यति हलुङ्गो चाहिँ पक्का पनि होइन । सुक्ष्म अध्ययनको दौरान यसले गहकिलो र दीर्घ प्रभावी अर्थ दिनसक्छ । त्यहि पहिचान बगाएकै कारण प्रधानको परिवारमा नेवाः भाषाको अस्तित्व क्षीण भएको छ र सोही सुसुप्त पहिचान जगाउन अभियन्ता भएर लाग्नुपरेको छ । धन्न उहाँको साहस तथा अभियानमा साथ दिने अन्य नेपाली मूलका भारतीय ती दाजुभाइको । म सलाम ठोक्छु प्रधानको अभियानलाई र पहिचान जगाउने इच्छाशक्तिलाई ।
धेरै मातृभाषीहरुको साझा समस्या यीनै हुन्, पछिल्लो समय । थातथलो छोडेसँगै नयाँ परिवेशमा रम्दै जाँदा मौलिकतासँगको त्यो साइनो विलीन हुँदै जानु र नवीनतम अवयव स्वीकार गर्नुपर्ने बाध्यता । भूगोलसँगको आत्मियताले देशभक्ती जगाउँछ नै, त्यो स्वभाविक पनि हो । मातृभूमिप्रतिको लगाव, देशभक्ती र पहिचानसँगको साइनो राष्ट्रवादलाई सन्तुलित गर्नु मोफसलमा बस्नेको लागि सहज भने छैन । मानवीय बुझाईमा भूमिप्रतिको त्यो कित्ताकाटले निर्धारित गरेको मोफसल र त्यहाँ सर्नेको लागि कालान्तरमा आइलाग्ने देशभक्ती र राष्ट्रवादको खडेरी चुनौतीपूर्ण छ । अझ त्यो भन्दा नि प्रधान चुनौती, मातृभूमि मै राष्ट्रवाद हराउनु हो ।
नयाँ परिवेशमा व्यक्ति नौलो हुँदै समयान्तरमा घुलन हुनु, व्यवहारिक वास्तविकता हुनसक्ला । परिवेशले छोड्ने छाप र बाध्यतालाई स्वीकार गरिँदा मौलिकता गुमेकोप्रति चिन्ता हुनु अर्को यथार्थ हुनसक्छ । तर बाध्यताको बावजुद मानवको जीवनमा राष्ट्रवाद र देशप्रेमले जरो गाडेकै हुन्छ । अन्ततः कुनै न कुनै रुपमा त्यो प्रस्फुटन भइरहन्छ । दैनिकी होस् या अभियान र आन्दोलन, चेतअचेत रुपमा आउनुलाई नकार्न सकिन्न । तर चेत अवस्था मै राष्ट्रवादलाई उपेक्षा गरिनु चाहिँ, महाभूल भन्नु पर्छ, घमण्ड र दमननीति पनि । कतिपय अवस्थामा शासक बर्गबाट यस्ता नीति अबलम्बन गरिएका उदाहरण हामीसामु नजीर छ । तत्कालीन पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय पश्चात सन् १७६९ सालमा लादेको शासन व्यवस्था होस् वा चन्द्र शम्सेर राणाको पालामा नेपालभाषा, लिपि, संवत् तथा समुदायप्रतिको कुदृष्टि यसका उदाहरण हुन् । त्यस्तालाई दमन भन्न सकियो भने अन्य अवस्थामा परिस्थिति दोषी हुनसक्छ । अन्जासबस गरिएको गल्ती क्षम्य हुनसक्छ, जानाजान गरिएको उपेक्षा भने अक्षम्य अपराध हो । बस् हामी मध्ये कतिले यी दुई मध्ये एकलाई ग्रहण गरेका छौं ।
भाषासँग संस्कार र संस्कृति पनि अन्तरसम्बन्धित हुने सन्दर्भ शताब्दी पुरुष सत्यमोहन जोशीले धेरै ठाउँमा औंल्याउनु भएको मैले सुनेको छु । जाती र समुदाय विशेषको पहिचानलाई पतन गराउनमा भाषाविहीनताले प्रमूख भूमिका निर्वाह गर्ने उहाँको तर्क हो । हुन पनि यसका ज्वलन्त उदाहरण हामीसामु छर्लङ्ग छ । संस्कृति र कलाकार राष्ट्रका गहना र तिनका आधाररुपी भाषालाई नियोजित दमन गरिँदा राष्ट्रवाद खल्बलिने स्वतः भयो । यसरी भनिरहँदा राष्ट्रवाद नै कहिँ कतै भाषा, लिपि, संस्कृति वा सभ्यताको पर्याय हो कि भन्ने लाग्नसक्छ । तर व्याख्या गर्नेहरुले आ–आफ्ना तर्क र तथ्यपरक प्रमाण पेश गरेका छन् । यसलाई फरक ढंगले बुझाएका छन्, नेपालको सवाल । तत्कालिन श्री ५ महेन्द्र शाहलाई पनि राष्ट्रवादी राजाको रुपमा स्वीकार गरिएको पाइयो । त्यस्तै, एक मात्र नेवाः प्रधानमन्त्री मरिचमान सिंह तथा पछिल्लो समयमा नेकपा एमालेया अध्यक्ष खड्ग प्रसाद शर्मा ओली पनि राष्ट्रवादी शासकका रुपमा प्रस्तुत भए । जब कि महेन्द्र शाहले देशमा “एक भाषा, एक नीति”लाई अबलम्बन गरेका थिए । खस नेपाली भाषालाई राष्ट्रियकरण गर्दै माध्यम भाषाको रुपमा चलाएर अन्य अस्तित्वमा रहेका भाषालाई दमन गरेका थिए । ती पनि राष्ट्रवादी कहलाइए । त्यस्तै छिमेकी देश भारतको हेपाहा प्रवृत्तिलाई चुनौती दिएर खड्ग प्रसाद शर्मा ओली तथा मरिचमान सिंहले राष्ट्रवादी प्रधानमन्त्रीको छाप छोडे । दुई ठूल्ठूला महाराष्ट्रहरु चीन र भारतसँगको सुमधुर र सन्तुलित सम्बन्ध बनाउनुपर्ने वास्तविकतालाई भुलेर चुनौती स्वीकार गर्नेहरु पनि राष्ट्रवादीको रुपमा चित्रित भए । यस अर्थमा नागरिकलाई आत्मनिर्भर चरित्रको आवश्यकता विषयमा सचेत त गराए तर अघोषित नाकाबन्दीको पिरलो सहन बाध्य पनि तुल्याए ।
लेखक प्रदीप गिरीका अनुसार देशभर बोलिने सम्पूर्ण भाषा तथा संस्कृति मान्ने जाती र समुदायलाई एकसुत्रिय मालामा उनेर अघि बढ्ने काम असली राष्ट्रवाद हो । कालखण्डमा शासकहरुले आ–आफ्नै व्याख्या प्रचार गरेपनि ती भन्दा पृथक सम्पूर्ण नागरिकले अपनत्व गर्नसक्ने र समान अधिकारसहितको अवसर नै राष्ट्रवाद हो भनेका छन् । केहि हद सम्म उहाँको तर्क स्वीकारयोग्य छ । खैर, राष्ट्रवाद र राष्ट्रवादीको व्याख्या फरक हुनसक्ला । नेपाल जस्तो बहुभाषी, बहुसांस्कृतिक मुलुकमा सम्पूर्ण जातजाती, भाषाभाषी अट्ने राष्ट्र नै असली राष्ट्रवाद भएकोमा धेरैको दाबी छ । निश्चित भाषा विशेषलाई प्राथमिकतामा राख्ने र अन्य समुदायका भाषालाई उपेक्षा गर्नुले द्वन्द्वलाई बढावा दिन्छ । द्वन्द्वले पक्कै पनि राष्ट्रवादलाई पुष्टि गर्ने सक्दैन ।
देशप्रेम तराजुमा तौलिन कथिन भएसरी राष्ट्रवादको मापण पनि गाह्रो छ । ईकाइ गतिविधि हुन सक्ला तर परिणाम अनुरुपको मापणलाई तौलिन गाह्रै भएपनि प्रयास भने निरन्तर छ । अमूर्त सम्पदामा देखिएको विचलन र भाषिक समस्यालाई उत्थान गर्नेमा संचार क्षेत्रले ठुलै योगदान दिन सक्छ । यस अघि भएका अध्ययनले पनि यहि पुष्ट्याउँछ । घरघरमा कार्टुनचित्र हेरेर बच्चाहरुले सिकेका हिन्दी भाषा किन नहोस् वा भारतीय सिरियलबाट गृहिणीले सिकेका भाषाका उदाहरण, संचार क्षेत्रको उपलब्धि हो । त्यसरी नै सामाजिक सञ्जाल, सर्चइन्जिन, यूट्यूब, रेडियो, टेलिभिजनमार्फत भाषा र अन्य राष्ट्रवादी भावना जगाउन सकिन्छ । संस्कृति प्रचार गर्ने देखि संस्कार र मूर्त सम्पदाको विषयमा विस्तृत बुझाउन सकिन्छ । संस्कृतिले गुटबन्दी हटाएर एउटै मालामा उनेसरी ती गतिविधि प्रचार गर्नेमा संचार क्षेत्रले भूमिका खेल्न सक्छ । जसले अपनत्वको महसूस गराउँदै राष्ट्रवाद जगाउँछ ।
आशा छ, मेरो संचार क्षेत्रको समर्पनबाट मैले पनि राष्ट्रवाद जगाउने अभियानमा इँटा थप्न सकुँ, राष्ट्रियता र राष्ट्रवादी भावना जगाउन सकुँ । मातृभाषाप्रतिको लगाब र आवद्धताले यसमा टेवा पुग्ने अपेक्षा छ । खस नेपाली भाषामा नसक्ने होइन, गरेको पनि छु । तर प्राथमिकता भने मातृभाषा नै परेको छ । सोही अनुरुपको पेशालाई मर्यादित बनाउँदै पूर्ण व्यावसायिकउन्मुख गर्ने मेरो इच्छा कछुवा गतिमा हिँडे पनि लक्ष्य भने अवश्य पहिल्याउने छ । संचार क्षेत्रमा खर्चेको मेरो लगानी पूर्ण व्यावसायिक पत्रकारिता मात्र होइन बरु नेपालभाषा प्रबद्र्धन देखि मातृभाषी पत्रकारितालाई स्थापित गराउनु हो । अझ संचार क्षेत्रमार्फत मेरो राष्ट्रवाद जगाउनु हो ।

मानन्धर समुदाय र पुर्ख्यौली पेशा

मानन्धर समुदाय र पुख्र्यौली पेशा

Picture snapped in Madhyapur Thimi/Siwa sayami khala


साय्‌मि वा मानन्धर समुदायको सन्दर्भ :

साय्मि समुदायलाई मानन्धर पनि भनिन्छ । अनुसन्धानकर्ता जीतबहादुर मानन्धरले नेपालभाषामा प्रकाशित गर्नुभएको “मानन्धर व साय्मि” शिर्षकको लेखमा मानन्धर समुदाय सम्बन्धिका तथ्य प्रष्ट रुपमा प्रस्तुत गर्नुभएको छ । ने. सं. ४९६ सालमा जगत मानन्धुरले “वंता क्षेत्रया चपाह्र दयेकूगु” अर्थात पश्चिम क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुभएको सन्दर्भ गोपालराज वंशावली छ । ने. सं. ४८५ सालमा जयार्जुनदेवको शासनकालमा आश्विन शुक्ल नवमीको दिन लेखिएको ताडपत्र र तत्कालिन बनेपाका अमरसिं मान्धुरको जमिन सम्बन्धिको लिखत मानन्धर समुदायको आज सम्म भेटिएका मध्ये सबभन्दा पुरानो अभिलेख भएको उहाँले दाबी गर्नुभएको छ । यस तथ्यमा इतिहासकार डा. महेशराज पन्तले पनि आफ्नो लेख÷रचनामार्फत प्रष्ट्याउन खोज्नुभएको छ ।
तत्कालिन अवस्थामा साय्मि समुदायलाई मान्धुर, मानधरी, मानधर मात्र नभएर सालमि र साःमि जस्ता अन्य फरक शब्दले पनि पुष्ट्याउन खोजेको देखिन्छ । ग्रीसमा मिलान्धर समुदाय बस्ने र नेपालका मानन्धरसँगको नश्ल उनीहरुसँग मेल खाने सन्दर्भ एक समय चर्चामा आएको थियो । केन्द्रीय मानन्धर संघ तथा अन्य संस्थाहरुको अगुवाइमा यसलाई पुष्ट्याउने पहल पनि भएको थियो सायद, तर मलाई यस विषयमा अधिक ज्ञान भएन । खैर यो अनुसन्धानको विषय हुनसक्छ ।
तत्कालिन श्री ३ महाराज जङ्गबहादुर राणाजीको इतिहासमा साय्मिलाई सालमिको संज्ञा दिइएको छ । पुरुषोत्तम शम्सेर राणाले प्रकाशित गर्नुभएको “श्री ३ हरुको इतिवृत्तान्त” किताबमा उन्नाइसौं शताब्दीको पूर्वाद्धमा धर्मनारां सालमि नाम गरेका कान्तिपुरका महाजनले जङ्गबहादुर कु“वरलाई ऋण दिएको उल्लेख छ । जङ्गबहादुर श्री ३ महाराज हुनु पूर्व धर्मनारां सालमिले दिएको ऋण चुक्ता गर्न नसक्दा उहाँ भूमिगत हुनु परेको सन्दर्भ इतिवृत्तान्तमा उल्लेख छ । जङ्गबहादुर श्री ३ महाराज भएपश्चात धर्मनारां सालमिले देशको अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका थिए । जङ्गबहादुर कहिले इष्ट इन्डिया कम्पनीका पदाधिकारी भेट्न हिन्दुस्तान त कहिले बेलायत गएका बखत धर्मनारां सालमिले नै सम्पूर्ण अर्थतन्त्र हेर्नुपरेको थियो । केहि पछि तत्कालिन चीन र नेपालबीच युद्ध घोषणा भएको अवस्थामा धर्मनारां सालमिले युद्धको लागि खर्च हुने जम्माजम्मी अर्थ व्ययभारको आधि रकम व्यहोर्न तयार भएको समेत इतिहास छ । यस आधारले पनि साय्मि समुदायको इतिहास सरकारीनिकायसँग निकट रहेको देखाउँछ ।
नेपालभाषा व्याकरण अनुसार “साः” क्रियामा “मि” प्रत्यय जोडेर बनेको संयुक्त शब्द साःमि हो । साःको अर्थ तोरीको तेल पेल्ने कोल र मिको अर्थ मालिक भन्ने हुन्छ । त्यसैले पनि तोरीको तेल बनाउने कोल, कारखानाको मालिक साःमि हुन्छ । साःमि अपभ्रंस हुँदै साय्मि शब्द निर्माण भएको बुझिन्छ । यस तर्कमा इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धरको पनि दाबी छ ।  यस्तै खालका तर्कलाई आधारित बनाउँदा भक्तपुर र काभ्रेबीचको सिमानामा अवस्थित ऐतिहासिक मानव बस्ती, सांगाको सन्दर्भ जोडिन्छ । दुई जिल्लाहरुको सीमावर्ती क्षेत्र सांगामा पछिल्लो समय सम्म पनि साय्मि समुदायको बसोबास छ । बनेपा अर्थात नेपालभाषाको शब्द अनुरुप भ्वँतका बासिन्दालाई भ्व“मि, टोखाकालाई टोखामि र सांगामा बस्नेलाई सांगामि भनिन्छ । यो अर्थमा साय्मि समुदायको बाक्लो बसोबास रहेको सांगामा बस्ने बासिन्दालाई सांगामि भनिएको छ । सांगामि शब्द पछिल्लो समय साय्मि बनेको हो ।
एक समय मल्लकालिन राजाले तेल पेल्ने सालमिहरुलाई दण्डित गरेको किंवदन्ती छ । भक्तपुरका उनी तत्कालिन पाटन दरबार अगाडिको शिलास्तम्भ भत्काउन षड्यन्त्र गरेको आरोपमा दण्डित भएको जनश्रुती हो । चौधौं शताब्दी यता स–साना राज्यमा विभक्त तत्कालिन देशहरुबीच वैरभाव र वैमनस्यताको कारणले ती राज्यमा सामरिक दृष्टिकोणले व्यवहार गर्थे । भौतिक संरचना भत्काउने देखि धावा बोल्ने सम्मका कुकर्म हुन्थे । सोही दाउपेचमा उनी आरोपित सालमि परेको थियो । व्यक्ति विशेषले गरेको दण्ड स्वरुप सम्पूर्ण पाटनमा बसोबास गर्ने सालमिहरुलाई देश निकाला गरेको किंवदन्ती छ । ती पाटन छेउछाउका गाउँ अर्थात चित्लाङ, दक्षिणकाली वरपर, फर्पिङ सम्म बसाइ सर्न गएका थिए । हुन त तर्कको आधारले यसलाई जनश्रुतीबाट पुष्टि भए पनि तथ्यपरक भने होइन । पाटन नगर भित्र सालमि अर्थात साय्मि समुदायको बसोबास न्यून रहेको परिपेक्ष्यमा भने यसलाई केहि हद सम्म तर्कपरक किंवदन्तीको रुपमा स्वीकार गर्न सकिन्छ । ती तर्क विशेषलाई अधिकांस बुद्धिजीवीहरुले ठाडै अस्वीकार गरेका छन् । त्यस मध्ये सालमि समुदायलाई दण्डित र विभेद गरेको विषयमा भक्तपुरका विष्णुबहादुर मानन्धरको सहमति छैन । उहाँको भनाई अनुरुप भक्तपुरसँग अन्य सम्पूर्ण नगरको सम्बन्ध सुमधुर थियो र छ । परापूर्व काल देखि नै भक्तपुर र अन्य ठाउँका साय्मि समुदायबीच पारिवारिक सम्बन्ध रहेको उनी दाबी गर्छन् । मान गोत्रको आधारले पारिवारिक सम्बन्ध बिस्तारको लागि मार्ग प्रशस्त भएकोले दण्डित गरेको देखि देश निकाला सम्मको किंवदन्तीलाई तथ्यपरक नभएकोले स्वीकार्न नसक्ने उहाँको भनाई हो ।

पुख्र्यौैैली पेशा :

विश्व सभ्यताको परिपक्ष्यमा नेपालको उदाहरण पृथक छ । विश्व सम्पदाको सूचिमा सूचिकृत नेपालका सम्पदा तथा विभिन्न जात्रा, पर्व र जन्म देखि मृत्यु सम्मको समृद्धशाली संस्कारले यसलाई पुष्टि गरेको छ । नेपालको संस्कृति र संस्कार उत्कृष्ट भएकोले पनि सम्पूर्ण नेपालीले आफु सबल र सभ्य मानवको छवि सकेका छन् । यस्ता संस्कारसँग पुख्र्यौली पेशाको सम्बन्ध प्रगाढ छ । तोरीको तेल बनाउने  र यसको प्रयोग प्रत्यक्ष रुपमा संस्कार र संस्कृतिसँग जोडिएकोले पनि यसलाई अझ अन्तरसम्बन्धित भन्न सकिन्छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, सांगा, खोकना, ठेचो, थिमि क्षेत्र मात्रमा सीमित नभएर उपत्यका बाहिरका मकवानपुर, वीरगञ्ज, विराटनगरमा तोरीको तेल बनाइन्छ । तिल, बदाम, भटमासको तेल भन्दा तोरीको तेल आदिकाल देखि पृथक विशेषतासँगै प्रयोग हुँदै आएको छ ।   स्वादिष्ट पकवान मध्ये नेवार खाना छ्वय्ला, कचिला, अचार तथा बारा बनाउन यो तेलको प्रयोग अधिक छ । बजारमा धेरै किसिमका तेल उपलब्ध भएता पनि यस्ता पकवानमा परम्परागत तरिकाले बनाएको तोरीको तेल नै प्रयोग हुन्छ । तोरीको तेललाई नेवार पकवान मात्रमा सीमित नगरी अन्य थुप्रै किसिमका खाना बनाउनेमा प्रयोग भएको उदाहरण छ । परम्परागत तेल मध्ये तिलबाट बनाइएको तेललाई जडिबुटी औषधिमा प्रयोग गरिन्छ । त्यस मध्ये एलोपेथिक उपचार प्रविधिमा भएको प्रयोग अधिक देखिन्छ । नेवार समुदायभित्र शिशु जन्मिँदा दैनिक रुपमा आमालाई जिउ मसाज गराउनेमा तोरीको तेल प्रयोग हुन्छ । आमासँगै शिशुलाई पनि घाममा राखेर जिउ मसाज गरिदिँदा शरिरभित्रको रक्त रञ्चार नियमित हुने बताइन्छ ।
 घर्षण न्यून बनाएर जिउ मसाज गर्नमा तोरीको तेल उचित हुने र तुलनात्मक फाइदाजनक हुने वैज्ञानिक आधारले दर्शाउँछ । शिशुको नाक, कान तथा नाभीमा अझ विशेष रुपमा तोरीको तेल लगाइदिएर घाम ताप्न लगाइन्छ । हानिकारक जिवाणु÷किराबाट बच्न पनि यसको प्रयोग उचित छ । यसलाई नयाँ प्रविधिले पनि सहर्ष स्वीकार गर्न बाध्य छ । उपत्यका छेउछाउका जनजाती मध्ये तामाङ समुदायका सुत्केरीले परम्परागत तोरीको तेल थोरथोर गरी पिउने उदाहरण मनग्य भेटिन्छ ।
कला, संस्कृति, रितिथिति र संस्कारले भरिएको नेपाली समाजको अर्को महत्वपूर्ण पक्ष जात्रापर्व हो । विक्रम संवत् अनुरुपको माघे सग्रान्तिमा नुहाइ धुवाइ सकेर तोरीको तेल लगाउने हाम्रो आफ्नै मौलिक परम्परा छ । यसले पनि पर्वसँगको सम्बन्ध तोरी तेलमा रहेको प्रत्यक्ष रुपमा देखाउँछ । नेपाल संवत् अनुरुपको गुंपुन्हि अर्थात जनैपुर्णिमामा क्वाती (नौ किसिमका गेडागुडी राखेर पकाइने पकवान) मा तोरीको तेललाई झानेर खाने चलन छ । परम्परागत तोरीको तेलमा मेथि झानेर पिउँदा जिउभित्र तापक्रम सन्तुलित गराएर रोग निरोधक शक्तिलाई बढावा दिने तर्क गर्न सकिन्छ । तोरीको तेलको प्रयोग त्यति मात्रमा सीमित छैन बरु मानव जीवनको आस्थाको केन्द्र, मन्दिर, स्तूपा, चैत्य आदिमा दीप प्रज्वलन गर्न समेत प्रयोग हुन्छ । जात्रापर्वको बखत बालिने चिलाख (मुस्यां) को लागि पनि तोरीको तेल अधिक प्रयोग हुन्छ । इन्द्रजात्राको बखत काठमाडौंबासीले बौमत परिक्रमा गराउँदा देखि भक्तपुर र थिमिमा आकास बत्ती बाल्नेमा तोरीको तेल नै प्रयोग हुन्छ ।

साय्मि समुदायको पुख्र्यौैली पेशा र ऐतिहासिकताबीचको सम्बन्ध :

उपत्यकामा बसोबास गर्ने साय्मि समुदायले पुख्र्यौली पेशाको रुपमा तोरीको तेल बनाउँदै आएका छन् । यसलाई फरक कालखण्डमा नेपाल यात्रा गरेका चिनियाँ यात्रीहरुले पुष्टि गरेकोबाट प्रमाणित हुन्छ । इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धरले दिनुभएको जानकारी अनुरुप चिनियाँ यात्री वाङ ह्वाङसेले तत्कालिन नेपालमा तोरीको तेल उत्पादन भएको सम्बन्धमा वर्णन गरेका छन् । भक्तपुर र काभ्रे जिल्लाको सीमावर्ती क्षेत्र सांगामा अवस्थित ऐतिहासिक मानव बस्तीमा अभिलेख रहेको उहाँको दाबी छ । त्यसमा तत्कालिन नेपालको सौन्दर्य र आदिकाल देखि बसोबास गर्ने आदिवासीहरुको समेत वर्णन पाइन्छ । चिनियाँ यात्री ह्वासेले पुख्र्यौली पेशाको रुपमा तोरीको तेल उत्पादन भएको उल्लेख गरेका छन् । यो अर्थमा पछिल्लो समय सम्म पनि साय्मि अर्थात मानन्धर समुदायले तोरीको तेल बनाउने पेशालाई पुख्र्यौली पेशाको रुपमा अंगालेका छन् ।
     आदिकालदेखि नेपालमा बसोबास गर्ने आदिवासी साय्मि समुदायले कोल (तेल पेल्ने कारखाना)मा तोरीको तेल बनाएर पुख्यौली पेशाको रुपमा ग्रहण गरेको आधारलाई राजा जयस्थिति मल्लको वर्ण व्यवस्थाले पनि पुष्टि गरेको छ । साझा प्रकाशनले पहिलो पटक २०३९ सालमा प्रकाशित गरेको डा. चन्द्रविक्रम बुढाथोकीको साभार लेख अनुसार चौधौं शताब्दीमा तत्कालिन नेपालमा शासन गरेका जयस्थिति मल्लले ४ जातको वर्ण व्यवस्था गरे । ब्राम्हण, क्षत्रीय, वैस्य र सुद्र मध्ये तेस्रो वर्णमा परेका सालमि अर्थात साय्मिले तेल पेल्नु र बाबीयाले खट बाँध्नु भनी उल्लेख गरेका छन् । सोही लेखमा गुभाजु (बज्राचार्य)लाई बौद्धमार्गी धर्म अनुरुपको पूजाविधि गर्नु, छिपा (रंजितकार) लाई कपडा रंगाउनु, पुं (चित्रकार) लाई चित्र बनाउनु, कौ (नकर्मी) लाई फलामको औजार बनाउनु, नौ (नापित) लाई नङ र केश कटाउनु भनी उल्लेख गरेको छ ।
काठमाडौंको सवालमा नौ वटा टोलमा आदिकाल देखि साय्मि समुदायको बाहुल्यता देखिन्छ । ती प्रत्येक टोलमा न्यूनतम एउटा तेल पेल्ने कारखाना भेटिन्छ । त्यस मध्ये चार वटा टोलको नामांकरण समेत (साः) तेल पेल्ने कारखानाको आधारमा राखिएको छ । लाय्कू सा, दै साः, न्हू साः र फल्चा साः यसका उदाहरण हुन् । ती सम्पूर्ण टोल काठमाडौंको बसन्तपुर दरबारदेखि दक्षिणी दिशामा अवस्थित छ ।
साय्मि समुदाय मात्रले पुख्र्यौैली पेशाको रुपमा तोरीको तेल बनाउँछन् भन्ने आधारलाई खोकना र ठेचोमा ज्यापु समुदायले उत्पादन गर्ने तोरीको तेलले प्रतिवाद गरेको देखिन्छ । हुन पनि पछिल्लो समय “खोकना तेल”को रुपमा प्रसिद्धि कमाएको छ । जब कि साय्मि समुदायले पुख्र्यौली पेशाको रुपमा तेल पेल्ने आधारलाई यसले चुनौती दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भने जरुरी देखिन्छ ।

तेल बनाउन प्रयोग हुने कच्चा पदार्थ :

उपत्यकामा धेरै थरिका तेल उत्पादन हुने सवालमा तोरीको तेल तुलनात्मक बढी परिमाणमा देखिन्छ । व्यापारीहरुले तत्कालिन समयमा राजधानी छेउछाउ, नेपालको तराई तथा चुरे भावर क्षेत्र वरपर उब्जनी हुने तोरीलाई अधिक प्रयोग गर्थे । त्यस मध्ये मकवानपुर र चितवनमा उब्जनी हुने तोरीलाई भिमफेडीको बाटो हुँदै चापागाउँ र बज्रबाराहीबाट ल्याइन्थ्यो । तेल बनाउन अधिक परिमाणमा कच्चा पदार्थ आवश्यक हुने कारणले पनि तराईको जिल्लाबाट तोरीलाई काठमाडौं भित्र्याइन्थ्यो । करिव १० प्रतिशत तोरी भने उपत्यका वरपरको काठ क्षेत्रमा उब्जनी हुन्थ्यो जुन आयातीत भन्दा गुणस्तरिय भएको दाबी छ । पछिल्लो केहि दशक यता भने मित्रराष्ट्र भारत र तेस्रो मुलुक मध्ये क्यानडा, अस्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, यूक्रेनबाट समेत तोरीलाई आयात गरिँदै आएको छ । भारत बाहेक अन्य मित्र राष्ट्रबाट आयातित तेलको कच्चा पदार्थ अर्थात तोरीबाट उत्पादित तेलको परिमाण र गुणस्तर समेत कम हुने स्थानिय व्यापारी बताउँछन् । कच्चा पदार्थ आयात गर्नेमा नेपाली मूलका नागरिक कमै हुने गरेको तीतो सत्य समेत क्षेत्रपाटीमा तेल पसल व्यवसाय गर्ने व्यापारीले सुनाए ।

बनाउने तरिका :

साय्मि समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको तोरीको तेल बनाउने ठाउँलाई स्थानिय भाषामा साः भन्ने सन्दर्भ यस अघि नै प्रष्ट भइसकेको छ । साः अर्थात तेल पेल्ने कारखानामा तोरीलाई पानीमा भिजाइन्छ । त्यस लगत्तै सुकाउनु पर्छ । निफनेर सफा गरेको तोरीलाई धुलो बनाए पश्चात ठूलो टावामा भुट्नु पर्छ । मज्जाले भुटेको तोरीको धुलोलाई निचोरेर तेल निकालिन्छ । यस विधिको लागि विभिन्न औजारहरु परम्परा देखि नै प्रयोग भएको देखिन्छ । त्यस मध्ये पू (तोरीको धुलो राख्ने भाँडो, पहिले राँगाको छालाबाट निर्मित अहिले प्लाष्टिकबाट बनेको), हासा (नाङलो, तोरी निफन्नको लागि), सलिंचा (तोरी शुद्धिकरण गर्नको लागि), ख“लय् बोरा (भिजाएको तोरीलाई सुकाउन प्रयोग हुने ठूलो आकारको बोरा), दाला (तोरी व धुलो राख्ने भाँडो), भाजं (फलामबाट निर्मित ठूलो आकारको टावा), च्वाफि (कुचो, धुलो सफा गर्ने), मुगःचा (तेल पेलिसकेर बनेको कडा बस्तु फुटाउन प्रयोग हुने काठबाट निर्मित औजार), ग“, (भुटेको तोरीको धुलो च्याप्ने ठाउँ), खुईं (तोरीको गेडा फन्छाउन प्रयोग हुने औजार) प्रयोग हुँदै  आएको छ ।

धार्मिक मान्यता :

पुख्र्यौली पेशाको रुपमा तोरीको तेल पेल्ने कारखानामा भैरवनाथ र हनुमानको प्रतीक बनाएर देउता प्रतिस्थापन गरेको देखिन्छ । भक्तपुर र मध्यपुर थिमिको सवालमा कारखानाभित्र भैरवनाथ र काठमाडौंमा हनुमान देउतालाई पुज्ने गरिन्छ । ढुङ्गेधाराको लामो आकृतिको शिलालाई जमिनमा आधा भाग गाडेर भैरवनाथको रुपमा पूजा गर्ने परम्परा भक्तपुरमा पुरानै हो । उपत्यकामा मनाइने येँयाः अर्थात इन्द्रजात्राको बखत कारखानाभित्र प्रतिस्थापित भैरवनाथको सोही शिलामा पूजा गरी भोज विधि चलाउनु पर्ने परम्परा छ । थिमिमा भने जिब्रो छेडाउने परम्परासँगै सोही क्षेत्रबाट यांमता (आकास बत्ती) निकाल्ने गरिन्छ । काठमाडौंका तोरी पेल्ने कारखानामा प्रतिस्थापित हनुमान देउतालाई फागुको चतुदर्शीको दिन पूजा गरिन्छ । त्यस मध्ये कतिपय ठाउँमा वडा दशैंको अष्टमिको दिन पूजा हुन्छ ।

विशेषता र महत्व :

काठमाडौं मात्रमा पचास भन्दा बढी र मध्यपुर थिमिमा पनि बीसको हाराहारीमा तेल पेल्ने कारखाना थियो । तर पछिल्लो समय ती अधिकांस बन्द भएका छन् । कारखाना बन्द भएसँगै पुख्र्यौली पेशा संकटमा परेको छ । करिव पचास वर्ष यतादेखि तोरीको तेल उत्पादन गर्दै आएका थिमिका शहदेव मानन्धरले पुख्र्यौली पेशा संकटमा परेकोप्रति चिन्ता व्यक्त गरे । नयाँ प्रविधिबाट बनेको र ठूलो परिमाणमा बनेका तोरीको तेलले पुख्र्यौली व्यवसायलाई धरासायी बनाएकोमा उनी चिन्तित देखिन्छन् । विभिन्न संस्कार र औषधिजन्य जडिबुटि बनाउने समेत प्रयोग हुने तेल बनाउने पेशा धरासायी हुँदै गएकोमा सम्बन्धित व्यवसायीको गहिरो चिन्ता छ । समग्र नेपालीहरुको पहिचानलाई कला, संस्कृति, रितिरिवाजले धानेकोमा दुईमत नहोला । ती संस्कार र संस्कृतिमा नभइ नहुने यस्ता पुख्र्यौली पेशाबाट उत्पादित तोरीको तेलको महत्व र विशेषता मननयोग्य छ ।

Friday, July 13, 2018

Memory of STV


I used to be in Sagarmatha Television, First News Channel of Nepal for 2063-2069 BS. Engaged in that popular National Mainstream TV Station as News Presenter for Nepalbhasa, Regional language of Nepal.

Wednesday, July 11, 2018

NFNJ elects new executive committee

IN BRIEF

Himalayan News Service
KATHMANDU: The second national conference of National Forum of Newa Journalists (NFNJ) elected its new central executive committee in Kirtipur last night.
The new committee members elected include president Shree Krishna Maharjan; vice-presidents Tika R Pradhan, Uden NhuSayami, Suraj Bir Bajracharya, Nripendra Lal Shrestha and Mira Rajbhandari; general secretary Sunil Maharjan, secretary KK Manandhar and treasurer Surendra Bhakta Shrestha.
Elected central members are Jamuna Shrestha (Koshi), Bigen Tuladhar (Kathmandu Valley), Jivan Shrestha (Bagmati), Yubaraj Shrestha (Gandaki), Sandip Shrestha (Narayani), Sharmila Shrestha (Mahakali), Rachana Shrestha, Hasana Lawaju, Prerana Laxmi Shakya, Jitendra Shrestha, Bhaikaji Maharjan, Najarman Maharjan, Prajwol Shrestha and Nabin Joshi.
The election was conducted by a three-member election committee that included Pushkar Bhakta Mathema, Ujjwal Sukla and Suresh Kiran Manandhar.

A version of this article appears in print on April 25, 2016 of The Himalayan Times.


EMCEE Photographs from public honoring ceremony to Culture promoter Shree Gopal Prajapati at Madhyapur Thimi, Bhaktapur by 2017.

https://commons.wikimedia.org/wiki/File:KK_Manandhar.jpg

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...